‘कोरोना महामारीले उपत्यकामा चौपाया खपत घट्ने’

‘कोरोना महामारीले उपत्यकामा चौपाया खपत घट्ने’
काठमाडौंमा बिक्रीका लागि ल्याइएका खसी बोका।

काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) संक्रमणको महामारीका कारण दसैंमा काठमाडौं उपत्यकामा मासुजन्य पदार्थका लागि खपत हुने चौपायाको बिक्री घट्ने अनुमान गरिएको छ। 

काठमाडौं महानगरपालिकाको पशु सेवा महाशाखाले यस वर्ष करिब ४० हजार खसी, बोका, भेडा र च्याङ्ग्रा मात्रै खपत हुने अनुमान गरेको हो। 

महाशाखाका अनुसार अघिल्ला दसैंमा ५०–६० हजार चौपाया खपत हुने गरेको थियो। 

उपत्यकामा मासुजन्य पदार्थका लागि खपत हुने खसी, बोका, भेडा तथा च्याङ्ग्रा आपूर्ति गर्दै आएको कलंकी खसी बजारका व्यापारीको संगठन कलंकी चौपाया खरिद बिक्री संघका अध्यक्ष जनककुमार खड्काले पनि कोरोना भाइरस संक्रमण महामारीका कारण यस वर्षको दसैंमा मासुजन्य पदार्थका लागि चौपायाको बिक्री घट्न सक्ने बताए। 

‘कोरोनाका कारण कति मानिस उपत्यका बाहिर गए? कति जान्छन्? दसैं कसरी मनाउँछन्? भन्न सक्ने अवस्था नभएकाले दसैंमा चौपायाको खरिद–बिक्री अनुमान यकिन गर्न कठिन छ,’ उनले भने। 

उनले दसैंमा च्याङ्ग्राको भाउ बढेको बताए। बिक्रीका लागि ल्याइएका च्याङ्ग्रा थोरै भएकाले भाउ बढेको उनको भनाइ छ। 

स्वास्थ्य जाँच गर्न टोली 

दसैंका लागि भित्रिने चौपायाको स्वास्थ्य जाँचका लागि तीन वटा टोली परिचालन हुने महाशाखाका प्रमुख डा. अवधेश झाले बताए। 

‘दसैंमा मासुजन्य खाद्य उत्पादनलाई स्वस्थ, स्वच्छ र गुणस्तरीय बनाउन तीन टोली खटाउँदै छौं,’ उनले भने, ‘संघ र प्रदेश सरकारसँग समन्वय गरेर तोकिएका ठाउँबाट स्वस्थ चौपाया बिक्री गर्ने÷गराउने हाम्रो दायित्व हो। त्यसैले तोकिएका ठाउँको व्यवस्थापन र नतोकिएका ठाउँबाट हुने बिक्रीलाई नियमन गर्नेछौं।’

काठमाडौंको कलंकी, टुकुचा, कपन, चाल्नाखेल र चन्द्रगिरि, भक्तपुरको लोकन्थली र ललितपुरको लगनखेलमा चौपाया बिक्री हुने गर्छ। 

कोरोना महामारीका कारण चौपायाको बिक्री घटेपछि कतिपय पसल बन्द भएका छन्।अनुगमनका क्रममा कलंकी खसी बजारका २९ स्टलमध्ये १६ बन्द रहेको महाशाखाले जनाएको छ। 

कात्तिक २, २०७७ आइतबार १६:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।