कर्णालीमा चाडपर्व लक्षित सुरक्षामा साढे तीन हजार प्रहरी परिचालन
सुर्खेत : चाडपर्व लक्षित सुरक्षाका लागि कर्णाली प्रदेशमा तीन हजारभन्दा बढी प्रहरी परिचालन गरिने भएको छ। आउँदै गरेका दसैं, तिहार तथा छठ पर्वका समयमा हुनसक्ने आपराधिक गतिविधिलाई नियन्त्रण गर्न प्रहरीले यस्तो गर्न लागेको हो।
चाडपर्वका समयमा हुनसक्ने चोरी,लुटपाट, झैझगडा, जुवातासलगायतका अपराधिक गतिविधि नियन्त्रणका लागि कर्णाली प्रदेश प्रहरीले प्रदेश भर तीन हजार सात सय ९७ जना प्रहरीलाई खटाएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार राजमार्ग सुरक्षा तथा ग्रामिण गस्ती(मोबाइल गस्ती) का लागि एक सय ९० स्थानमा प्रहरी खटाइएको छ। २८ स्थानमा नियमित चेक प्वइन्ट, ट्राफिक प्रहरीसहित आकस्मिक चेक प्वाइन्ट ३९ स्थानमा, यात्रु सहायता कक्षा २४ स्थानमा, पिकेट ७४ स्थानमा, झैझगडा, चोरी, लुटपाट, जुवातास, माद्यक पदार्थ सेवन नियन्त्रणका लागि ६७ स्थानमा प्रहरीको टोली खटाइएको छ।
अपराधिक गतिविधि हुनसक्ने जोखिम क्षेत्र मुल्यांकन गर्दै प्रदेशभर हरेक जिल्लामा कमाण्ड सेन्टरको समेत स्थापना गरिएको छ। ती कमाण्ड सेन्टर अन्तर्गत ११ वटा विषयमा फरक–फरक कार्यविभाजन गरी चार सय ९० वटा प्रहरीको फरक–फरक टोली परिचालित हुनेछन्।
यसैगरी धार्मिक तथा पर्यटकीय स्थल सुरक्षाका लागि २० स्थानमा, १७ स्थानमा बजार अनुगम टोली, बैंक तथा बित्तिय संस्था तथा आर्थिक कारोबार बढी हुने ३१ स्थानमा प्रहरीको टोली खटाइएको छ।
प्रहरीले आवश्यकता अनुसार राजमार्ग स्कटिङ, र क्वारेन्टाइन तथा आइसोलेसन सुरक्षा ड्युटीको व्यवस्थासमेत मिलाएको छ।
साथै प्रहरीले यसपटक सडकमा हुनसक्ने दुर्घटना तथा जोखिम नियन्त्रणका लागि ‘राडार गन’को समेत प्रयोग गरिने जनाएको छ।
प्रहरीले सडक सुशासन र सार्वजनिक यातायात साधनहरूको सहज आवागमन तथा दुर्घटना न्युनिकरणका लागि उच्चतम प्रविधिको राडार गनको प्रयोग गर्ने भएको हो।
यसका साथै खाद्यान्न लगायत अत्यावश्यक वस्तुहरुको मिसावट, कालोबजारी रोकथाम तथा सहज आपूर्ति व्यवस्थालगायतमा प्रहरीको चाडपर्व सुरक्षा लक्षित कार्ययोजनाहरू रहेका छन्।
चाड पर्वको अबसरमा हुन सक्ने चोरी तस्करी तथा लागु औषधको ओसार पसार नियन्त्रण, जुवातास, डाइस (लङगुर गुर्जा), कौडा खेल्ने जस्ता प्रवृत्ति नियन्त्रण, पटका लगायतका अन्य बिष्फोटक प्रदार्थहरुको आयात र प्रयोगलाई नियन्त्रण, तिहारको समयमा हुन सक्ने झैझगडालगायतका विषयमा प्रहरी विषेश रुपमा परिचालित हुनेछ।
असोज २९, २०७७ बिहीबार १२:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।