उद्घाटन पर्खाइमा रानीपोखरी

उद्घाटन पर्खाइमा रानीपोखरी
भूकम्पमा क्षतिग्रस्त काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर पुनःनिर्माणका क्रममा गजुर राखिँदै। फाइल तस्बिर।

काठमाडौं : काठमाडौंको रानीपोखरी पुनःनिर्माण लगभग सकिएपछि उद्घाटनको पर्खाइमा छ। 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अनुसार रानीपोखरी पुनःनिर्माण ९९ प्रतिशत सकिएको छ। 

प्राधिकरणका इन्जिनियर राजुमान मानन्धरका अनुसार रङरोगन र सरसफाइको केही काम बाँकी छ। अहिले रानीपोखरी चारैतिर रेलिङ निर्माण भइरहेको उनले बताए। 

यी काम सकिएपछि तिहारअघि रानीपोखरी उद्घाटन गर्ने तयारी रहेको उनको भनाई छ। ‘तर, उद्घाटन मिति यकिन भइसकेको छैन,’ उनले भने। 

रानीपोखरी उद्घाटनपछि काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गरिने मानन्धरले बताए। 

रानीपोखरीको बालगोपालेश्वर मन्दिर पुरानै (ग्रन्थकुट) शैलीमा पुनःनिर्माण गरिएको छ। रानीपोखरीको सतहमा कालो माटो र इँटा प्रयोग गरिएको छ। रानीपोखरीमा तीन करोड लिटर पानी राखिएको छ। 

रातमा झिलिमिली 

रानीपोखरी रातमा झिलिमिली देखिने गरेको छ। चारैतिर बल्ब जडान गरिएपछि रानीपोखरी झिलिमिली भएको हो। 

भाइटीकामा बालगोपालेश्वर मन्दिर खुला

रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर भाइटीकामा सर्वसाधारणका लागि खुला गरिँदै छ। मन्दिर उक्त दिन मात्र खुला गर्ने तयारी भएको इन्जिनियर मानन्धरले बताए। 

रानीपोखरी २०७२ वैशाखको भूकम्पमा क्षतिग्रस्त भएको थियो। त्यसको करिब ९ महिनापछि २०७२ माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनःनिर्माणको शिलान्यास गरेकी थिइन्। 
 

असोज ३०, २०७७ शुक्रबार १४:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।