लाठी होइन, मुस्कान 

लाठी होइन, मुस्कान 

काठमाडौं : प्रहरी होस् वा अन्य सुरक्षाकर्मी। सुरक्षाकर्मी भन्नासाथ कुनै न कुनै हतियारको परिकल्पना गरिन्छ। 

यो अर्थमा फरक बन्दै गएको छ ललितपुर महानगरपालिकाको नगर प्रहरी। 

ललितपुरका नगर प्रहरीहरू अहिले हतियारबिना मुस्कान बोकेर नमस्कार गर्दै काममा खटिएका भेटिन्छन्। यसअघि उनीहरू लाठी बोकेर गस्ती गरिरहेका भेटिन्थे।

लाठीसमेत छाडेर मुस्कानलाई हतियार मान्ने नगर प्रहरीे कसरी बन्यो त? 

यसबारे जानकारी पाउन भदौतिर फर्कनु पर्ने हुन्छ। महानगरपालिकाले गत भदौ १५ बाट नगर प्रहरीको नेतृत्व लामो समय ट्राफिक व्यवस्थापनमा बिताएका पूर्वप्रहरी निरीक्षक सीताराम हाथेछुलाई दियो। 

ट्राफिक प्रहरीमा रहँदा नयाँ र सकारात्मक शैली अपनाएर चर्चामा आएका हाथेछुले नगर प्रहरीमा पनि यस्तै शैली अपनाउन थाले।

कसरी सम्भव भयो नगर प्रहरीको मुस्कान अभियान ? 

उनी भन्छन्– जिम्मेवारी पाएको केही समय यसबारे बुझ्नै लाग्यो। ‘तीन साता मात्रै भयो सक्रिय भएर लागेको। तर, यसबीचमा धेरै काम भइसकेको छ,’ उनले भने। 

नगर प्रहरी भन्नासाथ फुटपाथका व्यापारीका सामान थुत्ने र रुखो व्यवहार देखाउने भन्ने धेरैको बुझाइ थियो। नगर प्रहरीको कमाण्डर भएर खटिँदा उनले फरक व्यवहार पाए। यो परिवर्तन आउनको कारणबारे उनी एउटा घटना सम्झन्छन्। 

पहिलो चरणमा फुटपाथमुक्त बनाउने अभियान अनुसार जावलाखेलको स्टिल टावर अगाडि फुटपाथ अतिक्रमण गरेका एक व्यापारीकहाँ पुगेका थिए उनी। मःमः बेच्दै आएका ती व्यापारीले ग्यास फुटपाथमा राखेका थिए। 

उनले भने, ‘सुरुमा नमस्कार भनेँ। र, नगर प्रहरीको परिचय दिएँ। तर, ती व्यापारीले नमस्कार नै फर्काएनन्। अनि फुटपाथमा ग्यास नराख्न आग्रह गर्दै हिँडे।’ 

ती व्यापारीको व्यवहार देखेर हाछेथु आफ्नै गल्ती खोज्न थाले। 

ट्राफिकभन्दा नमस्कार गर्नेले नगर प्रहरीलाई गरेको व्यवहारले उनी सोचमग्न बने। ‘हामीले नमस्कार फर्काउन योग्य काम गर्न सकेका रहेनछौं भन्ने लाग्यो। त्यसपछि नमस्कारका लागि योग्य हुने काम गर्छु भन्ने अठोट लिएर फकिएँ,’ हाछेथु भन्छन्। 

हाछेथुको कमाण्डमा अहिले ७२ जना नगर प्रहरी छन्।  

उनले व्यवहारमा नै बदलाव ल्याउन आवश्यक ठाने। त्यसपछि नमस्कार गर्ने र मुस्कान दिने नगर प्रहरी बन्यो। 

‘हामी कुट्न गएको होइन नि ! हामी त नगरलाई सफा र व्यवस्थित गर्न खटिएका हौँ। सबैसँग सहकार्य गर्दै काम गछौँ। सम्झाए त मान्छेले बुझिहाल्छन् नि,’ हाछेथु भन्छन्। 

सुरुवातमा नगर प्रहरीप्रतिको बुझाइ भिन्न रहेको उनी सुनाउँछन्। 

‘सुरुवातमा त नगर प्रहरीको काम फुटपाथ हटाउने मात्रै हो भन्ने थियो। तरकारी पसल र फुटपाथ मात्रै देख्ने, निम्न स्तरका व्यक्तिलाई हेप्छ, थर्काउँछ भन्ने रहेछ। तर, अहिले त धेरै कामका लागि नगरवासीले हामीलाई सम्झन्छन्,’ उनी भन्छन्। 

अहिले ढल फुटे, पोल ढले, सडक अतिक्रमण भए, घरअगाडि निर्माण सामग्री थुप्रिएमा पनि नगर प्रहरीलाई खबर आउने उनी बताउँछन्। 
‘अहिले त बाफ्रे घरअगाडि ढल फुट्यो, रुख ढल्यो भने पनि फोन आउँछ। विश्वास आयो नि अब !’ हाछेथु सुनाँउछन्। 

फुटपाथ विकल्पको खोजी

फुटपाथ पैदलयात्रुका लागि हो। यसमा व्यापार गर्न दिनु हुँदैन भन्नेमा उनी ढुक्क छन्। तर, यसको विकल्प आवश्यक छ भन्ने महसुस हाथेछुले गरेका छन्।

‘सुरुमा त मलाई पनि रिस उठ्थ्यो। तर, एउटा गरिवलाई विकल्प पनि त चाहिन्छ,’ हाथेछु भन्छन्, ‘लाखौँ करोडौँको गाडी र मोटरसाइकल हुनेलाई पार्किङ गर्न सडक छुट्याइन्छ भने दुई वटा मूला र एक किलो टमाटर र चार वटा कागती राखेर बेच्नेलाई लखेटेर हुन्छ त ? कति पेल्ने विचरा गरिबलाई ?’ उनी भन्छन्।

यसमा उनी जापानको अनुभव सुनाउँछन्। ‘जापानमा निश्चित समयमा सडकलाई ब्लक गरेर व्यवसाय गर्न दिइँदो रहेछ। नेपालजस्तो विकासोन्मुख देशमा सम्भव नहुने कुरै भएन। जाम नहुने सडकलाई निश्चित समयका लागि प्रयोग गर्न सकिन्छ,’ हाछेथुले समाधान सुझाए।

‘व्यवस्थित गर्न सके हामीलाई पनि धर्म हुन्थ्यो भन्ने लाग्छ। नगर प्रहरी गरिबलाई पनि रहेछ भन्ने हुनुपर्छ। मेयरसा’बसँग प्रस्ताव गर्ने सोच छ,’ हाछेथुले सुनाए।

‘तँ’ र ‘तिमी’ छाडेर ‘तपाईं’ 

हाछेथुको नगर प्रहरीले ‘तँ’ र ‘तिमी’ भन्न नपाइने नियम ल्याएका छन्। 

‘किन छुच्चो वचन बोल्नु पर्छ र सम्झाएपछि त मान्छेले बुझिहाल्छन् नि,’ उनी भन्छन्, ‘हामीचाहिँ मान खोज्ने अनि अरुलाईचाहिँ दिन तयार नहुने हो भने त भएन नि ।’

सिठी बजाउन तालिम

नगर प्रहरीलाई सिठी बजाउने तालिम पनि दिन थालिएको छ। सिठीकै भरमा दैनिक हजारौँ सवारी व्यवस्थापन हुने र यसबाट भिडभाड नियन्त्रण, सवारी रोक्न, फुटपाथ हटाउन सहयोेगी हुने हाथेछुको भनाइ छ।

‘अहिले ६ तरिकाबाट सिठी बजाउन सिकाएको छु। सुरुमा नगर प्रहरीहरू सिठीसमेत बजाउन नआउने अवस्थामा रहेछन्। सिठीले लाठी बोकेरभन्दा धेरै काम व्यवस्थितरूपमा गर्न सकिने अनुभव उनको छ।

अहिले नगर प्रहरीले गोप्रो क्यामेरासहित साइकल गस्ती सुरु गरेको छ। फुटपाथ खाली गर्ने अभियान, होडिङ बोर्ड हटाउने, अनावश्यक पर्चा पम्प्लेटहरू उप्काउने लगायतका काम गरिरहेको छ।

साथै माइकिङ गर्ने र टोलटोलमा समस्या बुझ्न जाने अभियान समेत सुरु गरेको छ। योबाहेक सवारी व्यवस्थापनलगायत काम गर्न आवश्यक रहेको हाथेछु बताउँछन्। 

असोज २७, २०७७ मंगलबार ०१:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।