तिमीलाई हाम्रो सलाम
हरेक सिर्जनाको केही न केही कथाहरु हुने गर्छन् । कसैले त्यसलाई उजागर गर्छन् कसैका कथा सर्जकहरुसँगै हराएर पनि जान्छन् । आज यहाँ सोही गीतको सिर्जनाको कथा प्रस्तुत गर्दैछौं ।
आफ्नै मान्छेसँग यहाँ डराईरहँदा
तिमी साथी बन्छौ मान्छे कहराईरहँदा
अरुलाई गाह्रो घरमै बस्न, छैन तिमीलाई सुख
तिमी पनि त थाक्छौ होला गर्दा यति दुःख
मर्मस्पर्शी भाव, यथार्थताको सजीव चित्रण । सन्तोष पौड्यालले कोरेका यीनै अक्षरहरु लयबद्ध, संगीतबद्ध भएर, भिडियोले समेत सजिएर युट्युब, फेसबुक लगायत सामाजिक सञ्जालहरुमा धेरैको भावनालाई प्रतिनिधित्व गर्दै फैलिईरहेको छ, लाईक अनि शेयर भईरहेको छ ।
कोभिड १९ को महामारीले थिलोथिलो भएको यस्तो असहज र विषम परिस्थितिमा पनि अग्रपंक्तिमा खटिएर काम गर्नुपर्ने डाक्टर, नर्स, प्रहरी, सेना,सरसफाईकर्मी लगायतहरुले भने यसलाई भयको रुपमा नलिई निर्भिक र निडर बनेर काम गर्नुपर्ने अवस्था छ । मान्छे भएपछि स्वभाविक रुपमा संवेदनाहरु भईहाल्छन् तर यो अवस्थामा वहाँहरु पनि कर्तव्यबाट भाग्ने हो भने स्थिती कति भयावह होला भन्ने कल्पनासमेत गर्न गाह्रो हुन्छ । यसै कुरालाई मनन् गर्दै अग्रपंक्तिमा खटिने सम्पूर्ण कर्तब्यनिष्ठ महानुभावहरुको सम्मानमा एउटा सुन्दर र कर्णप्रिय गीत सामाजिक सञ्जालहरुमा छाईरहेको छ, तिमीलाई हाम्रो सलाम ।
हरेक सिर्जनाको केही न केही कथाहरु हुने गर्छन् । कसैले त्यसलाई उजागर गर्छन् कसैका कथा सर्जकहरुसँगै हराएर पनि जान्छन् । आज यहाँ सोही गीतको सिर्जनाको कथा प्रस्तुत गर्दैछौं ।
यो गीतमा रामकृष्ण ढकाल, सुगम पोखरेल, प्रमोद खरेल, मेलिना राई ,रजिना रिमाल, मोहित मुनाल र सन्तोष दंगालले स्वर दिएका छन् भने लय सन्तोष पौड्यालकै अनि संगीत संयोजन मोहित मुनालको रहेको छ ।
यो गीतको सिर्जना कसरी भयो ? भन्ने प्रश्न राख्दा सन्तोष पौड्यालले
- यो गीत अहिलेको परिस्थितिमा अग्रपंक्तिमा खट्ने महामानवहरुको सम्मान गर्नुपर्छ भन्ने सोच बोकेर स्वतन्त्र रुपमा तयार गरिएको हो तर कुनै ब्राण्डसँग सम्बद्ध भएर गएमा यसको पहुँच पनि बिस्तार हुने हुँदा बिजनेश एडभाण्टेजलाई सुरुमा यसको शब्दहरु देखायौं । वहाँहरुले आफ्ना केही क्लाईण्टलाई पनि यो गीतमा सहकार्य गर्न प्रस्ताव राख्नु भयो । एउटा ब्राण्ड हामीलाई सहयोग गर्ने पक्कापक्की थियो तर निर्णय दिन निकै ढिलाई भयो । पछि यो कुरा यत्तिकै सेलाएर गयो । बजारमा यहि शैलीका अरु गीतहरु पनि आउन थालेपछि मलाई आफुहरुले निकै अघि सिर्जना गरेको गीत हुँदा हुँदै पनि पछि परेकोमा अलिक खल्लो पनि लाग्यो । पछि हामी कुनै ब्राण्डको साथ बिना आफै यो गीत रिलिज गर्ने सुर कस्यौं । एकदिन युनाईट सिमेण्ट्का मार्केटिंग हेड एउटा कामको सिलसिलामा हाम्रो अफिस आउनुभएको बेला मैले कुरैकुरामा यो गीत सुनाएँ । यो सुनेर वहाँ यति प्रभावित हुनुभयो कि युनाईटेड सिमेण्ट्स यो गीतसँग जोडिने ईच्छा राख्नुभयो ।
यो गीतमा कसरी जोडिन चाहनुभयो त ? भन्ने हाम्रो जिज्ञासामा युनाईटेड सिमेण्ट्सका मार्केटिंग हेड सुवास खतिवडा भन्नुहुन्छ,
- युनाईटेड सिमेण्ट्सले जहिलेपनि परम्परागत भन्दा पनि अलिक फरक शैलीले आफ्ना क्याम्पेनहरुलाई प्रस्तुत गरिरहेको छ । हामीले अब जुट्ने बेला हो भन्ने नारालाई अघि बढाएका छौं । अहिलेको अवस्थामा अग्रपंक्तीमा खट्ने महानुभावहरुको योगदान अतुलनीय छ । यो गीतमा हामीले त्यो भावलाई अति सुन्दर तवरले समेटेको पायौं । त्यसैले भौतिक रुपमा टाढाभएपनि भावनात्मक रुपमा हामी ती अग्रपंक्तिमा खटिने सेवाभावका प्रतिमूर्तीहरुलाई सम्मानका लागि जुट्नुपर्छ भन्दै यो गीतसँग जोडिन पुग्यौं ।
यसैगरी यो गीतमा संगीत संयोजन गरेका मोहित मुनाल पनि आफ्नो मनमा रहेको भावनालाई दुरुस्त उतार्न सकिएको कुरा गर्नुहुन्छ । सुरुमा ५ जना गायक गायिकाहरुको स्वरमा रेकर्ड गर्ने भनिएको यो गीतमा पछि मोहित मुनाल र संतोष दंगालले पनि स्वर दिनुभएको छ ।
सबैले यो गीतमा काम गर्दा एकप्रकारको गौरव मात्र हैन भावुक पनि बनाएको कुरा गर्नु भयो भन्दै यो गीतका रेकर्डिष्ट समेत रहेको सन्तोष दंगालले भन्नुहुन्छ, यत्रा दिग्गज दिग्गज कलाकारहरुले गाएको गीतमा मैले अवसर पाउँला कि नपाउँला जस्तो लागेको थियो तर मोहित दाईको प्रोत्साहनले गर्दा मैले पनि रेकर्ड गरेर सन्तोषदाईलाई सुनाएपछि वहाँले एकैपटकमा ओके गर्नुभयो ।
गीत त तयार भयो अब भिडियो बनाउनुपर्ने थियो । मान्छेहरु धेरै भेटघाट र आवतजावत गर्न नमिल्ने अवस्थालाई मध्येनजर गर्दै सबै कलाकारहरुले आफैले भिडियो सुट गरेर पठाईदिने कुरामा सहजै सहमत हुनुभयो र राम्रो सहयोग गर्दै भिडियोहरु पठाउनु भयो ।
यो गीतको बारेमा कुरा गर्दा गायक प्रमोद खरेलले यसलाई गीत मात्र नभई , यथार्थ हो, उर्जा र हिम्मत अनि कठिनाइसँग जुध्ने साहस भन्दै नकारात्मक र खस्किँदो आत्मबललाई सकारात्मक र अग्रगामी बनाउने सांगितीक साधनको रुपमा लिएको कुरा गर्नुभयो रयो गीतसँग जोडिन पाउँदा निकै खुशी लागेको कुरा बताउनुभयो भने गायिका रजिना रिमालले पनि यस्तो उर्जावान गीतसँग आबद्ध हुन पाएकोमा गर्वको अनुभव गरेको कुरा बताउनुभयो । यसैगरी गायक सुगम पोखरेलले पनि यसको शब्द निकै मर्मस्पशी भएको कुरा बताउँदै अग्रपंक्तिमा खटिने महानुभावहरुको सम्मानमा आफ्नो आवाज प्रस्तुत गर्न पाउँदा निकै खुशी लागेको कुरा ब्यक्त गर्नुभयो ।
कात्तिक २, २०७७ आइतबार १५:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।