नागरिकता लिनेलाई सचेतना कक्षा

नागरिकता लिनेलाई सचेतना कक्षा
जिल्ला प्रशासन कार्यालय, अछाममा नागरिकता लिन आएका युवालाई सचेतना कक्षा चलाइँदै।

काठमाडौं : जिल्ला प्रशासन कार्यालय, अछाममा नेपाली नागरिकताको प्रमाणपत्र लिन आएका युवाहरु नागरिकता हात पर्यो कि दायाँबायाँ नहेरी घरतिर कुलेलम ठोक्थे।

यो प्रक्रिया गत साउनसम्म चल्थ्यो। अहिले भने नागरिकताको प्रमाणपत्र हात परे पनि तुरुन्तै घरतिर हिँड्न पाइँदैन।

नागरिकताको प्रमाणपत्र हात परेपछि पनि केहीबेर सचेतना कक्षा लिएर मात्र घरतर्फ जानुपर्ने भएको छ।

जिल्ला प्रशासन कार्यालयले नागरिकता पाउने युवाहरुका लागि नागरिकता सचेतना कक्षा चलाउन थालेको छ।

प्रशासनले गत भदौबाट यो कक्षा सुरु गरेको हो। गोकर्णप्रसाद उपाध्याय अछामको प्रमुख जिल्ला अधिकारी भएर भदौ १ गते हाजिर भएपछि उनैले नागरिकता सचेतना कक्षा सुरु गरेका हुन्।

नागरिकताको प्रमाणपत्र हात पारेसँगै युवाहरुले नागरिकताको परिचय, यसको महत्त्व, संरक्षण, सदुपयोग, दुरुपयोगबारे सचेतना पाउँछन्।

१६ वर्ष पुगेपछि नागरिकता पाए पनि त्यसको महत्त्वबारे बुझ्न र नागरिक भएर उसले निर्वाह गर्नु पर्ने कर्तव्यबारे बोध गराउनु जरुरी भएकाले सचेतना कक्षा सञ्चालन गरिएको प्रजिअ उपाध्यायले बताए।

‘भदौ १ गते कार्यालयमा हाजिर भएको दिन ३१ वटा नागरिकताको प्रमाणपत्र बाँडिए,’ उपाध्यायले सुनाए, ‘नागरिकता पाउने सबैलाई जम्मा गरेर नागरिकताको महत्त्वबारे जिज्ञासा राखेँ। अधिकांशले अनभिज्ञता जनाए।’

त्यसै दिनबाट उनले नागरिकता लिने व्यक्ति र साथमा आउने अभिभावकलाई सचेतना कक्षा दिएर पठाउने अभियानको थालनी गरेका हुन्।

कार्यालयले एक पटकमा १५–२० जनाको फाराम संकलन गरेर नागरिकता तयार गर्छ।

उपाध्यायका अनुसार प्रमाणपत्र तयार भएकाहरुलाई कार्यालयको प्रांगणमा जम्मा पारेर सुरुमा नागरिकता पाएर देशको वैधानिक नागरिक भएकोमा सबैलाई बधाई दिइन्छ।

नागरिकताको जीवनमा महत्त्व, यसको उपयोगिता, सुरक्षा र संरक्षणका उपाय तथा यसको दुरुपयोेग गर्दा हुने कानुनी सजायका बारेमा उनीहरुलाई सचेत गराइन्छ।

र, आफूले पाएको नागरिकतामा कुनै त्रुटि भए नभएको हेर्न लगाउँदै जिज्ञासा भए सोधेर बिदा गरिन्छ। 

‘नागरिकता जस्तो महत्त्वपूर्ण कुरा पाउँदा नागरिकलाई गर्व महसुस गराइन्छ,’ उपाध्यायले भने, ‘यसो गर्दा दुरुपयोग हुने सम्भावना न्यून हुने विश्वास लिएका छौं।’

अभियानअन्तर्गत कहिले प्रजिअ उपाध्याय आफूले त कहिले अन्य कर्मचारी, जिल्ला समन्वय समितिका संयोजक, जिल्ला प्रहरी प्रमुख, विभिन्न पालिकाका प्रमुखलाई बोलाएर सचेतना कक्षा चलाइने गरिएको छ। 

पछिल्लो दुई महिनामा एक हजार दुई सय बढीले नयाँ नागरिकताको प्रमाणपत्र लिएको प्रशासनको तथ्यांक छ।

पहाडी जिल्ला अछाममा नागरिकतासम्बन्धी थुप्रै समस्याहरु रहेको उपाध्यायले बताए।

अधिकांश पुरुष कामको सिलसिलामा भारतमा हुने भएकाले छोराछोरीको नागरिकताको सनाखतका लागि अन्य आफन्त र छिमेकी आउने गर्छन्। 

वडाअध्यक्षहरुले समेत कानुनले दिन नमिल्ने व्यक्तिको नाममा सनाखत गरेर पठाउने समस्या रहेको उपाध्यायले सुनाए।

‘हामीले चिनेकै अनुसार सनाखत गराएर पठाउँछौं। जसरी पनि नागरिकता पाउनुप र्छ भन्ने सोच वडाअध्यक्षको रहेको पाइयो,’ उपाध्यायले भने, ‘कानुनले नमिल्ने कुरा उहाँहरुबाट भइरहेको छ।’

नागरिकताको सनाखतमा समस्या देखिएपछि १० वटै स्थानीय तहका जनप्रतिनिधिसँग अन्तरक्रिया गरी सुझाव संकलन गरिएको उनले बताए।

नागरिकताको सिफारिस र सनाखतबारे वडाअध्यक्षहरुलाई तालिम नै दिनु पर्ने देखिएकोले १० वटै पालिकासँग सहकार्य गरेर निकट भविष्यमै तालिम सञ्चालन गर्ने योजना रहेको उनले सुनाए।

वडाअध्यक्षहरुले तराईका जिल्लाहरुमा बसोबास गर्नेहरुका सन्ततिको समेत अछामबाट नागरिकताको सिफारिस गर्दै आएको उपाध्यायले बताए। यो गैरकानुनी हो। 

अछाममा नागरिकताका लागि अन्य जिल्लाको भन्दा भिन्नैखालको समस्या पनि छ। 

२०५८ फागुन ४ गते तत्कालीन विद्रोही माओवादीले जिल्ला सदरमुकाम मंगलसेन ध्वस्त पारेपछि त्यसअघि बनेका सबै प्रमाण नष्ट भएका थिए।

पुरानो प्रमाण नष्ट भएकाले पनि नागरिकता दोहोरो पर्ने सम्भावना धेरै रहेको प्रशासनले जनाएको छ। 

उपाध्यायका अनुसार यसअघि घुम्ती टोलीमार्फत वितरण गरिएका नागरिकतामा अत्यधिक त्रुटि भेटिएको छ। 

नागरिकतामा हुने त्रुटि कम गर्न वितरण प्रणालीलाई व्यवस्थित गर्दै लगिएको उनले जानकारी दिए। 

नागरिकता प्राप्तिका लागि चाहिने आवश्यक कागजात तथा प्रक्रियामा प्रशासनले पहिलेको भन्दा केही कडाइ गरेको जनगुनासो पनि छ। 

नागरिकता जस्तो जीवनमा एक पटक मात्र लिने विषयमा कानुनअनुसार कडाइ गर्न जरुरी रहेको उपाध्याय बताउँछन्।

नागरिकतामा हुने त्रुटि समयमै सच्याउन र यसको महत्त्वबारे नागरिकलाई बुझाउन थालेको सचेतना अभियानको जिल्लास्थित सरोकारवालाहरुले प्रशंसा गरेका छन्।

तुर्माखाँद गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्माले प्रशासनको उक्त अभियानलाई सकारात्मक रूपमा लिएको बताए।

हतारहतारमा नागरिकता बनाएर हिँड्ने प्रवृत्तिले थुप्रैले पछि गएर दुःख पाएको भन्दै उनले तत्काल केही समय कुर्न परे पनि दीर्घकालका लागि यसले सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ। 

मेल्लेख गाउँपालिकाका अध्यक्ष लोगबहादुर बोहोरा पनि नागरिकता पाउने युवाहरुलाई यसको महत्त्वबारे जानकारी दिनु निकै सकरात्मक भएको बताउँछन्। 

 
 

असोज २९, २०७७ बिहीबार ००:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।