कर्णालीमा बल्झियो एमाले माओवादी विवाद

कर्णालीमा बल्झियो एमाले माओवादी  विवाद

सुर्खेत : कर्णाली प्रदेश मुख्यमन्त्रीविरुद्ध सत्तापक्षकै सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेपछि प्रदेशस्तरमा मात्र नभएर राष्ट्रिय राजनीतिमा नै हलचल ल्याएको छ। 
 

आइतबार दिउँसो कर्णाली प्रदेशको नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरूद्ध उनकै दलका बहुमत सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरेपछि राजनीति नै तरंगित बनेको हो। 

नेकपा संसदीय दलको कार्यालयमा मुख्यमन्त्री शाहीविरुद्ध १८ जना प्रदेश सभा सदस्यले अविश्वासको प्रस्ताव दर्ता गराएका छन्। 

पूर्वमाओवादीबाट मुख्यमन्त्री बनेका शाहीविरूद्ध पूर्वएमालेहरू एक भएका छन् भने ३ जना पूर्वमाओवादीबाट सांसद भएकाहरूले पनि शाहीको साथ छोडेका छन्। 

४० सदस्यीय कर्णाली प्रदेश सभामा नेकपाका मात्रै ३३ सांसद छन्। 

तीमध्ये २० जना पूर्वएमाले र १३ जना पूर्वमाओवादीबाट सांसद भएका हुन्। 

शाहीविरूद्ध  पूर्वएमालेका १५ जना सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन्। यसरी हस्ताक्षर गर्नेमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल दुबै खेमाका सांसदहरू छन्।   

अविश्वास प्रस्तावको नेतृत्व सांसद यमलाल कँडेलले गरेका छन्। 

सुरूमा उपाध्यक्ष वामदेव गौतमनिकट कँडेल अहिले प्रधानमन्त्री ओलीको खेमामा छन्। 

देशभर गरिएको भागबण्डाको आधारमा पूर्वमाओवादीको भागमा कर्णाली प्रदेश परेपछि कालीकोटबाट निर्वाचित शाही माओवादीका १३ जना सांसदमात्र हुँदा पनि मुख्यमन्त्री बने।

लामो समय एमालेको केन्द्रीय राजनीति गरेका र मन्त्री पनि भइसकेका कँडेल मुख्यमन्त्री हुने योजना बनाएर गत निर्वाचनमा प्रदेश सभामा चुनाव लडेका थिए। 

कर्णाली प्रदेश सभामा पूर्वएमालेको मात्रै झन्डै बहुमत आएपछि मुख्यमन्त्री हुने उनको सपनालाई झन बल पुगेको थियो।

कँडेललगायत सांसदहरूले शाहीलाई मुख्यमन्त्री बनाउने भएपछि त्यतिबेला नै यसमा असन्तुष्टि जनाएका थिए।  तर केन्द्रबाट गरिएको निर्णय भएकाले उनले चर्को विरोध गर्न सकेनन्।

यद्दपीको कँडेलको असन्तुष्टि भने जारी नै थियो। 

पछिल्लो समय ओली–प्रचण्डबीच नै सरकारका मन्त्री र मुख्यमन्त्री फेर्नेबारे छलफल चलिरहेको बेला कँडेलले आइतबार तीन जना पूर्वमाओवादीका सांसदलाई समेत साथमा लिएर शाहीविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन्। 

अविश्वासको प्रस्ताव दर्ता भएसँगै कर्णाली प्रदेशको नेकपा संसदीय दलका सचेतक गुलावजंग शाहले यही असोज २८ गतेका लागि बैठक बोलाएका छन्। शाह पनि अहिले अविश्वासको प्रस्ताव ल्याउनेहरूकै पक्षमा छन्। 

सचेतकले संसदीय दलको बैठक बोलाउनु पर्ने व्यवस्था भएकाले उनले प्रस्तावमा हस्ताक्षर नगरेको एक नेताले बताए।

संसदीय दलको बैठकपछि मुख्यमन्त्री शाहीलाई हटाएर कँडेललाई संसदीय दलको नेता बनाउने लगभग पक्का छ। त्यसपछि उनी कर्णाली प्रदेशको मुख्यमन्त्री बन्ने बाटो खुल्नेछ।

संसदीय दलमा कँडेल अहिले पनि बहुमतमा छन। सचेतक शाह र मन्त्री रहेका दल रावल र नन्दसिंह बुढा पनि उनकै पक्षमा छन्। 

यी तीन जना पनि कँडेलको पक्षमा उभिँदा मुख्यमन्त्री हुन उनलाई प्रदेश सभामा बहुमत पुग्नेछ। 

‘दलको नेताको रुपमा संसदीय दल एंव सरकारको नेतृत्व प्रभावकारिता नभएको दिनानुदिन दल र सरकारका काम कारबाहीमा प्रभाव पर्ने र सो कारणले जनस्तरमा पार्टी र सरकारको उपस्थिति फितलो भएको’ प्रस्तावमा उल्लेख गरिएको छ।  

संघीय संघात्मक व्यवस्थामा प्रदेश तहको संरचनामा नौलो अभ्यासको रुपमा वैधानिक व्यवस्था बमोजिम प्रस्ताव पेश गरिएको सांसद यामलाल कँडेलले बताए। 

‘सरकारको कामको आधारमा मूल्यांकन गर्दा विद्यमान अवस्थामा साझा मतका साथ सांसदहरु एक ठाउँमा भएका हौं’ सांसद कँडेलले भने, ‘सरकारको काम ठिक भैरहेको छैन भनी पार्टीभित्र पटक–पटक छलफल गर्दा समेत प्रभावकारिता नदेखिएकोले प्रस्ताव  ल्याइएको हो।’  

पार्टी एकता भए पनि समायोजनका कुरा बाँकी रहेको र सहमती सहकार्यको कुरा चलिरहेको भन्दै कँडेलले प्रदेश सभा सदस्यहरुले अधिकारको प्रयोग गरेर अविश्वासको प्रस्ताव दर्ता गरेको स्पस्टपारे।

समस्या छलफलबाटै समाधान हुन्छ : शाही 

आफुुविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री शाहीले पार्टीभित्रको आन्तरिक समस्या छलफलबाटै हल हुने प्रतिक्रिया दिए।

सांसदले पेश गरेको अविश्वासको प्रस्ताव सरकारविरुद्ध नभई दलको नेताविरुद्ध भएकोले आन्तरिक छलफलबाटै निश्कर्ष निकाल्ने उनले बताए। 

‘प्रधानमन्त्री ओलीविरुद्ध पनि यस्ता कुरा आएकै हुन्। यो दलको आन्तरिक कुरा हो’ शाहीले भने,‘संसदीय दलको बैठकमा छलफल हुन्छ।’

सरकारविरुद्ध प्रस्ताव आएको भए राजीनामा दिने या प्रस्ताव फेस गर्ने भन्ने कुरा हुने भन्दै शाहीले अब पार्टीभित्रै छलफल गरेर समस्या समाधान हुने बताए।

यस्तै कर्णाली प्रदेशमा देखिएको विवाद समाधान गर्न नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज छलफल गर्ने भएका छन्। 
 

असोज २६, २०७७ सोमबार ११:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।