नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणीको आराधना

नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणीको आराधना

ब्रह्म शब्दका धेरै अर्थ छन्। तीमध्ये तपस्या पनि ब्रह्म शब्दको एउटा अर्थ हो। ब्रह्मचारिणी भनेको ‘तपस्या गर्ने स्त्री’ भन्ने अर्थ हुन्छ। दुर्गाको सन्दर्भमा देवीको तपस्यारत अवस्थालाई ब्रह्मचारिणी भनिएको हो। 

ब्रह्मचारिणी हिमालयपुत्री पार्वतीकै एउटा रूप हो। भगवान् शंकरको सान्निध्यका लागि यिनले नारदका उपदेशले हजारौँ वर्ष तपस्या गरेको उल्लेख पाइन्छ। तपस्याका क्रममा यिनले एक हजार वर्ष फलाहार मात्र गरेर बिताएकी थिइन्। सय वर्ष सागमात्र खाएर तपस्या गरेकी थिइन् भने तीन हजार वर्ष आफै भुइँमा झरेर सुकेका बेलपत्र खाएर तपःसाधना गरेकी थिइन्। तपस्यालाई अझ कठोर बनाउँदै यिनी हजारौँ वर्षसम्म निराहार रही शिवजीको ध्यानमा मग्न रहिन्।

खुला आकाशमुनि वर्षा र गर्मी सहेर यिनले कठोर तपस्या गरेको प्रसंग पुराणहरूमा वर्णित छ। पौराणिक कथनअनुसार पात (पर्ण)समेत नखाइ निराहार तपस्या गरेकी हुनाले यिनको नाम अपर्णा रहन गएको हो। तपस्याको प्रभावले यिनी शिवकी शक्तिका रूपमा स्थापित भएकी हुन्। तपोमय अवस्थाकी यिनै दुर्गा भवानी ब्रह्मचारिणी हुन्।

ब्रह्मचारिणीलाई देदीप्यमान् आभा भएकी, साधारण तर उज्ज्वल वेशभूषाले युक्त, दायाँ हातमा जपमाला र बायाँ हातमा कमण्डलु धारण गरेकी देवीका रूपमा वर्णन गरिएको छ। यिनी सौम्य र शान्त रूपकी देवी हुन्। नवदुर्गाको दोस्रो दिन यिनै ब्रह्मचारिणीको पूजा–आराधना हुन्छ। 

पूजाविधि

नवरात्रको दोस्रो दिन घटस्थापनाका दिनजस्तै स्नान–सन्ध्या आदि नित्यकर्म सकेर पूजास्थलमा गइन्छ। पूजासामग्री तयार गरेर दीप, कलश, गणेश र अन्य आवाहित÷स्थापित देवीदेवताको पूजा गरिन्छ। 

दोस्रो दिन प्रधान देवताका रूपमा ब्रह्मचारिणीको पूजा हुन्छ। सम्भव भए षोडशोपचार र नभए आफूसँग जेजति सामग्री उपलब्ध छन् तिनैले स्थापना गरिएको घटमा ब्रह्मचारिणीको पूजा गरिन्छ। पूजाका अन्त्यमा मास, चामल र दहीको अथवा कुभिन्डाको बलि दिइन्छ। 

जगज्जननी भगवतीको पूजा गर्दा सम्भव भए सबै दिन सबै पूजा सामग्री अर्पण गर्नु राम्रो हो। सम्भव नभए कुन दिन के कुराको विशेषता छ र के अर्पण गर्ने भन्ने कुरा दुर्गाभक्तितरङ्गिणमा यसरी निर्देश गरिएको छ-

केशसंस्कारद्रव्याणि प्रदद्यात् प्रतिपद्दिने।
पक्वतैलं (पट्टडोरं) द्वितीयायां केशसंयमहेतवे।।
दर्पणञ्च तृतीयायां सिन्दूरालक्तकन्तथा।
मधुपर्कं चतुथ्र्यान्तु तिलकं नेत्रमण्डनम्।।
पञ्चम्यामङ्गरागञ्च शक्त्यालङ्करणानि च।
षष्ठ्यां बिल्वतरौ बोधं सायं सन्ध्यासु कारयेत्।।
सप्तम्यां प्रातरानीय गृहमध्ये प्रवेशयेत्।
उपोषणमथाष्टम्यामात्मशक्त्या तु पूजनम्।।
नवम्यामुग्रचण्डायाः पूजां कुर्याद् बलिं तथा।
सम्पूज्य प्रेषणं कुर्यात् दशम्यां शावरोत्सवैः।।

अर्थात् प्रतिपदाका दिन दुर्गा भवानीलाई केश सजाउने सामग्री अर्पण गर्नू। द्वितीयामा केशमा लगाउने सुगन्धित तेल, डोरी आदि केश सम्हाल्ने सामग्री, तृतीयामा ऐना, सिन्दूर र अलक्ता, चतुर्थीमा मधुपर्क, चन्दन र गाजल, पञ्चमीमा शरीरमा लगाउने रङ्ग, चन्दन, अत्तर र यथाशक्ति गहना अर्पण गर्नू। षष्ठीको साँझ बेलको फेदमा गई बिल्वनिमन्त्रण गर्नू। सप्तमीमा बेलपत्र (फूलपाती)  भित्र्याउनू। अष्टमीमा उपवास गरी शक्तिअनुसार पूजा गर्नू। नवमीमा उग्रचण्डिकाको पूजा र बलि अर्पण गर्नू। दशमीमा पूजन गरी होलीको जस्तो उत्सव गर्दै देवी विसर्जन गर्नू। यसअनुसार नवरात्रको दोस्रो दिन दुर्गा भवानीलाई सुगन्धित तेल, डोरी, रिवन, क्लिप, काँटा आदि केश सम्हाल्ने साधन अर्पण गरिन्छ।

ब्रह्मचारिणीको आराधना गर्नाले इन्द्रियमाथि विजय प्राप्त गर्न सकिन्छ भन्ने शास्त्रीय मान्यता छ। त्यसै गरी धैर्य, तपस्या, त्याग, वैराग्य, सदाचार, संयमजस्ता आन्तरिक गुणको विकास पनि ब्रह्मचारिणीको आराधनाबाट प्राप्त गर्न सकिन्छ। कठिन परिस्थितिको सामना गर्न सक्ने दृढता पनि यिनका कृपाले प्राप्त हुन्छ। 

कुमारीको पूजा

दुर्गा भवानीको पूजाको अंगका रूपमा कुमारीको पूजालाई लिइएको छ। कुमारीको पूजा नगरेसम्म देवीको पूजा पूरा हुँदैन। त्यसैले देवीको पूजा गरेपछि कुमारीको पूजा गर्नुपर्छ। नवरात्रको दोस्रो दिन तीन वर्षकी कन्याको पूजा हुन्छ। यिनलाई त्रिमूर्ति भनिएको छ। त्रिमूर्तिलाई टीका, भोजन, वस्त्र, दक्षिणा आदिले प्रसन्न पार्नाले ब्रह्मचारिणी प्रसन्न हुन्छिन्।

देवीमाहात्म्यको पाठ, मन्त्र जप, दीपदान, सायं पूजन आदि प्रत्येक दिन गरिने कर्म हुन्। 
 

कात्तिक २, २०७७ आइतबार ००:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।