नवरात्रको पहिलो दिन : दुर्गापूजन आरम्भ
नौ दिनसम्म भवानीको आराधना गरेर दसौं दिनमा विसर्जन गरी प्रसादस्वरूप रातो टीका र जमरा लगाउनाले सौभाग्य वृद्धि हुने देवीभागवत मार्कण्डेय पुराण, स्कन्दपुराण आदिका प्रसंगबाट जानकारी हुन्छ।
वर्षमा चारवटा पवित्र नवरात्र भएको कुरा देवीभागवतमा उल्लेख छ। पौष, चैत्र, आषाढ र आश्विन शुक्लपक्षका प्रतिपदादेखि नवमीसम्मका नवरात्र देवीपूजनका अवसर हुन्। तीमध्ये पनि वसन्त र शरद् ऋतुका नवरात्रलाई विशेष मानिएको छ। हाम्रो समाजमा पनि आषाढ र पौषका नवरात्र खासै प्रचलनमा छैनन्। चैत्र र आश्विनका नवरात्र भने प्रचलनमा छन्। त्यसमा पनि आश्विनको (शारदीय) नवरात्र विशेष हर्षोल्लासका साथ मनाइन्छ।
चान्द्रमान अनुसार आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्मका नौ दिनलाई शारदीय नवरात्र भनिन्छ। घटस्थापना गरी दुर्गा भवानीको आराधना आरम्भ गरेर नौ रात्रिपछि दसौं दिनमा अनुष्ठान सम्पन्न हुने भएकाले यसलाई नवरात्र भनिएको हो। तान्त्रिक विधिअनुसार रातमा विशेष पूजा गरिने हुनाले ‘नवदिन’ नभनेर ‘नवरात्र’ भनेको देखिन्छ। नवरात्रको व्रत समापन गर्दै दशमीका दिन देवी विसर्जन गरेर टीका–प्रसाद ग्रहण गरिन्छ। यो अवसर नै विजयादशमीका रूपमा भव्यरूपमा मनाइन्छ। नवरात्रलाई नवदुर्गा, नौदुर्गा, नौरथा, दशहरा आदि नामले पनि चिनिन्छ।
नवरात्रका नौ दिनमा दुर्गा देवीका नौ स्वरूपको पूजा अर्चना गरिन्छ। देवीका ती नौ रूपको उल्लेख सप्तशतीअन्तर्गतको दुर्गाकवचमा यसरी गरिएको छ-
प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी ।
तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति चतुर्थकम् ।।
पञ्चमं स्कन्दमातेति षष्ठं कात्यायनीति च ।
सप्तमं कालरात्रीति महागौरीति चाष्टमम् ।।
नवमं सिद्धिदात्री च नवदुर्गा प्रकीर्तिता ।।
शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कूष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री दुर्गाका नौ रूप हुन्। यिनै नौ दुर्गाको पूजा नवरात्रमा क्रमशः गरिन्छ।
घटस्थापना र पूजा प्रारम्भ
शारदीय नवरात्रको पहिलो दिन आश्विन शुक्ल प्रतिपदा हो। यस दिन प्रत्येक शक्तिपीठ, देवीमन्दिर र श्रद्धालुहरूका घरघरमा दुर्गापूजन आरम्भ हुन्छ। श्रद्धालु पूजनकर्ता बिहान नित्यस्नान सन्ध्या गरि पूजास्थल (पूजाकोठा/यज्ञमण्डप/मन्दिर)मा जानुपर्छ। पूजास्थलमा आवश्यक पूजासामग्री र पूजाका लागि उच्च आसन वेदी÷खटिया तयार गरी दीप, कलश, गणेशको स्थापना र पूजा गरिन्छ।
नवरात्रमा प्रधान देवताका रूपमा देवीको पूजा हुने भएकाले वेदीको माझमा धान वा चामलमाथि सिँगारिएको जलपूर्ण घट÷कलश स्थापना गर्नुपर्छ। यसमा गङ्गाजल, जौ, तिल, कुश, पञ्चरत्न वा सिक्का, सप्तमृत्तिका वा तुलसीका मठको माटो, सर्वौषधि वा बेसार, सुपारी, दुबो राखी पञ्चपल्लव राखिन्छ र कलशको मुखमा पूर्णपात्र राखिन्छ। यही कलश स्थापना गर्नु नै घटस्थापना हो। यसै कलशमा नौ दिनसम्म देवीको पूजा हुन्छ।
पहिलो दिन स्थापना गरेको कलशलाई नौ दिनसम्म उठाउने चलाउने गर्नुहुँदैन। अघिल्लो दिन पूजा गरेका बिग्रन सक्ने सामग्री हटाएर प्रत्येक दिन त्यही कलशमा दुर्गाको पूजा गर्नुपर्छ। दशमीका दिन पूजा समाप्त भएपछि देवीलाई विसर्जन गरी कलशको जलले अभिषेक गरिन्छ र टीका-प्रसाद ग्रहण गरिन्छ।
शैलपुत्रीको पूजा
नवदुर्गाको पहिलो दिन प्रधान कलश (स्थापना गरेको घट)मा शैलपुत्रीको पूजा हुन्छ। शैलपुत्री भनेकी पार्वती हुन्। उनी भगवान् शंकरकी शक्ति हुन्। यिनैका शक्तिले भगवान् शंकरले सृष्टि संहार गर्छन्। दक्षपुत्री सतीदेवीका रूपमा अवतरण, दक्षयज्ञमा अग्निप्रवेश, हिमालयपुत्रीका रूपमा पुनः अवतरणका कथा यिनै शैलपुत्रीसँग सम्बन्धित छन्।
गोरो वर्णकी, अर्धचन्द्रको मुकुट लगाएकी, वृषभमा चढेकी, दायाँ हातमा त्रिशूल र बायाँ हातमा कमलपुष्प धारण गरेकी शैलपुत्री सेवकलाई मनोवाञ्छित फल प्रदान गर्छिन्।
दुर्गापूजामा देवीलाई आसन, पाद्य, अघ्र्य आदि षोडशोपचारले अथवा आफूसँग जेजस्तो पूजासामग्री उपलब्ध छ, त्यसैले पूजा गरिन्छ। पूजाको अन्त्यमा दही, अक्षता र मासको अथवा कुभिन्डो आदिको बलि दिइन्छ।
जमरा राख्ने
नवरात्रको पहिलो दिन जमरा राख्ने गरिन्छ। जमरा राख्नका लागि गमला, टपरी आदि उपयुक्त भाँडामा अथवा पूजास्थल नजिकै भुइँमा शुद्ध भूमिको माटो राखेर त्यसलाई चन्दन, अक्षता आदिले पूजा (मृत्तिका पूजा)गरिन्छ र भिजाएका जौ छरिन्छ। जमरा राम्ररी उम्रिन सकून् र पहेँला देखियून् भनेर हावा छिर्ने तर उज्यालो कम छिर्ने गरी माथिबाट टपरी वा कार्टुनले छोपिदिने पनि गर्छन्। जमरा राख्ने काम पूजाअघि वा पछि पनि गर्न सकिन्छ।
कुमारी पूजा
दुर्गा पूजा गरेपछि कुमारी पूजा गर्नुपर्ने शास्त्रीय विधान छ। नवदुर्गाका नौ दिनमा दुई वर्षदेखि दश वर्षसम्मका नौवटी कुमारीको पूजा हुन्छ। पहिलो दिन दुई वर्षकी, दोस्रो दिन तीन वर्षकी, तेस्रो दिन चार वर्षकी गर्दै क्रमैसँग नौ दिनसम्म एकएक वर्षवृद्धिका दरले कुमारी कन्याको पूजा गर्नुपर्छ।
दुर्गामा पूजिने नौ कन्याहरूका अलग अलग नाम छन् । ती हुन्- १) कुमारी २) त्रिमूर्ति ३) कल्याणी ४) रोहिणी ५) काली ६) चण्डिका ७) शाम्भवी ८) दुर्गा र ९) सुभद्रा। यसअनुसार पहिलो दिन पूजा गरिने कन्याको नाम कुमारी हो। घटस्थापनाका दिन कुमारीको पूजा अर्चना गरी टीका, दक्षिणा, भोजन दिएर उनलाई प्रसन्न पारिन्छ।
देवीमाहात्म्य पाठ
दुर्गापूजन गरेपछि आफै वा ब्राह्मण वरण गरेर देवीभागवत, सप्तशती आदि देवीका माहात्म्य पाठ गर्ने शास्त्रीय विधान हो। श्रद्धावान् र सक्षम भक्तले यो शास्त्रीय विधि पालना गर्नुपर्छ। सम्भव नभएमा नवार्ण मन्त्र ‘ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे’ जप गर्ने र देवीका स्तोत्र पाठ, भजन, कीर्तन गर्न सकिन्छ।
दुर्गाको सवारी
नवरात्र कुन बारदेखि सुरु हुन्छ, त्यसैका आधारमा दुर्गा कस्तो वाहनमा चढेर सवारी हुने भन्ने निर्धारण हुन्छ। यो उत्तरपौराणिक परम्परा हो। यसमा ठूलो जनविश्वास छ। शब्दकल्पद्रुममा दुर्गासवारीको मान्यतालाई यसरी उल्लेख गरिएको छ–
रवाविन्दौ गजारूढा शन्यङ्गारे तुरङ्गमे ।
नौकया गुरुशुक्राभ्यां दोलया बुधवासरे ।।
नवरात्र रविबार वा सोमबारदेखि सुरु भयो भने दुर्गाको सवारी हात्तीमा चढेर हुन्छ। शनिबार वा मंगलबारदेखि सुरु भयो भने घोडामा चढेर हुन्छ। गुरुवार वा शुक्रबारदेखि सुरु भए नौकामा सवारी हुन्छ र बुधबारदेखि सुरु भएमा डोली चढेर सवारी हुन्छ।
दुर्गाको सवारी कस्तो वाहनमा हुने हो त्यसै अनुसारको फल पनि बताइएको छ। यसपल्ट शनिबारदेखि नवरात्र सुरु हुने भएकाले दुर्गाको सवारी घोडामा भएको छ । घोडामा सवारी हुँदा फल छत्रभंग अर्थात राजनीतिक अस्थिरता हुने उल्लेख छ। दुर्गा पूजा, देवी माहात्यम पाठ र विष्णुको पुजा गर्नाले अशुभ फल नास हुने ज्योतिष शास्त्रमा बताइएको छ।
घटस्थापनाको साइत
यस वर्ष २०७७ कात्तिक १ गते शनिबार घटस्थापना परेको छ। यसै दिनदेखि नवरात्रको आरम्भ हुन्छ। सामान्यतया जगज्जननी दुर्गा माताको श्रद्धा भक्तिपूर्वक पूजा–अर्चना गर्न आफ्नो अनुकूलताले जुनसुकै समयमा मिल्छ। तापनि ११ः४६ मा अभिजित मुहूर्त हुने भएकाले नेपाल पञ्चाङ्ग निर्णायक समितिले समेत सोही समय घटस्थापनाको साइत भएको सूचना सार्वजनिक गरेको छ। सम्भव हुनेले सोही समयमा घटस्थापना गर्नु शुभ हुनेछ।
दुर्गापूजामा शुद्धता
दुर्गापूजनको प्रमुख उद्देश्य शक्तिआर्जन गर्नु हो। यसका लागि शारीरिक, मानसिक र वचनगत शुद्धता आवश्यक हुन्छ। स्नान, सन्ध्या, शुद्ध भोजन, ब्रह्मचर्यको पालना, भूमिशयन आदि नियमको पालना गर्नाले शरीर शुद्ध हुन्छ। भगवद्भक्ति, मन्त्र जप, देवीका गुणानुवादको श्रवण, कीर्तन, पाठ, सबैको कल्याण–कामना गर्नाले मानसिक शुद्धता प्राप्त हुन्छ। त्यस्तै, सत्य वचन, मृदु वचन र थोरै बोल्ने गर्नाले वचनगत शुद्धता प्राप्त हुन्छ। नवरात्र व्रत र दुर्गापूजनको सच्चा फल आचरणशुद्धिबाट मात्र हुने भएकाले आचरणशुद्धिमा सकेसम्म ध्यान पुर्याउनु श्रेयस्कर छ।
कात्तिक १, २०७७ शनिबार ०१:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।