किरियापुत्रीद्वारा गाउँपालिकामा तालाबन्दी

किरियापुत्रीद्वारा गाउँपालिकामा तालाबन्दी

सुर्खेत : वडाअध्यक्षसहित ५ जनाको ज्यान जाने गरी भएको जाजरकोट जीप दुर्घटनाको छानविन गर्न माग गर्दै जुनीचाँदे गाउँपालिका कार्यालयमा किरियापुत्रीले तालाबन्दी गरेका छन्। 
 

घटना सुनियोजित तरिकाले घटाइएको भन्दै सत्यतथ्य छानवीन गर्न माग गर्दै उनीहरुले सदरमुकाम खलंगामा रहेको गाउँपालिकाको सम्पर्क कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेका हुन्।

जुनीचाँदे गाउँपालिका वडा नं. ११ का वडाध्यक्ष मृतक अमरबहादुर शाहीका छोरा प्रकाश शाही, स्थानीय कृतिबहादुर शाहीका छोरा हेमराज शाही, कृष्णबहादुर शाहीका छोरा कालिबहादुर शाही लगायतले कार्यालयमा तालाबन्दी गरेका हुन्। 

यही असोज २१ गते भएको जिप दुर्घटनामा मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, घाइते नरबहादुर बुढाको सम्पूर्ण उपचार खर्च दिनुपर्ने, मृतक कर्मचारीका छोराछोरीलाई गाँस, बास, कपास र रोजगारीको व्यवस्था गरिनुपर्ने र मृतक परिवारका २५ जना सरदमुकाम आउँदा–जाँदा लागेको सम्पूर्ण खर्च स्थानीय तहले दिनुपर्ने लगायतका माग राखेका छन्। 

मृतकका आफन्तहरुले गाउँपालिकाको केन्द्र विवादका कारण जिप दुर्घटना पारेर सामूहिक हत्या गरिएको अरोप लगाएका छन्।

दुर्घटनापछि स्थानीय तहका जनप्रतिनिधिहरु घटनास्थल नजानु, परिवारसँग भेटघाट र छलफल नगर्नुले थप सशंकित बनाएको कृतिबहादुर शाहीकी छोरी रेशमा शाही (खत्री)को भनाई छ। 

‘गाउँपालिकाको केन्द्र विवादकै कारण दुर्घटना गराइएको हो, अहिले जनप्रतिनिधि भागिरहेका छन्, चालक पनि पक्राउ गरिएको छैन’ उनले भनिन्। घटनापछि जिप चालक गोरखबहादुर बस्नेत अहिलेसम्म फरार छन्।

जुनीचाँदे गाउँपालिकाको केन्द्र वडा नं. ४ को लुहादह कि वडा नं. ३ को पराले भन्नेमा विवाद हुँदा मुद्दा सर्वाेच्च अदालतमा विचाराधीन छ।
यस्तै मृतकका आफन्तहरुले गाउँपालिकाका कार्यवाहक अध्यक्ष शिवा आचार्य (बस्नेत), स्वास्थ्य शाखा संयोजक प्रेमबहादुर शाही, सहसंयोजक योगेश्वर बस्नेत, बेगमान भनिने सत्यनारायण बस्नेत र सवारी चालक गोरखबहादुर बस्नेतले जीप दुर्घटना गराएको आरोप लगाएका छन्। 

शंकास्पद सबैको कल डिटेल हेरेर घटनाको छानविन गरिनुपर्ने माग समेत गरेका छन्।
दुर्घटनामा मृत्यु भएका वडाध्यक्षसहितले गाउँपालिकाको केन्द्र लुहादह र कार्यवाहक अध्यक्ष पक्षले पराले पालिकाको केन्द्र हुनुपर्ने अडान राख्दै आएका थिए।

यता जिल्ला प्रहरी कार्यालय जाजरकोटले जिल्ला र प्रदेश प्रहरीको टोलीले  चालकको खोजी गरिरहेको जानकारी दिएको छ। 

त्यस्तै पीडित पक्ष र गाउँपालिकाबीच छलफल भैरहेको छलफलमा सहभागी पत्रकार रेशमबहादुर खड्काले जानकारी दिए।  
 

असोज २८, २०७७ बुधबार १७:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।