राजदेवीमा भव्य सजावट

राजदेवीमा भव्य सजावट

जनकपुरधाम : मिथिलाञ्चलको प्रमुख शक्तिपीठ जनकपुरधामको राजदेवीमा विशेष पूजा सुरू भएको छ।

दसैं सुरु भएसँगै राजदेवीमा बिहानैदेखि अबेर रातिसम्म दर्शनार्थीहरूको भीड लाग्ने गरेको छ। राजदेवी जानकी र राम मन्दिरपछिको प्रमुख शक्तिपीठ मानिन्छ। 

कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण सर्तकता अपनाइए पनि मन्दिरको प्रागंणमा ठूलो संख्यामा श्रद्धालु आउने गरेका छन्। 

अहिले मन्दिरमा भव्य सजावट गरिएको छ। मुख्य द्वारलाई आकर्षक पण्डालले सजाइएको छ। पूजा गरिने ठाउँमा आकर्षक पण्डाल, रंगीचंगी बल्ब जडान गरिएको छ।

दसैंभरि गरिने राजदेवी पूजामा जनकपुरधामको महावीर युवा कमिटीका सयभन्दा बढी युवा स्वयंसेवकहरू खटाइएको छ। महाअष्टमीको राति करिब हजार स्वंयसेवक परिचालन गरिने तयारी गरिएको महावीर युवा कमिटीका अध्यक्ष सन्तोष साहले जानकारी दिए।

राजदेवी पूजाका लागि कमिटीले १० लाख रूपैयाँभन्दा बढी रकम खर्च गर्छ। 


दशैंको बेला भगवती राजदेवीको निष्ठापूर्वक पूजा गर्दा मनोवाञ्छित फल प्राप्त हुने जनविश्वास छ। यस मन्दिरमा नेपाल र भारतका विभिन्न स्थानबाट पूजा गर्न श्रद्धालु भक्तजन आउने गरेको मन्दिरका महन्थ राम गिरीले बताए। अरू बेलाभन्दा दशैको बेलामा राजदेवी दर्शन गर्न प्रायः सबै आउने उनको कथन छ। सीमामा कडाईका कारण भारतबाट आउने दर्शनार्थी घटेपनि सीमा नजिकका गाउँका व्यक्तिहरु आइनै रहेको देखिएको छ।


राजदेवीलाई केही व्यक्तिले मिथिला नरेश जनकको कुलदेवीको रूपमा यहाँ पूजा गर्ने गर्दछन्। मन्दिरको मूलद्वारमै जनकको कुलदेवी लेखिएको छ। तर, कतिपयले नगरकी देवी रहेको बताउँदै आएका छन्। रामायणमा जनकका कुलदेवता महादेव र कुलदेवी गौरी रहेको उल्लेख छ।

कात्तिक २, २०७७ आइतबार १९:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।