कोरोना कहरमा सगरमाथा पुग्दा...

कोरोना कहरमा सगरमाथा पुग्दा...

झण्डै आठ महिनाको बन्दाबन्दीपछि राजधानीबाट जिप चढेर सगरमाथाको प्रवेशद्वार फाप्लु आइपुगेँ।

सगरमाथाको प्रवेशद्वार सोलुखुम्बुकै सदरमुकाम सल्लेरी, फाप्लुसम्म मोटरमा हुइँकेर आउन सकिन्छ। मजस्तो घुमन्तेलाई एकोहोरो आठ महिनासम्म एकै थलोमा बस्दाबस्दा वाक्क लागेको थियो।

हामी मानिसहरु स्वभावैले यायावर गर्न रुचाउने हौं। कोरोना महामारीले विश्व यात्रा गरिरहेकाले हामी मानिसहरु भने घरभित्र सीमित हुन पुगेका छौँ।

महामारीेले हवाई उडानको सञ्जाल अवरोध छन्। यात्रा प्रतिबन्ध नै छ। १ सय २० दिन लामो बन्दाबन्दी (लकडाउन) र पछिल्लो २४ दिने निषेधाज्ञापछि आन्तरिक पर्यटन भने केही होलो महसुस भएको छ। दिल खोलेर र धक फुकाएर हिँड्नलाई अझै समय लाग्ने निश्चित छ। मानिसहरु लामो उकुसमुकुसबाट उम्कने कोसिस भने गर्दै छन्।

कोभिड-१९ को महामारी हुँदैन्थ्यो भने यस बेला सगरमाथा क्षेत्रमा विदेशी पर्यटकहरुले भरिभराउ हुन्थ्यो। लुक्ला विमानस्थलले यात्रुको चाप धान्न नसकेर सदरमुकामको फाप्लु विमानस्थल वैकल्पिक प्रयोग भइरहेको हुन्थ्यो।

फाप्लुका होटलहरु पनि खचाखच देखिन्थे। यस पटक भने सोलुदेखि खुम्बुसम्म होटलहरु रित्तै छन्। मैले फाप्लुका होटलहरु खालि देखेको यो नै पहिलोपटक हो, मेरो दुई दशकको सगरमाथा अनुभवमा। विगत १२ वर्षे द्वन्द्वमा पनि यस्तो सुनसान थिएन र २०७२ को विनाशकारी भूकम्पपछि पनि देखिनँ।

हो, यस अभूतपूर्व विषम परिस्थितिमा पनि हाम्रा सुन्दर हिमाली डाँडा पाखा घुम्न पाउनु स्थानीय अर्थतन्त्रलाई सहयोग गर्नुपर्छ। यति बेला विभिन्न एयरलाइन्सहरुले पनि सगरमाथाक्षेत्रको प्याकेज बनाएका छन्।

एयरलाइन्सका प्याकेजहरु सगरमाथा आधार शिविरसम्मका छैनन्। ती अपूर्ण छन्। कुनै ट्रेकिङ कम्पनी वा ट्राभल्स कम्पनी वा सही सूचना लिएर समूहमा पदयात्रामा निक्ले पनि हुन्छ।

तल्लो सगरमाथा क्षेत्रबाट माथिल्लो सगरमाथा फेदी पुग्नलाई १५ दिनको समय चाहिन्छ। एक,दुई दिन तल्लो क्षेत्रमै घुम्ने हो भने थप केही दिन ओखलढुंगा र सोलुखुम्बुको सिमाना जन्तरधापबाटै सगरमाथालगायतका हिमालय लहर देखिन्छन्।

पिके पिक, लामाजुरा, पत्ताले, जन्तरधाप, फाप्लु, रातानाङे डाँडा, चिवाङ गुम्बा, जुनबेशी गाउ, थुप्तेन छोलिङ गुम्बा, टाक्सिन्धु गुम्बा, दूधकुण्डलगायतका पर्यटकीय ठाउहरु रमणीय छन्।

टासीदेले (नमस्ते) सगरमाथा पदमार्गमा अधिकांश होटलका दैलामा लेखिएको छ। पाहुना बनेर सगरमाथा पदयात्रामा जा“दा पाउने शेर्पा सत्कारलाई हरेक पर्यटकले भुल्न सक्दैनन्।

पाहुनालाई खादाको बिदाइ पनि उत्तिकै अविस्मरणीय हुन्छ। यसपटक कोरोना महामारीले गर्दा सगरमाथा क्षेत्रका होटल व्यवसायीहरु ढोका थुनेर राजधानीतिर बसेका छन् र केही भने प्राकृतिक आइसोलेशनमै ठिक हुन्छ भनेर उतै बसेका छन्।

सगरमाथा पदयात्रा गर्ने धोको सबैले बोकेका हुन्छन्। मर्नुभन्दा अघि एकपटक सर्वोच्च शिखर सगरमाथालाई सके चुमेर नभए पनि खुल्ला आँखाले हेरेर मर्ने सपना साधेर बसेका हुन्छन्।

साहसिकको दुनियामा रमाउनेका लागि सगरमाथा पदयात्रा एउटा सपना गन्तव्य हो। हो ,यहा त्यही सपना गन्तव्यको कुरा गर्न खोजिएको छ।

आउनुस् यस बेला सगरमाथा जाने सही समय हो र विदेशी पर्यटकहरुले यात्रा नगरेको छेको पारेर हामी आन्तरिक पर्यटकहरु एकपटक सगरमाथालाई नजिकबाट चियाउने मौका नचुकाउ। कोभिड-१९ को स्वास्थ्य मापदण्ड पूरा गरी भौतिक दूरी कायम गर्दै सगरमाथा पदयात्रामा निस्कनु उचित हुन्छ।

सगरमाथा संसारमा चर्चाको शिखरमा सन् १९५३ मा न्यूजिल्यान्डका प्रथम आरोही सर एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गेले सफलतापूर्ण आरोहण गरेपछि पुगेको हो।

त्यस यताका दिनमा सगरमाथाले सबैको ध्यान तान्न सफल भएको छ। सात समुद्रपारिका मान्छे वर्षौंको योजना उनेर सगरमाथा पदयात्रामा आइरहेका छन्।

साहसिकका लागि सगरमाथा एक खेल मैदानमा परिणत भएको छ भने पदयात्रीका लागि टाढैबाट हेर्न सकिने शिखर।

शिखरको मज्जा चुमेर मात्र लिनुपर्छ भन्ने छैन। सगरमाथा पदयात्रा विश्वको आइकोन हो। सगरमाथा पदयात्रालाई खुम्बु पदयात्रा पनि भनिन्छ।

खुम्बु शेर्पाको बासस्थान हो। शेर्पाको पुरानो शैली यस पदयात्रामा देख्न पाइन्छ। विश्वबजारमा ट्रेकिङ जननी नेपाल हो। सन् १९६५ मा बेलायती कर्णेल जिमी रोर्बसले नेपालबाट ट्रेकिङको सुरुवाती गरेका हुन्। त्यसैको निरन्तरता हो पदयात्रा।


सगरमाथा विगत छ दशकदेखि उत्तिकै चर्चा र आकर्षणको केन्द्रबिन्दुमा छ। ‘आइसल्याण्ड’ वा समुद्री सतहमा बस्ने मान्छेदेखि साना-साना हिमाली काखमा बस्ने पनि सगमाथा पदयात्रामा आउछन्।

अब सगरमाथा पदयात्रामा कसरी पुगिन्छ भन्ने कुराले केही पिरोलेको हुनसक्छ। आउनुस्-हामी त्यही पिरोल्याइलाई मत्थर पारौँ। सगरमाथा शिखर र त्यसको फेदीसम्म यात्रा गर्ने विषयमा गफियौँ।

विदेशी पर्यटक सगरमाथा पुग्ने सबै जानकारी उतैबाट विभिन्न पुस्तक अध्ययन गरेर आउछन्। तर ती सबैले राम्ररी जानकारी लिएका हुन्छन् भन्ने छैन।

हामी नेपालीको यात्रा गर्ने बानी कमै छ। अर्कै कुरामा रम्ने शैलीले पनि यसलाई प्रभाव पारेको हुनसक्छ। हाम्रो समाजमा घुम्नेडुल्ने बानी बसाल्नु आवश्यक छ।

विगत ढेड दशकदेखि भने नेपालीहरुमा पनि ट्राभलिङ कल्चरको विकास हुँदै आएको छ। युवा पुस्ता र कर्पोरेट समूह देश घुम्न रुचाउन थालेका छन्।

सगरमाथा पदयात्रा देशकै एउटा महत्वपूर्ण र स्तरीय गन्तव्य हो। नेपाल विदेशतिर सस्तो गन्तव्यका रुपमा बढी परिचित छ।

त्यसैले यहा महगोलाई स्तरीय भनिएको हो। काठमाडौंबाट आधा घण्टाको उडानबाट लुक्ला पुगेपछि सगरमाथा पदयात्रा सुरु गर्ने वा काठमाडौंबाट डाइरेक्ट सल्लेरी, फाप्लु वा दोलखाको जिरीबाट तपाईंसग तीन विकल्प छन्।

यी विकल्पमा कुन पदयात्रीका लागि रोजाइका विषय बन्न सक्छन्। समय कम र यात्रा धेरै गर्ने हो भने लुक्लाको साहसिक र रोमाञ्चकारी हवाईजहाज उडानलाई छान्नुस्।

नेपाल कस्तो छ भनेर बुझ्ने हो र समय अलि बढी छ भने फाप्लु वा जिरी रोज्नुस्। सन् १९५३ मा तेन्जिङ र हिलारी पनि जिरीको बाटो भएर सगरमाथा शिखर पुगेका थिए। हिलारी हिँडेको त्यो बाटो इतिहासमा परिणत भएको छ। जिरीबाट सोलुको किन्जासम्म हिउ“दमा यात्रा गर्न सकिन्छ। त्यसपछि भने हिँड्नु पर्छ।

पछिल्लो समयमा सगरमाथाको प्रवेशद्वारका रुपमा जहाजबाट सिधैं लुक्ला जाने क्रम बढेको पर्यटन व्यवसायीहरु बताउछन्। लुक्लामा जहाजबाट ३५ मिनेटको उडान हो। मौसमले साथ दियो भने समयमै उडान हुन्छ नत्र भने केही अड्किने पनि हुन्छ।

तल्लो सोलु भएर सगरमाथा पुगिने बाटो केही लामो छ। पर्यटनको स्वाद दोलखा, रामेछाप, ओखलढुंगा र सोलुका स्थानीयले पाउने छन् भने लुक्ला भएर जाने पर्यटकको स्वाद खुम्बुवासीले।

जिरी पदयात्रा रोज्नु भयो भने विभिन्न संस्कृति, भाषा, वन्यजन्तु, लाली गुराँस, पदयात्राका रोमाञ्चकारी दृश्य हुनेछन्।

अनुपम हिमाली दृश्य पदयात्राको मज्जा हो। लोअर एभरेष्ट ट्रेक भएर जाने भए राजधानीबाट निजी तथा सार्वजनिक यातायातमा सोझै फाप्लु पुगिन्छ।

एक रात बास बसेपछि अर्को दिन नुनथला वा खरिखोसम्म ड्राइभ गरेर पुगिन्छ। त्यसपछि भने सगरमाथा फेदीतर्फ जानलाई ब्याग प्याग गरेर लौरो टेकेर अगाडि बढ्नुपर्ने हुन्छ।

अब कुरा गरौं, लुक्ला उडान भरेर जाने पदयात्रीको यो समय बचत, सजिलो भएकाले पछिल्लो समयमा सबै पदयात्रीको छनोटमा परेको छ। सगरमाथा पदयात्रा नै धेरैजसो पर्यटकको रोजाइमा पर्नु सगरमाथा त्यही छ। र, संसारकै अग्लो हिम शिखर हो। हिमाललाई आँखै अगाडि देखिन्छ।

यो महंगो पदयात्रामा जानेलाई खल्ती मोटो चाहिन्छ। खल्ती पातलो भए चाँडै प्वाल पर्छ। सगमाथा आधार शिविरसम्म पदयात्रा गर्ने भए खल्तीमा पचास हजार हालेर हिँड्नुस्।

लुक्ला उडान भरेर जाने पर्यटकले नाम्चेबजार पुगेपछि कता जाने भनेर गन्तव्य रोज्न सक्छन्। हाइ अल्टिच्यूड पचाउन नाम्चेबजारमा दुई रात बस्नुपर्ने अनिवार्य छ।

दुई रात बसेपछि आरोहीहरुको गाउ थामे, नाङपालासम्म पदयात्रा गर्ने र रेन्जोला पास गरेर गोक्योतर्फ लाग्न सकिन्छ। मनोरम हिमतालले गोक्योमा पर्यटकलाई लोभ्याउछ। गोक्योमा एक रात बसेर गोक्योरी चढ्न सकिन्छ।

पाच घण्टा हिँडेपछि ५ हजार ३ सय ६० मिटर उचाइको गोक्यारीमा पुगिन्छ। गोक्यारी सगरमाथामा सूर्यास्त हेर्नका लागि जाने पर्यटकहरुको घुइचो लाग्छ।

जहाबाट सगरमाथा, मकालु, लोहोत्से, नुप्से, आमादाब्लम, थामसेर्कु हिमशृंखलाहरु देखिन्छन्। ५ हजार ५ सय मिटर उचाइको रेन्जोला पास पनि त्यत्तिकै मनोरम गन्तव्य हो। गोक्योमा झमक्क साझ परुञ्जेल बसेर धित मरुञ्जेल फोटो खिचेर फर्कनु पर्छ।

गोक्यो सगरमाथा पदयात्रामा पर्ने आकर्षक गन्तव्य हो। यहाबाट चोला पास गरेर आधारशिविरतर्फ मोडिन सकिन्छ।

त्यसो त थाङ्नाकको उकालो कम साहसिक र रोमाञ्चकारी छैन। जोङलाको याक फार्ममा पुगेर चौँरीगाईको दूध खाएर यात्रा अघि बढाउने अवसर मिल्छ।

थामे भएर तीब्बतको सिमाना नाङपालासम्म पदयात्रा गर्दा साहसिकता शब्दमा जति वर्णन गरे पनि अपुरो रहन्छ।

थामेबाट दोलखाको टासीलाप्चा पास गरेर रोलवालिङतर्फ मोडिने पदयात्री आउछन्। नाम्चेबाट सिधै सगरमाथा आधारशिविर मोडिने पदयात्री बढी आउछन्।

सगरमाथा आधारशिविरमा नाम्चेबजारबाट सात दिनको यात्रामा पुग्न सकिन्छ। लुक्लाबाट १५ दिनको पदयात्रा गरेपछि सगरमाथाफेदीमा पुगेपछिको मज्जा बेग्लै हुन्छ।

बाटामा देखिने हिमाली वन्यजन्तु, हिमाली वनस्पति, जीवन शैली, ल्याण्डस्केप अनि नाकैमा देखिने हिमालको त कुरै नगरौँ। स्वर्ग भनेकै यहीँ हो। मानवले देख्दा मनै बहलाउने र आन्नद तुल्याउने थलो नै स्वर्ग होइन र अर्काे स्वर्ग त अमूर्त हो, दुवैले एकछिन टक्क अडिएर भने।

हो,त्यही स्वर्गमा पदयात्रा गर्ने धोको बोकेर सगरमाथा आउनेको लर्को लाग्छ। केही समय बाकी छ भने हिउ“ चितुवा पनि भेट्न सकिन्छ।

रातो पाण्डाले पनि स्वागत गर्न सक्छ। खाचो केवल समयको छ। फोर्चेमा पदयात्रा गर्नु भयो भने डाफे, हिमालयन स्नो कक, मृग, कस्तूरी नाचेका देखिन्छन्। फोर्चे पुरानो शेर्पा संस्कृतिको खानी हो।


२४ औं पटक सर्वोच्च शिखर चुमेर ख्याति कमाएका कामीरिता शेर्पाको गाउ थामे पनि उत्तिकै मनोमहक छ।

पर्यटकलाई स्वागत र सत्कारमा थामेली पनि अब्बल छन्। थामेबाट लुङ्दिन भएर गोक्यो पुग्न सकिन्छ। थामे र फोर्चे पर्वतारोहीहरुको पावर हाउस गाउ हुन्।

नाम्चेबाट अगाडि हिँडेपछि तेङबोचे बास बस्नुपर्छ। तेङबोचेबाट बिहानीपखको सूर्योदय हेर्न सकिन्छ। ४ हजार मिटरको तेङबोचे गुम्बा त्यत्तिकै आकर्षक ठाउ हो।

तेङबोचेबाट अर्काे गन्तव्य पाङबोचे हो। पाङबोचेबाट अर्काे बास बस्न दिङबोचे वा फेरिचे पुग्न सकन्छि। सानो तर सुन्दर करिब ६ हजार अग्लो हिमाल आरोहण गर्ने र छुकुङ भ्याली हेर्ने हो भने दिङबोचे बास बसेर भोलिपल्ट उता चढ्न सकिन्छ।

आमालाप्चा पास गरेर मकालु उपत्यका जान पनि सकिन्छ। यो निकै कठिन पासभित्र पर्छ। सगरमाथा आधारशिविर मोडिने हो भने अर्काे बास लोबुचेमा बस्नुपर्छ।

५ हजार मिटर उचाइको लोबुचेबाट अर्को गन्तव्य गोरेसेप हो। सगरमाथाको अन्तिम मानव बस्ती हो, गारेसेप। पाच हजार दुई सय मिटरमा रहेको गोरेसेपमा होटल लजको सुविधा छ। सगरमाथामा पर्यटकले चाहे जस्तो सुविधा पाउँछन्। तारे होटलको याद मेटाउने सुविधा छ।

गोरेसेपबाट ५ हजार ६ सय मिटर उचाइको कालापत्थरतिर लम्किने वा आधारशिविरतर्फ कालापत्थर र सगरमाथाको सम्बन्ध आगन र घरको धूरीको जस्तो छ।

आगनबाट धूरीतर्फ हेरेझैं सगरमाथालाई हेर्न सबैको धोको यी कालापत्थरले दिएको छ। कालापत्थरबाट देखिने हिमाली दृश्यको शब्द उल्लेख गर्नुभन्दा पनि भ्रमण गरेर रियल अनुभव गर्दा रमाइलो हुन्छ। 

सगरमाथा बेसक्याम्पमा सबै पदयात्री र आरोहणदल टेन्टमा बस्नुपर्छ। स्लिपिङ ब्याग र टेन्टको व्यवस्था गरेर मात्रै आधारशिविर जानु उत्तम हुन्छ।

निश्चित गन्तव्यमा पुगेपछि पदयात्रा सकिएको अनुभव हुन्छ। अब झोला केही हल्का भएको महसुस गर्दै घरतर्फको ओरालो झर्न हतारो हुन्छ। ओरालो लाग्नुस्।

जहाजबाट लुक्ला झर्नेबित्तिकै मेरापिकतर्फको गन्तव्य पनि उत्तिकै आकर्षक छ। १५ दिनको मेरापिक पदयात्रा पनि रमाइलो छ।

खुम्बुक्षेत्रको ख्याति कमाएको सगरमाथा पदयात्रा देशकै महंगो र आकर्षक पदयात्रा मान्निछ। खुम्बुमा सबै घर होटल हुन्।

सगरमाथाक्षेत्रका सबै घर होटल र सबै होटल घर हुन्। यहाका सबै घरहरु होटल शैलीमा बनाइएका छन्। करिब एक हजार संख्याका यी घरहरु सबै होटल हुन्।

विदेशी पर्यटकहरुलाई आकर्षक शैलीमा बनाएका घरहरु पछिल्लो समयमा आधुनिक शैलीका बनेका छन्। सन् १९७३ मा बनेको स्याङ्बोचेको होटल एभरेष्ट भ्यू संसारकै अग्लो ठाउमा रहेको होटल हो।

सगरमाथा पदयात्रा जीवनमा एकपटक जानैपर्ने मार्ग हो। सर्वोच्च शिखरलाई नजिकबाट चियाउने धोको यही पदमार्ग मिल्छ। स्थानीय अर्थतन्त्रलाई पर्यटकले टेवा दिइरहेका छन्।

सगरमाथा पदयात्रा गर्ने धोको तपाईंको छ भने पूरा गर्न सजिलो छ। काठमाडौंका जुनसुकै ट्रेकिङ कम्पनीले सहजै तरिकाले पूरा गर्न सक्छन्। जान सजिलो छ। खाचो इच्छा शक्तिको हो। यो पाहुना उद्योगमा रम्ने रहरलाई पूरा गरौँ।

सगरमाथा पदयात्रा गर्ने सही समय सेप्टेम्बर, अक्टोबर र नोभेम्बर तथा मार्च अप्रिल र मे महिना हुन्। यो समयमा पदयात्रामा निस्कँदा उपयुक्त हुन्छ।

कोरोना भाइरसबाट जोगिँदै आन्तरिक पर्यटकहरुका लागि सगरमाथा आधारशिविर पुग्ने उपयुक्त मौका हो, यो समय। खुम्बु पासाङ ल्हामु गाउपालिकाले कोरोनाको पिसिआर टेष्ट भने अनिवार्य गरेको छ।

७२ घण्टाभित्रको पिसिआर टेष्ट गराएर रिपोर्ट खल्तीमा राखेर यात्रा गर्नु होला।

 

कात्तिक २, २०७७ आइतबार १३:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।