बट्टाईपालनको लहर 

बट्टाईपालनको लहर 
आफूले खोरमा पालेको बट्टाई देखाउँदै मोरङ, झोडाहाटका भरत गुरागाईं।

विराटनगर : थोरै लगानीमा राम्रो आम्दानी हुने भएपछि मोरङ, झोडाहाटका भरत गुरागाईंले बट्टाईपालन सुरू गरेका छन्। 

साहित्य, नाट्यकलामा रुचि राख्ने गुरागाईं कोरोना भाइरस (कोभिड-१९) संक्रमणको महामारी नियन्त्रणका लागि लगाइएको लकडाउन र निषेधाज्ञाका कारण नाटकघर बन्द भएपछि नयाँ व्यवसाय गर्ने सोचका साथ बट्टाईपालनमा लागेका हुन्। 

‘अन्य क्षेत्रलाई झैं नाट्य क्षेत्रलाई पनि कोरोनाले असर पारेपछि झोराहाटस्थित नाटक घरमा ताला लगाएर आफ्नै घरमा बट्टाईपालन सुरू गरेको छु,’ गुरागाईंले भने।  

कोरोनाले निम्त्याएको आर्थिक समस्यालाई समाधान गर्न बट्टाई पाल्न थालेको उनले बताए। 

सय वटा बट्टाईबाट व्यवसाय सुरू गरेका  गुरागाईंको खोरमा अहिले पाँच सय बट्टाई छन्। उनले पालेका बट्टाईले अण्डा पार्न थालेका छन्। यसको अण्डा प्रतिगोटा ७ रूपैयाँमा बिक्री हुने गरेको छ।

यस्तै, एउटा भाले बट्टाई दुई सय र पोथी बट्टाई साढे दुई सय रूपैयाँमा बिक्री हुने गरेको किसान बताउँछन्। 

अण्डा र मासुको माग धेरै भएकाले बिक्रिका लागि समस्या नरहेको गुरागाईंले बताए। बट्टाईपालन व्यवसाय फस्टाउँदै गएपछि उत्साहित बनेका गुरागाईंले घरमै चल्ला उत्पादन गर्ने योजना बनाएका छन्। 

चल्ला उत्पादनका लागि ह्याचिङ मेसिन र जेनेरेटरसमेत खरिद गरिसकेको गुरागाईंले बताए। 

ह्याचिङ मेसिनमा अण्डा हालेको १५ देखि १७ दिनसम्म चल्ला उत्पादन हुन्छ। प्रतिगोटा चल्लाको मूल्य ४० रूपैयाँ पर्छ। तर, चल्लाको माग बढी भएका कारण आफूले थप बट्टाई खोरमा लगाउन नपाएको उनले बताए।

‘चल्ला अभाव भएकै कारण आफैंले चल्ला उत्पादन गर्ने तयारी गरेको हुँ,’ उनले भने।

चल्ला उत्पादन गरेर चाडै नै पाँच हजार बट्टाई पाल्ने तयारी गरेको गुरागाईंले बताए। त्यसका लागि खोरसमेत तयार पारिसकेको उनले बताए। उत्पादन गर्न सके अण्डाको माग बजारमा अत्यधिक रहेको उनको भनाइ छ। 

बट्टाईको अण्डा खाँदा थाइराइड, दम, मुटुलगायतका समस्या कम हुने भएकाले पनि बट्टाईको अण्डाको माग अत्याधिक भएको हो। 

गुरागाईंले मात्रै होइन, विराटनगर र आसपासका क्षेत्रमा धेरैले बट्टाईपालन गरेका छन्। थोरै ठाउँमा पनि बट्टाईपालन गर्न सकिने र घरमै मासु र अण्डा सजिलै उत्पादन गर्न सकिने भएकाले बट्टाईपालनमा आकर्षण बढेको हो। 

यति मात्रै होइन, बट्टाईको मासु र अण्डा बिक्री गरेर घर खर्चसमेत चलाउन सकिने भएकाले बट्टाई पाल्न चाहनेको संख्या बढ्दो छ।

बट्टाईपालनका लागि ज्यादा मिहिनेत नपर्ने र लगानी पनि धेरै नचाहिने विराटनगर –३ का शम्भु नेपाल बताउँछन्। 

उनले घरको छतमा खोर बनाएर बट्टाई पाल्न थालेका हुन्। आफूले बट्टाईपालन सुरू गरेपछि छिमेकीहरूले पनि बट्टाई पाल्न थालेको
उनले बताए। 

‘बट्टाईपालन गरेको फोटो फेसबुकमा राखेपछि यसबारे धेरैले जानकारी लिएका छन्,’ उनले भने, ‘केहीले पाल्न पनि थालिसकेका छन्।’

बट्टाईपालनको लहर सुरू भएपछि मोरङ बुढीगंगाका तेजेन्द्र दाहालले पनि बट्टाईपालनको तयारी गरेको बताएका छन्। उनले बट्टाई पालनका लागि खोरसमेत तयार पारिसकेको बताए।

असोज ३०, २०७७ शुक्रबार ००:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।