प्रभावकारी बन्दै वैकल्पिक सिकाइ कक्षा 

प्रभावकारी बन्दै वैकल्पिक सिकाइ कक्षा 

काठमाडौं : उपत्यकाको सामुदायिक विद्यालयले सञ्चालन गरेको वैकल्पिक सिकाइ कक्षा प्रभावकारी देखिएको छ। 
 

वैकल्पिक सिकाइ कक्षामा औसतरूपमा ६० प्रतिशतभन्दा बढी विद्यार्थीको सहभागिता रहेको विद्यालयले जनाएका छन्। 

तर, यस्ता कक्षामा विपन्न वर्गका विद्यार्थीले सहभागिता जनाउन नसकेको विद्यालयको भनाइ छ। विद्यालयका अनुसार इन्टरनेट पहुँच र मोबाइल तथा कम्प्युटर नहुँदा विद्यार्थीले अनलाइन कक्षामा सहभागिता जनाउन सकेका छैनन्। 

उपत्यकाको निलबराही मावि, कालिमाटी, प्रगति उमावि, कुपण्डोल, मंगोलदय मावि, थानकोट, पद्मकन्या उमावि, डिल्लीबजार, नन्दीरात्रि मावि, नक्साल लगायतका विद्यालयले अनलाइन तथा अफलाइन कक्षा सञ्चालन गरेका छन्। 

निलबराही माविकी प्रधानाध्यापक (प्रअ) जानुका नेपाल अनलाइन कक्षामा कक्षा ६ देखि माथिको तहका विद्यार्थीको सहभागिता दर ९० प्रतिशत रहेको बताउँछिन्। 

‘कक्षा ६ देखि माथिल्लो तहका सबै विद्यार्थी नियमित अनलाइन कक्षा लिइरहेका छन्,’ उनी भन्छिन्। 

पद्मकन्या उमाविकी प्रअ रिता तिवारीले कक्षा ६ देखि १२ सम्म जुम र गुगल मिटबाट अनलाइन कक्षा सञ्चालन गरिएको उनले बताइन्। 

अनलाइन कक्षा माथिल्लो तहमा प्रभावकारी देखिए पनि तल्लो तहमा भने त्यति प्रभावकारी हुन सकेको छैन। 

निलबराही माविले बालविकासदेखि कक्षा ५ सम्मका सबै विद्यार्थीलाई अनलाइन कक्षामा सहभागी गराउन नसकिएको जनाएको छ। 

पद्मकन्या उमाविले पनि उक्त तहमा अनलाइन कक्षा सञ्चालन गर्न समस्या भइरहेको बताएको छ। 

विद्यालयकी प्रअ रीता तिवारी कक्षा १ देखि ५ सम्मका विद्यार्थीसँग जुम मिटिङ गर्न नसकिएको बताउँछिन्।  उनका अनुसार उक्त तहको अनलाइन कक्षामा सहभागिता दर पनि निकै कम छ। 

‘कक्षा ५ सम्मका विद्यार्थीका लागि प्रत्येक दिनको रुटिङ बनाएर त्यसअनुसार गृहकार्य दिने गरिएको छ,’ प्रअ तिवारीले भनिन्, ‘८ जनासम्म विद्यार्थी भए मेजेन्जरबाट पढाउने गरिएको छ। त्योभन्दा बढी भए गृहकार्य दिने गरिएको छ।’

निलबराही माविले वार्षिक नतिजा सार्वजनिक भएपछि गत वैशाख १५ गतेबाट अनलाइन कक्षा सञ्चालन गरेको हो। सुरुमा कक्षा १० को अनलाइन कक्षा सञ्चालन गरिएको विद्यालयले जनाएको छ। 

‘एसइईका विद्यार्थीसँगै कक्षा १० नयाँ विद्यार्थीलाई राखेर अनलाइन कक्षा सुरु गर्याैं,’ प्रअ नेपालले उकेरा डट कमसँग भनिन्, ‘त्यसपछि कक्षा ९ का विद्यार्थीलाई पनि अनलाइन शिक्षामा समावेश गर्यौं।’

यसो त यहाँका विद्यालयले कक्षा सञ्चालनका लागि विभिन्न उपाय निकालेका छन्। 

पद्मकन्या उमाविले कक्षा १ देखी १२ सम्म अनलाइन कक्षा सञ्चालन गर्न मेजेन्जर समूह नै बनाएको छ। 

अनलाइन कक्षा सञ्चालन गर्दा विभिन्न समस्या देखिने गरेको प्रअ तिवारीको अनुभव छ। 

नियमित विद्युत आपूर्ति नहुनु, विद्यार्थीसँग इन्टरनेट पहुँच र मोबाइल तथा कम्प्युटर नहुनुलगायत कारणले कक्षा सञ्चालनमा समस्या भएको विद्यालयले जनाएका छन्। 

सरकारले भदौ १९ बाट अनलाइन माध्यमबाट सिकाइ सहजीकरण गर्न निर्देशिकासमेत जारी गरेको छ। निर्देशिका जारी भएपछि धेरै विद्यालयले तालिका बनाएर अनलाइन कक्षा सञ्चालन गरिरहेका छन्। 

निलबराही माविले अनलाइनबाटै गृहकार्य दिने गरेको छ। अनलाइन कक्षा लिन नसक्ने विद्यार्थीले विद्यालयमा सम्बन्धित शिक्षकलाई भेटेर गृहकार्य लिएर जानु पर्ने निर्देशन गरिएको विद्यालयले जनाएको छ। 

रेडियो र टिभी कक्षाबारे विद्यार्थीलाई जानकारी

अधिकांश विद्यालयले रेडियो तथा टेलिभिजनमा सञ्चालन हुने कक्षाको तालिका र सरकारी निकायले आफ्ना वेबसाइटमा राखेका शैक्षिक सामग्रीबारे विद्यार्थीलाई जानकारी गराएका छन्। 

केन्द्रका निर्देशक गेहनाथ गौतमले विभिन्न शैक्षिक निकायमा विभिन्न तहका शैक्षिक सामग्री राखिएको जानकारी दिए। 
ती निकायले तहगतरूपमा कक्षा १ देखि १० सम्म पाठ्यपुस्तक र सन्दर्भ सामग्री राखेका छन्। 

निर्देशक गौतमले वैकल्पिक शिक्षालाई थप विद्यार्थीको पहुँचमा पुर्याउने काम भइरहेको भइरहेको बताए। 

नन्दीरात्रिद्वारा भर्चुअल डिभाइस सर्भे 

नन्दीरात्रि माध्यमिक विद्यालयले अनलाइन शिक्षा लिइरहेका विद्यार्थीले प्रयोग गर्ने डिभाइसबारे सर्भेसमेत गरेको छ। 

विद्यालयले गरेको सर्भे अनुसार अफलाइन कक्षा लिइरहेका विद्यार्थीले रेडियो, टिभी, वेबपोर्टल प्रयोग गर्ने गरेको पाइएको प्रअ गीता काफ्लेले जानकारी दिइन्। 

लकडाउनअघि विद्यार्थीलाई कसरी पढाउन सकिन्छ भनेर चरणबद्ध रूपमा रफ सर्भे गरेको उनले बताइन्। 

यसरी गरिएको सर्भेबाट रेडियो, टेलिभिजन, एजुकेसन प्रोटल, इन्टनेट, मेसेन्जर लगायतका माध्यम प्रयोग गरेको पाइएको उनले बताइन्। 

यसरी पढ्न सकिन्छ अफलाइन कक्षा

कोरोना भाइरस (कोभिड-१९) संक्रमणको महामारीका कारण विद्यालय बन्द भएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतका विभिन्न निकायले अनलाइन पाठ्यक्रम राखेका छन्। 

विभिन्न स्रोतबाट उपलब्ध र एजुकेसन क्लस्टरद्वारा बालबालिकाका लागि सिफारिस गरिएका सामग्री वेबसाइटमा राखेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ।

बालबालिकाको सिकाइलाई निरन्तरता दिन यी पाठ्यक्रम उपयोगी रहेको जानकार बताउँछन्। 

केन्द्रले बालबालिकाको सिकाइलाई सहजीकरण गरिदिन अभिभावकलगायतलाई अनुरोधसमेत गरेको छ। 

परीक्षाको अभ्यास 

अनलाइन र अफलाइन कक्षा सञ्चालन गरेको निलबराही माविले परीक्षाको अभ्यास गरेको छ। 

‘कक्षा ११ अन्तिम परीक्षा समेत लिइसकेका छौं। गुगल फर्ममार्पmत अनलाइनबाट परीक्षा दिने वातावरण बनायौ,’ निलबराहीकी प्रअ नेपालले भनिन्, ‘कक्षा ११ का दुई सय विद्यार्थीमध्ये एक सय १५ जना परीक्षामा सहभागी भएका छन्। बाँकी विद्यार्थी गाउँमा भएकाले अर्काे चरणमा परीक्षा लिइने छ।’ 

अन्य तहको पनि परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको विद्यालयले जनाएको छ। 
 

असोज २८, २०७७ बुधबार ०१:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।