कथा : गतिलो फोटो 

कथा : गतिलो फोटो 

फोटो ? तस्बिर। कहाँ पाउनु? केही लेखेर पठाउन सजिलो छ। फोटो? तैपनि गतिलो। बुद्धि जोडले हाँस्न चाह्यो। गतिलो फोटो मागेको हुनाले हाँस्नु पर्ने खण्ड पनि थिएन। कारण, त्यस्तो नराम्रो अनुहारवाला पनि होइन ऊ। गतिलो भनिएको मात्र थियो। हेर्दा राम्रो, त्यही त होला। हाँस्नुपर्ने कारण अरू थिएन, अचेल अनलाइन पत्रिकामा निकै सुविधाले फोटो छापिन्छ। फोटो छैन भनेर लेखिपठाउनु पनि तर्कसंगत देखिएन। सेल्फी खिचेरै पठाउँदा पनि हुन्थ्यो। तर, प्रविधि आउनु पर्याे। उसमा त्यसको नितान्त अभाव छ। प्रविधिमैत्री मानसिकता र बौद्धिकताको न्यूनता नै भनौँ। लाज मान्नुपर्ने केही छैन, आउँदैन भने आउँदैन। सबै थोक जान्छु भन्ने ढोङी नेताहरूले मुलुक बिगारेजस्तो गर्नु भएन। मानिस केही क्षेत्रमा प्रकृतिरूपमै बोधो भइहाल्छ, त्यो स्वीकार्य हुन्छ।  

फोटो कतै छ कि भनेर खोज्न दराज र घर्रा खोलेर खोतल्नु–उधिन्नु पर्ने खाँचै थिएन। ऊसँग एउटा गतिलो फोटो छैन। अफसोसको विषय हो यो। तैपनि ऊ हाँसिरहेछ। अनुहार मात्र राम्रो भएर रचना कस्तो हुने हो त्यसको भरोसा छैन। जजसका तस्बिर अफिस अफिसमा लगाइएको छ, तिनका कारण मुलुकको हविगत के भएर गयो, त्यो देखिएकै छ। भित्ताभित्तामा झुन्ड्याइएका तस्बिर झिकेर घर्रा र दराजमा लुकाउनु् पर्ने दिन नआउला भन्न पनि सकिन्न। यो ठूलो कुरा हुनेछ, त्यस्तो नहोस्।

सन्दर्भमा यो छ,राम्रा अनुहारकाले राम्रै रचना लेखेका पनि छन्। नराम्राले झन् राम्रा लेख्छन् भन्ने प्रत्याभूति छैन। अनि यीबीचमा उसको अनुहार ! नराम्रो छ, न नराम्रो छ ।न तिमी काला छौ न तिमी गोरा छौ! कम्तीमा केटाकेटीले देखे भने तर्सिने खालको त छैन। फोटो छापिहालौँ नभन्ने खालको पनि छैन। यति हुन सक्छ, कुनै एउटा अनुहारलाई गज्याङमज्याङ गरेर तल उसको नाम छापिदिने हो भने पनि त्यो सबैलाई स्वीकार्य हुनेछ। अनुहार प्रस्टै देखाएर होइन, एब्स्ट्रयाक्ट गराएर छापिदिए पनि हुन्छ। आखिर उसको तस्बिर कालजयी होइन। कुनै एउटा क्षणमा उसको निधनसँगै गायब हुन सुरु हुनेछ, मानिसहरूको स्मृतिबाट। यो त हुनु नै छ।

अनुहारप्रति ऊ सचेत छैन। यद्यपि बिहान उठ्नेबित्तिकै दारी खौरनतिर लाग्छ। बिहान गालाको दारी नरम हुन्छ भन्छ, पुरानो ब्लेडले पनि खौरिन सकिन्छ। ब्लेड महँगा छन्। एउटा ब्लेड ऊ, महिनौँ चलाउँछ। दारी ट्वाइलेट जानुअघि वा पछि यी दुवै मौका छानेर खौरने कार्य हुन सक्छ। अनुहार त्यतिले पनि राम्रो भइहाल्ने होइन। दारीले अनुहार बिग्रेको पनि छैन बिहान बिहान खौरिरहनु पर्ने। कसैले तेजाब खन्याइदिएको छैन, ऐनामा हेरेर उदास भइरहनु पर्ने। आदत परेको छ, खौरने। अनुहार ठीकठाक छ। धेरै सम्पादकले उसको तस्बिर माग्छन्। अरूको छापिन्छ भने यही यो एक जनासँग किन पक्षपात ! बिचरोलाई धेरैले चिनेका छैनन्, त्यसैले तस्बिर छापौं, भविष्यमा साहित्यको उत्खनन गर्दा काम लाग्ला। त्यो सदाशयता छ तिनमा।

सम्पादकहरूबाट कथा र फोटोको डिमान्ड आउनु रमाइलो कुरो हो। कथाको भाउ बढेको भन्न सकिन्छ। कति मात्र भने ऊसँग छाप्न लायक फोटो छैन, गतिलो। क्था कहिलेकाहीँ भइहाल्छ, लेखिटोपल्छ। राम्रो नराम्रो छुट्याउने काम पाठकको जिम्मा, पस्कने काम सम्पादकको।

तस्बिर ? यसको एउटा प्रसंग ऊ सम्झन्छ। उमेरमा ऊसँग बिहे गरिने केटी खोज्न फोटो खिचाएको थियो। ठाउँठाउँबाट माग आइरहन्थ्यो– केटो बिहे गर्न लायक भयो, केटी पक्षलाई देखाउन एउटा फोटो पठाउनोस्। घरानियाँ केटी फसाएर बिहे गरिदिन्छौँ भन्थे, नातागोताहरू। सोच्दा ऊ खिन्न हुन्छ। आफ्नै फोटो मात्र कति पठायो। केटीहरूको एउटै पनि ब्ल्याक एन्ड ह्वाइट (कलर फोटो आएको थिएन) फोटो उसले प्राप्त गरेन। केटीहरूको लाइक–डिसलाइक पनि सुन्न पाएन। छिमेककै केटीसित बिहे भयो। न फोटो न फोटो डिमान्डको चिठीपत्र। बिहेपछि स्थानीय स्टुडियोमा पत्नीसँग खिचाएको एक दुई वटा फोटा त होलान्। त्यसपछि फोटो खिचाउनतिर ऊ उत्सुक भएन। आफ्नै अनुहार कति हेरिरहनु। 

बुद्धिको अनुहार फोटोजेनिक छैन, यतिले मात्र होइन फोटो नखिचाएको। फोटो नभए पनि काम चल्छ, यो सोचले काम गर्याे।  पासपोर्ट साइजका फोटा कतै दराजमा थन्किएका होलान्। त्यसपछिको कुरो यो छ, फोटो खिचाउन उसलाई जाँगरै चल्दैन। आजभोलि सेल्फी लिइरहेको देखर ऊ पनि जमजमाउँछ। आफ्नै अनुहारमाथि मक्ख भएर ठाउँकुठाउँ सेल्फी लिइहिँड्नु उसलाई जँचेन। यो अनुहारलाई कति गोदाम गरिरहने? त्यसैले सेल्फीको सोख छाडिदियो। सामाजिक सञ्जालमा मानिसहरू फोटो हालेको हाल्यै गर्छन्। केही त छ आफ्नो बारेमा प्रचार गर्न लायक भन्ठानेर। मानिसहरू कति इच्छुक हुन्छन् सामाजिक सञ्जालमा देखिइरहन। त्यो एउटा अनुहार अनेक रूपमा पोस्ट गरिएको हुन्छ। यसमा उसले आरिस गरिहाल्नु पर्ने केही छैन। ऊ यसतिर अनिच्छुक मात्र छ।

सम्पादकले तस्बिर माग्नु ठीक हो। यो कथा लेख्ने मानिस यो हो भनेर चिनाउन सकियोस्। कुनै लुकीढाँटी छलछाम छैन। प्रमाण तस्बिर छ। रचना पढ्दै गर्नुहोला, पहिले तस्बिर हेर्नुस् र लाइक डिस्लाइक गर्नुस्। मानिस सबै एउटै अनुहारका हुँदैनन्। तर, दाबी यो छ विश्वमा एकै अनुहारका सातजना हुन सक्छन्। यस्तो अर्को मानिस छैन, सातजनामध्ये कुनै एक। यो मौलिक मानिस हो, यो रचनाको लेखक। यो ढुंगे युगको कुनै एक पुरातात्त्विक लेखक होइन, जसको तस्बिर अनुमानले स्केच गरेर पत्रिकामा राखिएको होस्। सम्पर्क छ र तस्बिर मागिएको छ। गतिलो। मानिस गतिलो होस् नहोस् तस्बिर गतिलो होस्।...कहाँबाट ल्याउने? फोटो वा मानिस गतिलो छ भन्ने चारित्रिक प्रमाणपत्र?

बिहान दूधवालाले ढोका ढकढकाएर गएको छ। उसको अनुहार उदास भएको छ। जसले पनि ढोका ढकढकाउँदा उसलाई उधारोको त्रास लाग्छ। अमाउन्ट बढ्दै गएको छ। ऋणभार राष्ट्रले पनि थिचिएको छ र ऊ पनि। लकडाउनको समय छ यो। अर्थव्यवस्था गडबडिएको छ। उसलाई लकडाउनलाई नै कारण बनाएर गरिबी कति लेख्नु भन्ने पनि भइरहेछ। दूध दिन छाडिएको छैन। पुरानो ग्राहक हो ऊ, बुद्धि। दूधवालाले सहेको छ। एक दिन त कसो नदेला। दूधैको रकम हजार–पन्ध्र सय नाघिसकेको छ। पहिलेको एक लिटर अहिले आधा लिटरमा झरेको छ।

राष्ट्रिय दुग्ध विकास बोर्डले दूध खानोस्, स्वस्थ बन्नोस् भन्छ। पकेट गरम छ÷छैन, त्यो सरोकार छैन। आयस्रोतबारे कुरो झिक्दैन। आधा लिटर दूध पनि बढी भइरहेछ। रासनको पनि समस्या छ। ऋाज बिहानै अडरको एक धार्र्नी आलु ढोकामा छाडेर गएको छ पसलेले। उधारो दिनेहरूलाई ढाडस दिन हाँसेको फोटो खिचाएर तस्बिर ढोकामा टाँसिराख्ने उसको विचार छ। हाँसेको तस्बिर यस मानेमा, अभैm हरेस खाइसकेको छैन। हाँसेरै बाँचेको छ। उधारो दिनेहरू आश्वस्त होऊन्– फोटोमा मान्छे हाँसिरहेछ र हाँस्ने मान्छे बेइमान हुन सक्दैन भन्ने अन्धविश्वास तिनमा पैदा होस्।

ढोकामा हाँसेको तस्बिर छ भनेपछि मानिस गायब भएको छैन। सकेको दिन तिरुँला भनेर उधारोमा माल खाइरहेछ। दूधवाला र रासन पसलेले पनि कति परिवार पाल्नु? हैरान हुन लागिसके। ऊ हाँसेको एउटा तस्बिर उनीहरूको मनमा टंकित होस्, मानिस इमानदार हो नत्र फोटोमै पनि हाँस्ने थिएन। पहिलेका दिनमा हाँसेर खिचाएको तस्बिर पो हो कि? उनीहरू सोच्लान्, इमानदार मानिस मात्रै हाँस्न सक्छ। भएको दिन दिन्छ। यति मात्र अनुमान गर्न सकिरहेका हुँदैनन्, बुद्धिसँग हुने दिन कहिले आउने हो? भन्छ, ‘म इमानदार छु। अरूको फोकटमा खाएर भाग्ने मानिस होइन। भागेँ भने कथा लेख्नै छाडिदिउँला।’

कथा लेख्नु कुनै ठूलो कुरो हो जस्तो गरी उसले दाबी ठोक्यो। खोक्यो भनौँ न। राजनीतिवालाहरूले भन्ने गरेकोे भ्रष्टाचारमा लिप्त भएको साबित भए राजनीतिबाटै संन्यास लिनेछु। उनीहरू भ्रष्टाचारमा सावित भएर जेल गएबाट छुटेको दिन पुनः राजनीति सुरु गरिहाल्छन् अथवा भ्रष्टाचार यति धेरै गरेका हुन्छन्, कुनै एकलाई सात गर्नु मात्रले पुग्दैन। समग्रमा भ्रष्टाचारले नै अवतार लिएको हुन्छ। उसले तिनै राजनीतिकहरूको दाबीको सिको गरेर भनेको थियो– लेख्नै छाडिदिनेछु।

उसले लेख्न छाडेमा कसैको टाउको दुख्ने थिएन। पढ्नुको टाउको दुखाइबाट मुक्त भइयो भनेर रिलिफको सास फेर्ने थिए। प्रसंगान्तरमा राजनीतिवालाहरूले टाइममै संन्यास लिए भ्रष्टाचार कम हुने थियो र मुलुक अहिले अर्कै हुने थियो भन्नेहरू पनि छन्। राजनीति भनेकै गफ दिने त हो। गपैmले नेताहरू मुलुक खाइरहेछन्। दिनरात बैठक गरिरहेछन्, मन्त्रालय बाँडफाँडमा व्यस्त छन्, मुलुकको हित गर्न होइन, आफ्नालाई मन्त्री खुवाउन। उसले गपैmको एउटा कथा लेखिरहहेछ। यस्तै हो। 

बुद्धिको साहित्य लेख्दिनँ भन्ने भनाईले रासनपसलेलाई अलिकति शंका लाग्छ, मान्छे यसरी लेख्नै छाड्छु भनेर खोक्नेवाला त होइन। फोकटमा खाएर भाग्दिन पनि भन्छ। भाग्छ कि भनेर के उसको ढोकाकुर्न जानुपर्ने हो? राति भागिहालेछ भने? एक्लै कसरी भाग्छ? परिवारै भागिरहेको बेला कडा लकडाउनमा प्रहरीले भेटेर डन्डा लगाउने डर भइहाल्छ।

मायावी (यहाँ उधारो पढ्नू) संसारबाट दिक्दार भएर संन्यासी हुनेहरू पनि छन्। कति हुँदा खानेहरू पैसा–खर्च सकिएपछि केही सीप नलागेर रोगले भन्दा भोकले मरिने भो भन्ने डरले बच्चा र कुम्लाकाम्ली बोकेर पैदलै विकट कष्ट सहँदै भोकभोकै गाउँघरतिर गइरहेछन्। पसलेले यो पनि सोच्छ, लेख्दैमा मानिस ठूलो भइहाल्ने होइन। ठूलो माने धनीमानी, सम्पत्तिवाल। मानिस जब खुस्किनतिर उद्धत हुन्छ अनि हाँक्न थाल्छ? कसले भनेको छ, फोकटमा खाइरहेछौ? आठ–दस वर्षदेखि मैरै पसलबाट रासन खाइरहेछु र त मैले खुवाउनु पर्ने नैतिक कर्तव्य हुन आउँछ। त्यति मात्र हो, नत्र कतिले रासनको उधारो नतिरी डेरै सरेर गएका छन्। वनको बाघले खानै परेन, मनमै हिंस्रक बाघ पालेको छ भने।

बुद्धिलाई यो चिन्ता थियो, खाएको रकम तिर्ने कसरी? पैसा घरमा छैन। बैंकमा छ? बैंकमा पनि छैन। पत्नीका नाक–कानका छन्। राहत यो छ, सुनको भाउ अकासिएको छ। त्यति मात्रै बेचे पनि ५०–६० हजार आइहाल्छ। त्यो एउटा उपाय छ, उधारो तिरतारका।  कोरोनाभरि यतिभन्दा बढी कति खाइएला? तर, कोरोनाले पनि नछाड्ने सुनको भाउ पनि घटेको घट्यै भयो भने? अहिले नै बेच्न गए भाउ भेट्टाइएला नत्र यसै भन्न सकिन्न। धेरैबेर घोरिएपछि उसले नेट खोल्यो। नेटको रकम पनि तिर्नेबेला भएको छ। नेटै नभए फोटो मेल गरेर पठाऊ भनेर कसले फोटो माग्न सक्ला? त्यो पनि गतिलो। रचनै पठाउन सकिन्न। बुद्धिलाई केही लेखेर पठाउने सकसक लागिरहन्छ। नेट नभएपछि? पहिलेझैं पेनड्राइभमा राखेर पत्रिकाको कार्यालयसम्म जानुपर्ला। मास्क कसिकसाउ गरेर, सामाजिक दूरी कायम राख्दै। संक्रमण तीव्र छ। यो हुलमुलमा परियो भने कोरोना सर्न कति बेर? बुद्धिले सोच्यो, नलेखे पनि हुने हो। लेखेरै के भएको छ? अनि लेख्नै पर्ने के बाध्यता छ। कम्तीमा पनि पाठकहरू राहतको सास त फेर्नेछन्, एउटा गन्थनवाला त हट्यो। फोटो छापेको देखेर पाठकहरू झन् हाँस्लान्– लेख्नु कता हो कता फोटै छाप्ने ध्याउन्न छ।

त्यति सजिलो सोचले हुँदैन। सम्पादकले एउटा गतिलो फोटो मागेका छन्। कम्तीमा पनि पाठकहरू फोटो हेरेर आश्वस्त होऊन्– फोटो हेर्दा केही लेख्ला भनेजस्तो छ। त्यसैले फोटो छैन भनेर ठाडै जवाफ दिनुभन्दा एउटा शिष्ट जवाफ त सोच्नु पर्याे। सम्पादकलाई चित्त बुझाउन सक्ने जवाफ। ठाडो जवाफले फोटो मात्र देऊ त भनेको हो, पूरै सम्पत्ति मेरो नाउँमा लेखाइदेऊ भनेको हैन, सम्पादक झोँक्किएर यसो भन्न सक्छन्। भोलि यसो भन्न पनि सक्छन्– ‘जाबो एउटा गतिलो फोटो मागेको आकाशपाताल जोडेर जवाफ फर्कायो। अब के छाप्ने उसको रचना? जब फोटो नै छैन भनेपछि उसैले त्यो रचना लेखेको हो भन्ने कसरी प्रमाणित हुन्छ?’ 

उसका रचना अस्वीकृत गर्ने हजार बहाना यसरी जन्मिन सक्छन्। फोटोबारे जवापैm नदिई चुपचाप बस्दा के होला? भन्ठान्लान्, कतै कोरोना संक्रमित भएर आइसोलेसनमा गएछ। आइसोलेसनमा पनि हाउसफुल छ भन्छ सरकार। भेन्टिेलेटर वा आइसियुको कुरो त परै छ। त्यसका लागि पनि सोर्सफोर्स चाहिने भयो। नागरिकले आफ्नै घरमा बसेर आपैmँ उपचार गर्ने। मर्ने पनि आपैmँ। कोरोना राम्रै निहुँ हुनेछ, फोटो पठाउन नसक्नुको। सम्पादकका लागि निरापद सोच।

पाठकहरू निश्चय पनि यो चाहने छैनन्, लेखक कोभिड–१९ ग्रस्त भएर थला परोस्। तस्बिर देखेर हाँसे पनि पाठकहरू उसलाई चिन्छन।् र, यो कदापि चाहँदैनन्, ऊ कोरोना संक्रमित भएर दिवंगत होस्। दिवंगत हुनु त पछिको कुरो। अस्पतालमा भर्ना नलिएर यो अस्पतालदेखि त्यो अस्पताल, त्यो अस्पतालदेखि अर्को अस्पताल गर्दै दुःख पाएर डुलाउँदा डुलाउँदै प्राणान्त होस्। यायावर मरण हुनेछ। उसको पछिपछि पत्नी पनि आँसु पुछ्दै हिँडेकी होस्। अझ कान्छी छोरी हातले डोर्याएर। ऊ हुन सक्छ पिसिआर गराउन टेकुको अस्पतालमा किलोमिटर लामो लाममा रातभरि उभिएको होस्। बिहान पालो आउला भन्ने आशामा। बिहान भएपछि यो थाहा पाइयोस्, पिसिआर खत्तम भयो। समय साह्रै विकट छ। यद्यपि, एउटा ठूलै परिवर्तन आइहाल्नेजस्तो मन्त्रिमण्डलको हेरफेरको कुरो चलिरहेछ। राजनीतितिर पनि ऊ चाख राख्छ। एउटा तस्बिर खिचाउन सकेको छैन बुद्धिले। राजनीतिमा चाख राखेर पनि साध्य छैन। 

सम्पादकलाई जवाफ दिनु छ। यद्यपि सम्पादकले दोहोर्याएर फोटोको माग गर्दै मेल गरेका छैनन्। सम्पादकलाई फोटो पठाउन नसके पनि ऊ फोटोका लागि सचेत भएको छ– एउटा गतिलो फोटो जसले उसलाई मान्छे त्यति नराम्रो रहेनछ भनेर चिनाओस्। फोटो खिचाउने चिन्तामा परेको छ कथाकार बुद्धि। आजको दिन एउटै पनि राम्रो फोटो नहुुनु उसलाई अलि अस्वाभाविक लागेको छ। पाठकहरू यो सोच्न बाध्य हुन सक्छन्,अरूअरूको फोटो छाप्ने सम्पादकले कथाकार बुद्धिको एउटा फोटोधरि छापिदिएनन्। छापेको छ भने पनि यस्तो नचिनिने फोटो। सम्पादकीय लेखेर पाठकलाई सन्तुष्ट पार्न यो सूचना दिन सकिँदैन– कथाकार बुद्धि एक हठी व्यक्ति हुन्। अथवा यस्तो पनि लेख्न सकिन्छ– उनी आफ्नो प्रचार चाहँदैनन्। फोटो छापिँदैमा कति न प्रचार पाइन्छ र?

पूरा नाम बुद्धिप्रसादले यसो सोच्यो, फोटो त चाहिने नै हो। एउटा गतिलो फोटो जसलाई हेरेपछि पाठक यो भन्न सकोस् यो मान्छेलाई हामीले देख्ने गरेकै हो। आजभोलि बिहानबिहानै मास्क लगाएर हिँडे पनि यसलाई चिन्न सकिन्छ। कारण यो कि मास्क लगाउनुअघिदेखि हामीले यही टोलमा यसलाई देख्ने गरेकै हो। एकदमसित छेउ लागेर हिँड्ने। तरकारी किन्दा मोलमोलाइ नगर्ने। अरू के हो कि फलफूल  पनि कहिलेकाहीँ किन्ने गरेको देखिएकै हो। मिठाई पसलबाट जेरी पनिर औषधि पसलमा भीड नछाँटिएसम्म पछाडि बसेर औषधि किन्ने गरेको पनि देखिएकै हो। जेरी, तरकारी, औषधि र कहिलेकाहीँ फलफूल  किन्ने गरे पनि यति मात्र थाहा भएन यो मान्छेले कथा पनि लेख्छ। कथा पढ्न लायक छ वा छैन त्यो अर्कै पाटो वा बहसको अर्कै विषय हो। यो फोटोको मान्छे हाम्रै बीचमा यतिका दिनदेखि हिँडडुल गरिरहेको हामीले नोटिसै गरेका रहेनछौँ। कथासँगै तस्बिर छापिएपछि यो उसले नै लेखेको रहेछ भन्ने थाहा पाइएला। अनलाइन पत्रिकाहरूमा यति धेरै फोटो छापिन्छन् पाठक कुन अनुहारको को हो भन्ने हेक्का राख्न असमर्थ छ। तैपनि...।

डिमान्ड छ यो, एउटा गतिलो फोटो। उसले के अर्कै ह्यान्डसम मानिसको प्रतिनिधि फोटो पठाउने– कथाकार यही हो भनेर पाठकलाई मक्ख पार्न!

कात्तिक १, २०७७ शनिबार १३:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।