उपत्यकाका शक्तिपीठ : केही तथ्य, केही मिथ

उपत्यकाका शक्तिपीठ : केही तथ्य, केही मिथ

लोकप्रिय धार्मिक कथा श्री स्वस्थानी व्रतकथामा पीठहरुको उत्पत्तिको कथा हामी सबैले सुनेका छौँ। दक्षप्रजापतिले आयोजना गरेको विराट सभामा सतीदेवी र उनका पति देवादिदेव महादेवलाई नबोलाई सभा आरम्भ गरेको खबर नारदमुनिले पासा खेल्दै रम्दै गरेका महादेव दम्पतीलाई सुनाउँछन्।

 

त्यसपछि, महादेवले सम्झाइबुझाइ गर्न खोज्दा पनि सतीदेवी त्यो विराट यज्ञमा एकपटक पुग्ने इच्छामा अडिग हुन्छिन्।

विराट सभामा सतीले आफूहरुलाई नबोलाएकोमा पिता दक्षसँग गुनासो गर्छिन्। उक्त गुनासो सुनेपछि दक्षप्रजापतिले गरेको महादेवको अपमान सहन नसकी महादेवकी प्राण प्यारी सतीले विराट यज्ञको अग्निकुण्डमा आफैलाई दहन गछिन्।

सतीदेवी अग्निकुण्डमा हाम फाली प्राण त्यागेको पिरले हिमालय पर्वत छाडी बहुलाहाझैँ भई प्राणविहीन सतीलाई आफ्नो काँधमा बोकी महादेव भौँतारिन थाल्छन्।

यस प्रकारले लामो समयसम्म महादेव सतीलाई काँधमा बोकी भौतारिरहेपछि भगवान् विष्णुले सतीको मृतकायलाई सडाउन भिंँगाको प्रयोग गरे र अंग पतन हुन थाल्यो।

जताजता सतीदेवीको अंग पतन भयो त्यतैत्यतै पीठहरुको उत्पत्ति हुँदै गयो। यसरी सतीदेवीको अंग पतन भएर उत्पन्न भएका पीठहरुलाई शत्तिपीठ भन्न थालियो।

शक्तिपीठका बारेमा विद्वानपिच्छे फरक-फरक मत पाइने गरेको छ। कतिपय धर्मज्ञाताहरु शक्तिपीठ भगवानको स्त्री स्वरूपको शक्ति भएको तर्क राख्ने गर्दन्।

धर्मको पुर्नव्याख्याले आस्थालाई पनि प्रभाव पार्ने गर्छ। शक्तिपीठहरु रूखको ओत भएको ठाउँ, मसानघाट नजिकै, अष्टमातृकाको वरिपरि हुनुपर्ने मान्यता पनि रहेको छ। तर, शक्तिपीठ तथा पीठहरुको उत्पत्तिको कथामा भने सबै ग्रन्थमा एकै कथा वर्णन भएको पाइँदैन।

तापनि सबै ग्रन्थमा शक्तिपीठसम्बन्धी एक मत भने समान पाइन्छ। त्यो मत केहो भने ५२ वटा शक्तिपीठ भारतवर्षका क्षेत्रहरु नेपाल, भारत, बंगलादेश, पाकिस्तान, तिब्बत तथा श्रीलंकाभित्र रहेको मानिन्छ।

त्यसबाहेक पनि अनेकौं नामले पुकारिने देवी महाकाली, महालक्ष्मी, महासरस्वती लगायतका विविध रूप र अवतारका अन्य धेरै देवीको अलौकिक विशेषतासहितका मन्दिरहरु रहेका छन्। र ती अधिकांश पीठका देवीहरु स्वयं प्रकट भएको विश्वास गरिन्छ।

मन्दिर नै मन्दिरको सहर भनिने काठमाडौं उपत्यकामा पनि त्यस्ता धेरै देवीका पीठ र शक्तिपीठहरु रहेका छन्।

उपत्यकामा रहेका पीठ तथा शक्तिपीठहरु :

गुह्येश्वरी

बागमती नदीको दक्षिणी किनारामा अवस्थित गुह्येश्वरीमा सतीदेवीको गुह्य पतन भएको विश्वास रहेको छ।

घटस्थापनादेखि नै गुह्येश्वरीमा विशेष पूजा आराधना हुन्छ। तर यहाँ देवीहरूको कुनै मूर्ति भने छैन। सतीदेवीको गुह्य पतन भएको स्थानमा मन्दिरको गर्भगृह छ।

गर्भगृह भित्र एउटा सानो प्वाल छ। जहा चाँदीको कलशले ढाकिएको मन्दिरभित्रको जलपूर्ण कुण्डलाई श्रद्धालुहरूले देवीको रूपमा पूजा गर्ने गर्छन्। गुह्येश्वरीको महिमा नेपालमाहात्म्य, हिमवत्खण्ड, श्री स्वस्थानी व्रतकथा आदिमा बताइएको छ।

यो शक्तिपीठ पुराणमा वर्णित ५१ शक्तिपीठहरुमध्ये सतीदेवीको दुई घुँडा पतन भएर उत्पत्ति भएको शक्तिपीठको रुपमा चित्रित छ तर लोक विश्वासअनुसार यस स्थानमा सतीदेवीको योनि पतन भएर पीठ उत्पन्न भएको किंवदन्ती रहेको पाइन्छ।

पाशुपत क्षेत्रमा अवस्थित यस पीठलाई ‘उत्तराम्नाय’ की नायिका मानिन्छ। अथर्ववेदका छ शाखाहरू यथाः तारतन्तवी, मौज्जायनी, तार्णवैन्दवी शौनकी, पैपालादिका, सौमन्तकको उल्लेख गुह्योपनिषद्ले गर्दै गृह्येश्वरीको बासस्थललाई ‘शाक्ततीर्थ’ मानेको तथ्य पाइन्छ।

त्यस्तै, स्वयम्भू पुराणले पुरानो गुह्येश्वरी (हाल बालाजु, फूलबारीमा अवस्थित) लाई प्राचीनतम् मानेर स्वयम्भू उत्पत्तिको पुष्पकमलको नाल नै यिनै कुण्डबाट प्रादुर्भाव भएको ठान्दछ। यस स्थलमा पित्तलको अष्टकमलदलको पुष्पकेशरमाथि कलश आकार स्वरूपले छोपिएको कुण्डलाई नै गुह्येश्वरीका प्रतीक मानेर पुज्ने परम्परा छ।

गुह्येश्वरीलाई दिव्येश्वरीका रूपमा भक्तपुर लोकन्थली, काठमाडौं विशालबजारको (महालक्ष्मी मन्दिर परिसरको उत्तर पश्चिम कुनामा) न्युरोडमा समेत स्थापना गरिएको छ।

गुह्येश्वरी स्कन्दपुराणको केदारखण्डमा वर्णन गरिएझैं सतीदेवीको गुह्यस्थलको पतनबाट सिद्ध भएको पीठ मान्ने प्रथा रहे पनि तन्त्र परम्परामा आदिम ‘गुह्यक’ नामक जातिले पूजा गर्ने देवी हुनाले यिनीलाई ‘गुह्येश्वरी’ भन्ने गरेको अर्को मत पनि छ।

तलेजु भवानी

नेपालमा राज्य गर्ने राजाहरूले इष्टदेवी मान्ने गरेको तुलजा उर्फ तलेजु भवानीलाई पुज्ने परम्परा काठमाडौं उपत्यकामा मात्र सीमित छैन।

चौधौँ शताब्दीमा सिम्रौनगढका राजा हरिहर सिंह देवले मुसलमानको पञ्जाबाट जोगाई भक्तपुरमा यी देवीको स्थापना गरेको इतिहास पाइन्छ।

भक्तपुरपछि क्रमशः कान्तिपुर र ललितपुरमा समेत तलेजु भवानीको स्थापना गरिएको थियो।

दक्षिणकाली भगवती

राजा प्रताप मल्लद्वारा निर्माण गरिएको कालीदेवीको मन्दिर नै दक्षिणकाली मन्दिर हो। यो मन्दिर दुई नदीको दोभानमा छ। यो मन्दिरमा कालीको मूर्तिबाहेक अन्य देवी देवताका मूर्ति पनि रहेका छन्।

मूलतः दसैंको बेला यहाँ विशेष मेला लाग्छ। दसैंको नवरात्रीमा यहाँ कैयौं भक्तजनहरू हाँस, कुखुरा, राँगो, बोकाको बलि दिन्छन्। यो मन्दिर धार्मिक र सांस्कृतिक दृष्टिकोणले धनी छ।

त्यति मात्र होइन राजाहरूको देवालीे मनाउन ठाउँको रुपमा पनि कुनै बेला यो क्षेत्र प्रख्यात थियो। दक्षिणकाली मन्दिरको पनि विभिन्न किंवदन्ती पाइन्छ।

तान्त्रिकहरूले आफ्नो तन्त्र मन्त्रद्वारा भारतबाट देवीलाई नेपाल ल्याई मूर्तिका रूपमा दक्षिणकाली मन्दिरको स्थापना गरेको किंवदन्ती लोक विश्वासमा चर्चित रहेको छ।

त्यस्तै यो मन्दिरसँग एउटा रोचक पक्ष पनि जोडिएको छ। त्यो के भने पहिलेपहिले यो मन्दिरमा भक्तजनहरुले देवीकै मुखमा नरिवल फुटाउने गर्दथे। त्यसकारण देवीको मुखाकृति बिग्रिएको छ।

बज्रयोगिनी

काठमाडौंको उत्तरी भेगको मणिचुड पर्वतको दुई पहराको बीचमा स्थापना गरिएकी देवी हुन् बज्रयोगिनी।

यस मन्दिरको चर्चित लोक श्रुतिलाई मान्ने हो भने भगवान् बुद्धको तपस्याबाट प्रसन्न भई प्रकट भएकी पार्वती नै बज्रयोगिनी हुन्।

यस मन्दिरमा बौद्ध र हिन्दु परम्परा अनुसार देवीको पूजा गरिन्छ। साथै तान्त्रिक देवीको रूपमा बज्रयोगिनीको आराधना गर्ने गरिएको पाइन्छ। यस मन्दिरमा बज्रयोगिनी, उग्रतारा, सिंहबाहिनी लगायतका मूर्तिहरू रहेका छन्।

बगलामुखी

पाटन दरबार क्षेत्र नजिक रहेको कुम्भेश्वर मन्दिर परिसरमा बगलामुखी मन्दिर अवस्थित रहेको छ। तन्त्रशास्त्रका दस महाविद्यामध्ये बगलामुखीलाई पनि एक मानिने गरेको छ।

यस मन्दिरमा बिहीबार विशेष भीड हुने गरेको छ। बगलामुखीको दर्शनबाट मनोकाङ्क्षा सिद्ध हुने जनविश्वास छ।

शोभा भगवती

तान्त्रिक वास्तुशास्त्रका आधारमा बनाइएको शोभा भगवती मन्दिरमा साढे दुई फिट उचाइको मूर्ति रहेको छ। तन्त्रशास्त्रमा यो मन्दिरलाई ‘वगला’ भन्ने गरेको पाइन्छ।

शोभाभगवती नामले समेत चिनिने शोभा भगवतीको स्थापना यकिन मिति तोकेर भन्न भने सकिँदैन।

तर मूर्तिकारको कुशल कलाकारिताले भगवतीको मूर्तिमा देख्न भने पाइन्छ। उसो त पलाञ्चोक भगवती, नक्साल भगवती र शोभा भगवतीको प्रतिमा एकै शिल्पकार ले बनाएको भन्ने किंवदन्ती रहेको छ्र।

नेपालमा प्राचीनकालदेखि नै गुह्यकाली, दक्षिणकाली, बज्रयोगिनी र शोभा भगवतीमा विशेष पूजाआजा हुँदै आएको पाइन्छ।

दुःख, दरिद्र, युद्धमा विजय, शत्रुको संहार, कामकाजमा सफलता, पदोन्नति तथा साहसिक कार्यका लागि शोभा भगवतीको आराधना गर्नुपर्ने जनविश्वास पाइन्छ।

यस्ता धेरै विशेषता भएकी शोभा भगवतीको एउटा अर्को पनि विशेषता रहेको छ। त्यो के भने भगवतीको मूर्तिका पछाडि एउटा बौद्ध चैत्य छ।

कुनै समयमा गर्जु बज्रवाद आफ्ना शिष्यहरूले हैरान गरिरहँदा दिक्क भएर भचाखुसी (निर्मल तीर्थ) नजिकैको कर्णदीपमा ध्यान बस्दाबस्दै त्यहाँ बालुवाको विशाल चैत्य निर्माण गरियो तर त्यस चैत्यलाई कोही विध्वंशकारीहरूले भत्काइदिँदा सोही चैत्यबाट शोभा भगवती प्रकट भई यस्तो चैत्य भत्काइनुहुन्न भन्ने आज्ञा दिइयो।

सो चैत्य यथास्थितिमा राखियो। आजसम्म पनि सो चैत्य शोभा भगवती मन्दिरसँगै जोडिएर रहेको देख्न सकिन्छ। त्यो बौद्ध चैत्य त्यहाँ रहनुमा यो किंवदन्ती प्रख्यात रहेको छ।

शोभा भगवतीको नित्य पूजा मखनबहालका एक बज्राचार्य परिवारले गर्दै आएका छन्। उसो त ती पुजारी बौद्धधर्मी हुन्।

बर्सेनि विजयादशमी, नवरात्रिको अवसरमा द्वितीयापूर्वका दिन निर्मल तीर्थ भचाखुसीमा नवरात्रि मेला लाग्दछ। दसैँको अवसरमा सबै दिन भक्तजनहरू पूजापाठका लागि शोभा भगवती दर्शन गर्न आउँछन्।

बर्सेनि मंसिर कृष्णपक्षको चतुर्दशी ‘बालाचतुर्दशी’को दिन छवटा देवदेवीका जात्रामा शोभा भगवतीको मूर्ति पनि रथमा राखी विधिपूर्वक जागा गरी नगर परिक्रमा गराइन्छ।

निकै प्रसिद्धि यस शोभा भगवती मन्दिरमा मनोकामना पूरा गर्न विभिन्न पूजा र बलि चढाउन आउनेहरूको घुइँचो हुने गर्छ।

इन्द्रायणी

कलिगत संवत् ३८२५ मा काठमाडौं नगर निर्माण गर्दा राजा गुणकामदेवले देशरक्षार्थ नगरको चारैतिर लुमडी अजिमा (भद्रकाली), कङ्ग अजिमा (कंकेश्वरी), म्हेपी अजिमा (ज्ञानेश्वरी), मैती अजिमा (मैतीदेवी), तकती अजिमा (नीलबाराही), ङेतमरु अजिमा (नरदेवी), बछला अजिमा, लुती अजिमा (इन्द्रायणी) स्थापना गरी खटजात्रा चलाएका हुन् भन्ने मान्यता रहेको छ।

विष्णुमती नदीको पूर्वी किनारमा रहेको यस शक्तिपीठलाई स्थानीय भाषामा लुती अजिमा नामले पुकार्ने चलन पनि रहेको छ।

नरदेवी

शक्तिस्वरुपिणी कालीहरुमध्ये सबैभन्दा शान्त स्वभावकी स्वेतकाली भगवतीलाई नरदेवी भनिन्छ। स्वेतकालीको आराधना गर्नाले सुख, समृद्धि र मनोकामना पूरा हुन्छ भन्ने विश्वास रहेको छ।

चैत्र कृष्णपक्ष औंशीका दिन स्वेतकालीको तान्त्रिक नृत्य प्रस्तुत गर्ने प्रचलन रहेको छ। त्यस्तै, प्रत्येक १२ वर्षमा स्वेतकालीका देवीगणलाई तान्त्रिक नृत्य प्रस्तुत हुनु भन्दा पाँच दिन अगाडि रातभर नगर परिक्रमा गराइने चलन रहेको छ।

पञ्चबलिसमेत दिइने स्वेतकालीको तान्त्रिक नृत्यमा अष्टमातृका गण लगायत १२ देवीको सहभागिता रहने गर्दछ।

नक्साल भगवती


सोह्र भूजायुक्त देवीको मूर्ति रहेको नक्साल भगवती उपत्यकाको शक्तिपीठमध्ये प्रसिद्ध शक्तिपीठ हो। भगवती दुर्गाका रूपमा पुजिने नक्साल भगवतीप्रति काठमाडौंवासीको ठूलो आस्था रहेको पाइन्छ।

भद्रकाली

तान्त्रिक पद्धतिअनुसार नवरात्रमा विशेष पूजा गरिने भद्रकालीको मन्दिर सामान्य स्वरूपको छ। चामुण्डा देवीको रूपमा पुजिने भद्रकाली देवीको मूर्ति सामान्य शिलायुक्त रहेको छ।

दुर्गाकवचमा उल्लेख भएअनुसार भगवतीका अनेक रूपमध्ये भद्रकाली पनि एक हुन्। यसलाई कतै कतै लुमडी थान पनि भन्ने गरेको पाइन्छ।

देवीमाहात्म्य र चण्डी दुर्गासप्तशतीमा दुर्गालाई ११ नामले बन्दना गर्ने गरिएको छ। साथै, आफ्नो भक्तको भक्तिमा सधैँ प्रसन्न रहने देवीका रुपमा ‘भद्रकाली’लाई पुज्ने गरिन्छ ।

बज्रबाराही

तान्त्रिक विधिबाट नित्य पूजा गरिने यस मन्दिरमा अष्टमातृकासहित बज्रबाराहीको शिलाको मूर्ति रहेको छ।

दुर्गाकवचमा समेत बाराही देवीको चर्चा रहेको छ। यो मन्दिर ललितपुर जिल्लामा रहेको छ।

भैरवी

काठमाडौंको गोकर्णमा रहेको भैरवीदेवीको मन्दिरमा सतीदेवीको देब्रे कान पतन भएको जनविश्वास रहेको छ। बडादसैंको अवसर पारेर यो मन्दिरमा घटस्थापनाका दिनदेखि नै विशेष पूजाआजा हुन्छ।

माथि उल्लेखित शक्तिपीठका साथै उपत्यकामा रक्तकाली, मनमानेश्वरी, धुम्रबाराही, कंकेश्वरी, मैतीदेवी, कालिकास्थान, सङ्कटा लगायतका थुप्रै पीठहरु रहेका छन्। र अधिकांश पीठ तथा शत्तिपीठहरुमा बडादसैंको घटस्थापनादेखि नवरात्रिभर विशेष पूजाआजा हुने गरेको छ।

(स्रोत : नेपालका देवी देवता र पीठहरु लगायत पुस्तकहरु, विभिन्न लेख तथा रचनाका आधारमा तयार परिएको)

 

कात्तिक ३, २०७७ सोमबार १०:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।