नेपाल पक्षधर सात सांसद्ले छाडे कँडेलको साथ

नेपाल पक्षधर सात सांसद्ले छाडे कँडेलको साथ
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि यसबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पूर्वएमाले पक्षधर सांसद। फाइल तस्बिर।

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव माधवकुमार नेपाल समूहले फिर्ता लिने सहमति भएको छ। 

मुख्यमन्त्री शाही र नेपाल पक्षधर सांसदहरूबीच मंगलबार भएको छलफलमा मन्त्रिपरिषद् पुनर्गठन गर्न सहमति भएपछि नेपाल पक्षर सात सांसदले अविश्वासको प्रस्तावमाथिको समर्थन फिर्ता लिने भएका हुन्। 

अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका नेपाल समूहका सात सांसदले आफ्नो समर्थन फिर्ता लिने तयारी भएको स्रोतले जनाएको दियो।समर्थन फिर्ता लिने सांसद्हरूमा अमरबहादुर थापा, सुशील थापा, देवी ओली, पद्मा खड्का, कुर्मराज शाही, चन्द्रबहादुर शाही र करवीर शाही छन्। 

स्रोतका अनुसार नेपाल पक्षले थप तीन मन्त्री र संसदीय दलको सचेतक पद पाउने गरी सहमति भएको छ। प्रदेश सरकारमा नेपाल पक्षका अमरबहादुर थापा, करवीर शाही र चन्द्र शाही मन्त्री बन्ने चर्चा छ। 

दलको सचेतकमा शाही नियुक्त 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको दलको सचेतक प्रदेश सभा सदस्य कुर्मराज शाहीलाई नियुक्त गरिएको छ। 

प्रदेशसभा दलको नेताको हैसियतमा प्रदेशसभा दलको विधानको दफा ८ बमोजिम प्रदेशसभा सदस्य शाहीलाई नियुक्त गरिएको हो।

असोज २७, २०७७ मंगलबार १३:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।