प्रमुख सचेतक गुलाबजंग शाह पदमुक्त
सुर्खेत : आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा प्रदेश सभा दलका नेता महेन्द्रबहादुर शाहीले नेकपा संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई पदमुक्त गरेका छन्।
शाहीले सोमबार शाहलाई सचेतकको जिम्मेवारीबाट हटाएका हुन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश सभा दलको नेताको हैसियतमा प्रदेशसभा दलको विधानको धारा ७ अनुसार प्रमुख सचेतकमा नियुक्त गरिएको तपाईंका कामकारबाही सन्तोषजनक नभएकोले आजसम्म गरेको कामका लागि धन्यवाद दिँदै तपाईंलाई प्रमुख सचेतकको जिम्मेवारीबाट मुक्त गरेको छु’, मुख्यमन्त्री शाहीद्वारा हस्ताक्षरित पदमुक्त गरेको पत्रमा भनिएको छ।
मुख्यमन्त्री शाहीले यसअघिकी सचेतक सीताकुमारी नेपालीलाई प्रमुख सचेतकमा नियुक्त गरेका छन्।
शाह पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली निकट हुन् भने नेपाली अर्का अध्यक्ष पुष्पकमल दाहाल निकट हुन्।
मुख्य मन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन शाहले समन्वयकारी भूमिका खेलेका थिए। तर, उनले हस्ताक्षर भने गरेका छैनन्।
असोज २६, २०७७ सोमबार १६:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।