कर्मचारीमा कोरोना संक्रमणले प्रदेश २ का कार्यालय धमाधम बन्द

कर्मचारीमा कोरोना संक्रमणले प्रदेश २ का कार्यालय धमाधम बन्द

जनकपुरधाम : सरकारी कर्मचारीहरु कोरोना संक्रमित हुन थालेपछि प्रदेश २ का कार्यालयहरु नै बन्द गर्न थालिएको छ।
 

लकडाउन खुलेपछि प्रदेशका दर्जनौ कर्मचारी कोरोना संक्रमित भएका छन्। धनुषाका नापी कार्यालयका नापी अधिकृतसहित सो कार्यालयका २९ जना कर्मचारी संक्रमित भएका छन्।

कर्मचारी संक्रमित भएपछि कार्यालय बन्द गरिएको छ। अधिकृतलाई संक्रमण भएपछि शुरुमा तीन दिनका लागि कार्यालय बन्द गरिएको थियो। 

पछि पुरै कर्मचारीमा संक्रमण देखिएपछि कार्यालय पूर्णरुपमा बन्द छ। 

अत्यधिक मात्रामा सेवाग्राहीको भीड रहने नापी कार्यालयका संक्रमित कर्मचारीको सम्पर्कमा रहेका अधिकांश सेवाग्राही पनि जोखिममा रहेकाले सतर्क रहन कार्यालयले आग्रह गरेको छ।

एकैपटक एउटै कार्यालयका २९ जना कर्मचारीमा संक्रमण देखिएको देशकै पहिलो घटना हो। 

सर्लाहीमा प्रमुख जिल्ला अधिकारीसहित जिल्ला प्रशासन कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि एक हप्ताका लागि जिल्ला प्रशासन कार्यालय पनि बन्द गर्ने निर्णय गरिएको छ।

शान्ति सुरक्षा र विपद् व्यवस्थापनका कामबाहेक जिल्ला प्रशासन कार्यालय एक हप्ता सम्मको लागि बन्द गर्ने निर्णय गरिएको हो। 

केही दिन अघि जिल्ला प्रशासन कार्यालयका एक जना नायव सुब्बामा कोरोना संक्रमण पुष्टि भएपछि असोज २२ गते जिल्ला प्रशासन कार्यालयका कर्मचारी सहित ७१ जनाको स्वाब कोरोना परिक्षणको लागि संकलन गरिएको थियो।

जसमध्ये ११ जनामा कोरोना पोजेटिभको पुष्टि भएको छ। सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, एक जना प्रसासकीय अधिकृतलगायत जिल्ला प्रशासन कार्यालयका ५ जना कर्मचारी रहेको जिल्ला प्रशासन कार्यालयका प्रसासकीय अधिकृत रामप्रमोद यादबले जानकारी दिए। 

सिरहाको कारागारको अवस्था पनि उस्तै रहेको छ। जेलका अधिकांश कैदी कोरोना संक्रकित छन्। 

सिरहा जिल्ला कारागारमा रहेका ५ सय ९९ कैदीबन्दी मध्ये ५ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

कारागार कोरोनाको ‘हटस्पट’ मात्र भएको छैन, सिंगो कारागारलाई नै आइसोलेसन बनाउनु परेको छ।

सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलका अनुसार संक्रमित भएका मध्ये अधिकांश सुधारोन्मुख छन्। 
भदौको अन्तिम साता र असोजको पहिलो सातामा कारागारमा कोरोना संक्रमण फैलिएको थियो।

जनकपुरधामका वरिष्ठ चिकित्सक डा. एसके सिंहले कारोनाप्रति सर्तकता नअपनाइए अवस्था गम्भीर हुने बताए।

सरकार कार्यालय मात्रै होइन हाटबजार, चौक सबैठाउँमा त्यतिकै भीड बढेको छ। प्रदेश २ मा अहिले राजनीतिक गतिविधि बढेको छ। दिनदिनै पार्टी प्रवेशका कार्यक्रमहरु भैरहेका छन्।

समाजिक दुरी पनि कसैले पालना गरिरहेका छैनन्। प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ५३ पुगेको छ। 

प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ३ सय २१ रहेको छ। प्रदेश २ मा सक्रिय संक्रमितको संख्या १ हजार ८ सय ७५ रहेको छ।

सामाजिक विकास मन्त्री नवलकिशोर साहले संयमता अपनाउन सबैसंग आग्रह गरे। स्थितिलाई नियन्त्रणमा ल्याउन सबैको सहयोगको आवश्यक्ता रहेको उनले बताए।
 

असोज २९, २०७७ बिहीबार १२:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।