कोरोना जोखिम बढ्दो, परीक्षण दर घट्दो
जनकपुरधाम : कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपनि प्रदेश २ मा कोरोना परीक्षणको दर भने घटिरहेको छ।
लकडाउन हटाइएपछि परीक्षणको संख्या पनि घटाइएको छ। प्रदेश सामाजिक विकास मन्त्रालयका अधिकारीका अनुसार प्रदेशभरीमा दैनिक एक हजार भन्दा कम परीक्षण भैरहेको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाम, नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराज र गौर अस्पताल रौतहटमा परीक्षणको व्यवस्था छ।
परीक्षण गराउन आउनेका लागि कर्मचारीहरुले विभिन्न बहाना बनाउने गरेका कारण परीक्षण घटेको हो।
आफूलाई ज्वरो आउँदा कोरोना परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा जाँदा त्यहाँका कर्मचारीले परीक्षण गर्न नमानेको स्थानीय पंकज मण्डलले बताए।
जनकपुरधाम–४ का मण्डलको परिवारका सबै सदस्यलाई ज्वरो आएको भए पनि कसैको कोरोना पिरीक्षण गरिएको छैन।
प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले चिकित्सकको सिफारिसमा मात्रै परीक्षण गरिने बताए।
ज्वरोको विरामीलाई चिकित्सक उपचार गर्नबाट डराउने भएकाले विरामीलाई सिफारिस गराउनै समस्या छ।
प्रदेश २ मा कोरोना संक्रमणको लक्षण देखिनेहरुको संख्या धेरै रहेको छ। जनकपुरधामका वरिष्ठ चिकित्सक डा. एसके सिंहले टोलटोलमा तत्काल नै परीक्षण कार्य बढाउनु पर्ने सुझाब दिए।
औपचारिकताका लागि मात्रै परीक्षण गरियो भने स्थिति भयावह हुने एक चिकित्सकले चेतावनी दिए।
प्रदेशभरीमा शनिबारसम्म जम्मा १ लाख २७ हजार ५३ जनाको स्वाब परीक्षण गरिएकोमा १४ हजार १ सय २० जना संक्रमित भएका छन् भने १ लाख ११ हजार ३ सय ६२ जनाको रिपोर्ट नेगेटिभ आएको छ।
यस्तै १ हजार ५ सय ७१ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको ९ हजार ४ सय २० बेड क्षमताको १ सय ६९ वटा क्वारेन्टाइनमा अहिले १ सय ६० जनालाई राखिएको छ।
१ हजार ३ सय जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ। प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको २ हजार ९ सय ६२ बेड क्षमताको आईसोलेशनमा सप्तरीमा ६३, सिरहामा ६ सय ११, धनुषामा ११, महोत्तरीमा ४, सर्लाहीमा १८, रौतहटमा ३, बारामा ९ र पर्सामा ४५ गरि ७ सय ६४ जनालाई भर्ना गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए।
कोरोना संक्रमणबाट अहिलेसम्म यस प्रदेशमा २५ महिला र १ सय २२ पुरुष गरि १ सय ४७ जनाको मृत्यु भईसकेको मन्त्रालयले जनाएको छ।
असोज २६, २०७७ सोमबार १४:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।