स्मृति : बालकृष्णको घिडघिडो

स्मृति : बालकृष्णको घिडघिडो
पंक्तिकार (बीच)लाई पुरस्कार ‘प्रतिभा पुरस्कार’ प्रदान गर्दै बालकृष्ण पोखरेल (दायाँ)।

मेरो लेखाइमा उनको स्नेह र हार्दिकता मनग्गे देखाउँथे उनी। पहिल्यै भेट्दा पनि भने- ‘बलियो देख्छु म त रचनाकर्म।’

विराटनगरको सम्मानित पुरस्कार छ- प्रतिभा पुरस्कार। पूर्वाञ्चल प्रतिभा प्रतिष्ठानबाट वितरण गरिने यो पुरस्कार मैले प्राप्त गरेँ- २०७१ सालमा।

त्यहीँ भेट भो- बालकृष्ण गुरुसँग। उनले फेरि खुसी प्रकट गरे- ‘प्रतिभा पुरस्कार पाउनुभो। मैले अनुमान गरेको मिल्छ। तपाईंले राम्रो गरिरहनुभएको छ,आफ्नो लेखाइमा।’

बालकृष्णसँग मैले विराटनगरका कार्यक्रममा जाँदा सधैँ भेटेँ। तीसँग भेट्दा एउटा भिन्नै आनन्द र उमंगमा पुगेको लाग्थ्यो। विराटनगरका थोरै बलिया चिन्तनका खम्बामा उनको उचाइ, अग्लाइ, गहिराइ हरेक प्रकारले स्मरणीय रह्यो।

०००

‘बालकृष्ण के हुन्?’ धेरैले मलाई सोधे।

‘के होइनन् तिनी?’  मैले नि अरुलाई सोधेँ।

कथा लेखे, उपन्यास लेखे, कविता लेखे। निबन्ध र प्रबन्धमा त उनी अब्बल। भाषा, अनुसन्धान र चिन्तनमा उनको विशेष दख्खल।शब्दकोष लेखन, सम्पादन र संयोजनमा बालकृष्णले गरेको काम त अद्वितीय नै लाग्छ। उनको सहभागिता नभएको साहित्यको विधा केही नि नभएको अनुभूत हुन्छ। त्यसै कारण उनी के होइनन्- यो प्रश्नमा अन्योल, असहज र अव्यावहारिक लाग्दैनन्।

०००

विराटनगरको प्रतिभा पुरस्कारमा भेट्दा उनले भनेथे- ‘आँखा कमजोर भएका छन्। गर्ने काम धेरै भएकाले आँखाबाट धोका पाउन सक्छु।’

उनको रातदिनको खटाइले आँखा कमजोर हुनु अस्वाभाविक पनि थिएन। तर, उनी अरु निकै रोगले भित्रभित्रै आक्रान्त रहेछन्। पोखरेलले आँखामा कालो चस्मा लगाएथे। मैले उनकै हातबाट त्यो सम्मान पाएको थिएँ- उनले मेरा बारेमा फेरि एकचोटि त्यहाँ पनि भने।

‘मैले पत्याएको लेखक हुन् यिनी,’  उनले फुर्काए।

म नि फुर्किएँ। तर, त्यो फुर्काइलाई आशीर्वादको रुपमा लिइरहेँ। आजसम्म नि लिइरहेकै छु। किनभने मेरा पितातुल्य उनको जुनै वचन नि मेरा लागि आशीर्वचनै हुन पुग्छ।

०००

बालकृष्ण नेपाली साहित्यका एउटा विशिष्ट साधक हुन्। उनको खटाइ, लगाव र खोजी गराइ ख्यालख्यालको थिएन। उनी शब्दका खोजक, पूजक र वाचक हुन्। 

उनीसँग शब्दलाई फकाउने, हुर्काउने, बढाउने एउटा अद्भूत चेतना हुर्केको मैले पाएँ।

धेरै अघि घट्टेकुलोको चोकमा तिनले मेरो उपनामसँग घोत्लेर राम्रै व्याख्यान दिए। युरोप, अफ्रिका, दक्षिण अमेरिका भएर भारतीय महाद्वीपको बाटो पार गरेर नेपालसम्म आइपुग्दा घण्टौं बितेको थियो।

बालकृष्णमा मीमांसाको गहन कला थियो। उनको विचरण क्षमता विशेष लाग्थ्यो। उनी संसार कता छ भनेर लागेनन्— संसार जोडिएका विषयतिर लागे।

०००

बालकृष्णलाई नेपालमा ‘टुची’ भन्नेहरु मैले देखिनँ। तर, भाषाका तपस्वी यी हाम्रा लागि साँच्चै नै प्रोफेसर टुचीभन्दा अग्ला व्यक्तित्व हुन्। त्यसको साक्ष्य बृहत् नेपाली शब्दकोष पनि एउटा भन्ने मेरो अड्कल छ।

धेरै अघि एउटा सानो ठिकैको पुस्तक किनेको थिएँ- खस जातिको इतिहास। त्यो पुस्तक लग्नु मात्र पर्याे, कसले टप्कायो, पत्तै भएन।केहीपछि निकै राम्रो साजसज्जामा आयो- खस जातिको इतिहास। मैले बागबजारबाट उधारोमै लगेँ।

लगेकै बेलुका फोटो खिचेर फेसबुकमा हालेँ- ‘अब यसलाई छिचोल्नु छ!’

त्यसको तेस्रो दिन समाचार आयो- भाषाशास्त्री बालकृष्ण पोखरेल अस्पतालमा सिकिस्त। मलाई सपनाजस्तो लाग्यो । जति समाचार आउँथ्यो- म छेवैको त्यो अमूल्य पुस्तक छुन्थेँ। समाचार निरन्तररूपमा आइरह्यो।

मैले २-४ पेज त्यो खोज, अनुसन्धान र विवेचनाले उच्च स्थान पाएको खस जातिको इतिहास पल्टाइरहेँ। विशेष गरी बेलुकीपख पल्टाउने गरेँ।

त्यो पुस्तक पल्टाइरहँदा बालकृष्ण पोखरेललाई लिएर अनुमान फेरि भइरहन्छ- ‘यी के मात्र होइनन् होला?’

किनभने खस जातिको इतिहासले नै उनको समर्पण र त्यागको तस्बिर देखाउँछ। उनलाई यही पुस्तक पल्टाउनेबित्तिकै सबै खालको श्रद्धा उर्लेर आउँछ।

‘खस जातिको इतिहास नआउँदासम्म यिनी स्वस्थ नै रहे। यो आएपछि पोखरेल थलिए। बालकृष्णको घिडघिडो रहेछ यो ग्रन्थ,’ कतिले यसो पनि सुनाए मलाई।

भयो पनि झन्डै त्यस्तै त्यस्तै । किनभने राम्रोसँग बजारमा यो कृति नपुग्दै उनले यो धर्ती छोडे।  राम्रो र अमूल्य कामका लागि रहेछ—उनको घिडघिडो। मेरो मनमा खेलेको छलफल।

समाज, साहित्य, संस्कृति र सभ्यताबारे एउटा ठूलै मिहिनेत, वैज्ञानिक विश्लेषण र अर्थपूर्ण हेराइ भएको खस जातिको इतिहासले हाम्रो वाङ्मयमा गणना गरिने पुस्तकको सूचीमा यो सधैँ अमर हुने कुरामा विमति छैन। उनी बाँच्ने र सधैँ रहिरहने कृतिको रूपमा यो अब्बल रचनाकारिता हो भन्दा दुईमत छैन।

बालकृष्णलाई अमर प्राज्ञ मान्छु म। सततः श्रद्धाञ्जली ! 

कात्तिक १, २०७७ शनिबार १५:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।