‘सामुदायिक विद्यालयमा विद्यार्थी बढाउन गुणस्तर सुधार्नु पर्छ’
काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सामुदायिक विद्यालयले विद्यार्थी बढाउन गुणस्तर सुधार गर्नु पर्ने आवश्यकता औंल्याएका छन्।
शिवपुरी माविको ७२ औंं वार्षिकोत्सव समारोहमा शुक्रबार बोल्दै प्रमुख शाक्यले यस्तो बताएका हुन्।
सामुदायिक विद्यालयले चुम्बकीय गुणको विकास गरेर संस्थागत विद्यालयभन्दा गुणस्तरीय शिक्षा दिने वातावरण निर्माण गर्नु पर्नेमा उनले जोड दिए।
‘निजी क्षेत्रका विद्यालयले जसरी विद्यार्थी र अविभावकलाई आकर्षित गरिरहेका छन्। अब त्यसैगरी विस्तारै सामुदायिक विद्यालयले पनि चुम्बकीय गुणको विकास गर्नु पर्छ,’ शाक्यले भने, ‘संस्थागत विद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो भनेर गुनासो गर्ने होइन, त्योभन्दा राम्रो र गुणस्तरीय शिक्षा दिएर विद्यार्थीको भविष्य बनाउँछौं भन्ने ग्यारेण्टी सामुदायिक विद्यालयले दिन सक्नु पर्छ। त्यो भयो भने सामुदायिकमा स्वतः विद्यार्थीको चाप बढ्छ।’
शाक्यले सामुदायिक विद्यालयका प्रअले संस्थागत विद्यालयलाई निषेध होइन, विद्यालयको पठनपाठनमा ध्यान दिइ गुणस्तरबारे विद्यार्थी र अविभावकलाई विश्वस्त बनाउनु पर्नेमा जोड दिए।
‘सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर निजी विद्यालयसँग समान बनाउने हो भने गुणस्तरीय शिक्षा खोज्दै अविभावकले चर्को शुल्क तिर्नु पर्ने बाध्यता स्वतः अन्त्य हुन्छ,’ उनले भने, ‘हामी बजारमा केही वस्तु किन्न जाँदा कसैले गुणस्तरीय वस्तु सस्तोमा दियो भने महँगोमा किन्न जाँदैनौं, शिक्षा पनि त्यही हो।’
उनले विद्यालय शिक्षा स्थानीय तहको जिम्मेवारीमा आएपछि विद्यालय सुधारका केही प्रयासहरू गरेको पनि जानकारी दिए। उनले भित्री सुधारको पाटो शिक्षककै भएको भन्दै शिक्षा समिति, विभाग र नगरसभाले निर्णय गरेर काठमाडौं महानगरपालिका क्षेत्रका सम्पूर्ण सामुदायिक विद्यालयको भौतिक पूर्वाधार निर्माणको जिम्मा महानगरपालिकाले लिएको पनि जानकारी दिए।
उनले सामुदायिक विद्यालयका शिक्षकलाई शैक्षिक गुणस्तरमा संवेदनशील पनि आग्रह गरे। उनले गुणस्तरीय शिक्षाका लागि आवश्यक पर्ने नीति महानगरले बनाउने भन्दै स्रोतको समस्या नभएको प्रष्ट पारे।
प्रमुख शाक्यले विद्यालयमा स्थापना गरिएको सूचना प्रविधि प्रयोगशालाको उद्घाटन गरे। दूरसञ्चार प्राधिकरणको सहयोगमा २४ वटा कम्प्युटरसहितको प्रयोगशाला स्थापना गरिएको हो।
‘विद्यालयमा शौचालय बनाउने, धुलोमुक्त खेल मैदानका लागि पूर्वाधार तयार पार्ने, विद्यालयलाई आकर्षक बनाउन रंग लगाउने, महावाणी र भित्ते चित्र लेखन गर्नेलगायत काममा हामीले लगानी गरिरहेका छौं। सामुदायिक विद्यालयको स्तर उकास्न विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन, शिक्षक र अभिभावक सबै मिलौं,’ प्रमुख शाक्यले भने।
उनले महानगरपालिका सूचना प्रविधिमा आधारित शैक्षिक कार्यक्रममा केन्द्रित रहेको पनि बताए। समारोहमा बोल्दै विद्यालयका प्रधानाध्यापक दिवाकर दूरदर्शीले भने, ‘हामी विद्यालयको सूचना प्रविधि प्रयोगशालालाई नमुना र सिकाइ प्रयोगशालाका रूपमा विकास गर्न चाहन्छौं।’
समारोहमा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष, सेवा निवृत्त शिक्षकलाई सम्मान गरिएको थियो। त्यस्तै, विद्यालयमा २५ वर्ष सेवा अवधि पूरा गर्ने शिक्षकलाई शिवपुरी शिक्षा सेवा पदक उत्कृष्ट शिक्षा सम्मान गरिएको थियो।
विद्यालयले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा उत्कृष्ट काम गरेको जनाउँदै वडा ३ का वडाअध्यक्ष दीपक केसीलाई विशेष सम्मान गरेको थियो। विद्यालयमा कक्षा १२ सम्म करिब १ हजार ३ सय विद्यार्थी छन्।
असोज ३०, २०७७ शुक्रबार १३:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।