अनुसन्धानको संस्कृति बसाल्न ‘मेयर्स रिसर्च फेलोसिप’

अनुसन्धानको संस्कृति बसाल्न ‘मेयर्स रिसर्च फेलोसिप’

नीति–निर्माण तहमै अनुसन्धानको संस्कृति बसाल्दै कार्यान्वयन तहमा लैजान पहिलो चरणमा विभिन्न १० विधामा १० जनालाई फेलोसिप प्रदान गरिएको महानगरले जानकारी दिएको छ।
शुक्रवार काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालको उपस्थितिमा फेलोसिप सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ।
शाक्यले आगामी वर्ष नीति तथा कार्यक्रममै समावेश गरी कार्यान्वय चरणमा लैजान सहज हुने गरी व्यवहारिक पक्षलाई समेत ध्यानमा राखेर अनुसन्धान तयार पार्न सुझाव दिए।
अनुभवी व्यक्तिले तयार पार्ने अनुसन्धान व्यवहारिक रुपमा कार्यान्वयनको सन्दर्भमा सान्दर्भिक हुने विश्वास उनले व्यक्त गरे। प्रमुख प्रशासकीय अधिकृत अर्यालले सबै स्थानीय तहका लागि उदाहरणीय हुने खालको अनुसन्धानको अपेक्षा रहेको बताए। 
उनले युवा अनुसन्धानकर्तालाई उत्साह प्रदान गर्ने उदेश्यले महानगरपालिकाले नया कार्यको थालनी गरेको जानकारी दिए।
सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले नेपालमा यस्ता खालका अनुसन्धानको चलन निकै कम रहेको भन्दै काठमाडौँ महानगरपालिकाले यस्तो सुरुवात गर्नु आफैमा गौरवको कुरा भएको बताए। ‘
सम्झौता अनुसार अनुसन्धानकर्ताले बढीमा ६ महिनाभित्र अनुसन्धानकार्य सम्पन्न गर्नुपर्ने छ। अनुसन्धानको क्रममा वौद्धिक चोरी गर्न निषेध गरिएको छ भने चोरी भएको पाइएमा प्रथम पक्षले फेलोसिप तुरुन्त खारेज गरी निर्धारित रकम जफत गर्ने सम्झौतापत्रमा उल्लेख गरिएको छ। अनुसन्धानका लागि महानगरपालिकाले प्रत्येक विधामा १ लाख ५० हजार दिने पनि सम्झौतामा उल्लेख गरिएको छ।
पहिलो चरणमा ‘काठमाडौँ महानगरपालिका क्षेत्र भित्र रहेका विद्यालयमा गैरसंक्रामक रोग सम्बन्धी जोखिम र स्वस्थ जीवनशैली सम्बन्धी नीति अध्ययन, पैदल यात्रीका कारण स्थानीय अर्थतन्त्र र जीविकामा परेको प्रभावः काठमाडौँको ठमेल क्षेत्रको अध्ययन, काठमाडौँ उपत्यका भित्र दिगो जोखिम न्यूनीकरण गर्नका लागि निलो पूर्वाधार म्यापिङ, सम्बन्धी अध्ययन, काठमाडौँ उपत्यका भित्रको वायु गुणस्तर र वायु प्रदुषण संयन्त्र सम्बन्धि विश्लेषण अध्ययन, काठमाडौँका सामुदायिक विद्यालयका महिला प्राध्यापकहरुको अनुभवको मात्रात्मक अध्ययन छनोटमा परेका छन्। 
त्यतै पहिलो चरणमै विश्व जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि काठमाडौँ उपत्यका रिङरोड क्षेत्रको बायोमास र कार्बोन स्टक सम्भाव्यता वृक्षारोपण सम्बन्धी अध्ययन, महानगरपालिकाका जेष्ठ नागरिकहरुको जीवनको गुणस्तर सम्बन्धी कानुन, नीति र प्रमाण सम्बन्धी अध्ययन, नविन परिवर्तन हबको रुपमा विकास गर्न स्टेम शिक्षाको आवश्यकता सम्बन्धी अध्ययन, नेवार समुदायमा रहेको गरिबी र सम्भावित निवारणका पद्धति सम्बन्धि अध्ययन पनि छनोट भएका छन्।
महानगरपालिकाको शहरी विकास व्यवस्थापन (योजना तर्जुमा देखि कार्यान्वयनसम्म) मा संचारको भूमिका र प्रभावकारिता अभिवृद्धि सम्बन्धि अनुसन्धान प्रस्तावना पनि छनोटमा परेको छ। १० विधामा अनुसन्धानका लागि प्रतिक खनाल, कृति प्रधान, सुरज गौतम, राजीब पोखरेल, सम्राट बस्याल, नबिन राज जोशी, कृपा सिग्देल, मनिष मान श्रेष्ठ, रबिन्द्र के सुवाल, गोपी कृष्ण ढुगानासँग सम्झौता भएको छ।

असोज ३०, २०७७ शुक्रबार २०:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।