कोरोना कहरले रोकेन विदेशिने रहर
काठमाडौं : गत बिहीबार सिन्धुलीका बाशुदेव कोइराला काठमाडौंको केशरमहलस्थित वैदेशिक अध्ययन अनुमति शाखामा ‘नो अब्जेक्सन लेटर’को आवेदन बुझाउन लाइन लागेका थिए।
उनी अध्ययनका लागि साइप्रस जाने प्रक्रियामा छन्। उनले त्यहाँको एक कलेजमा शुल्कसमेत बुझाइसकेका छन्।
‘पढाइ त त्यस्तै हो। कमाएर सेटल हुन सकिन्छ कि भन्ने हो,’ कोइराला भन्छन्।
विदेशमा अध्ययनका लागि अनुमति पत्र लिनेको लाइनमा थिए, झापाका दीपेन्द्र क्षेत्री।
नेपाल छाडेर अध्ययनका लागि विदेशिने बाध्यता के आइलाग्यो? उकेराकर्मीको प्रश्नमा उनले भने, ‘नेपालमा भविष्य नै छैन। विदेश नगएर के गर्नु?’
उनीहरू मात्र होइनन्, वैदेशिक अध्ययन अनुमति शाखामा पछिल्लो समय नो अब्जेक्सन लेटर लिन आउनेको भीड लाग्ने गरेको छ।
कोरोना भाइरस (कोभिड-१९) संक्रमणको कहरलाई बेवास्ता गर्दै विदेश अध्ययनका लागि अनुमति लिन आउने बढेका छन्।
सरकारले कोरोना महामारीका कारण स्थगित अनुमतिपत्रको प्रक्रियालाई असार ३१ बाट अनलाइन प्रणालीबाट खुला गरेको थियो। त्यसयता अनुमति शाखामा विद्यार्थीको भीड लाग्ने गरेको छ।
अध्ययन अनुमति लिन आउनेको लाइनमा देशको राजनीति र अवसरको चिन्ता गर्नेहरू पनि भेटिए। ‘आफ्ना मान्छे नभए अवसरै पाइँदैन। धेरै प्रयास गर्दा पनि केही भएन,’ रसुवाका रमेश देवकोटाको गुनासो पोखे।
यही बाध्यतालाई रहर मान्नुपरेको उनको भनाइ छ। उनी जापान जाने प्रक्रियामा छन्।
पालना गरिएन सामाजिक दूरी
शाखामा नो अब्जेक्सन लेटरका लागि आवेदन दिन लाइन लागेका विद्यार्थीले सामाजिक दूरी पालना गरेको पाइँदैन। यसले कोरोना संक्रमणको जोखिम बढेको छ।
साढे ११ हजारभन्दा बढीको आवेदन
कोरोना कहरमा पनि अनलाइन आवेदन दिनेको संख्या साढे ११ हजार नाघिसकेको छ।
शाखा प्रमुख दिनानाथ पुरीका अनुसार अनलाइन आवेदन खुलेदेखि गत बिहीबारसम्म १० हजार ६ सय ७९ आवेदन स्वीकृत भएका छन्। बाँकी ८ सय ८६ आवेदन भने हेरिने क्रममा रहेको उनले जानकारी दिए।
त्यस्तै, एक हजारको संख्यामा जारी हुने प्रक्रियामा छन्। ‘एक हजार शुल्कको प्रक्रियामा छन्,’ उनले भने।
आवेदनमा समस्या
नो अब्जेक्सन लेटरको अनलाइन आवेदन दिन समस्या भोग्नुपरेको विद्यार्थीको गुनासो छ। उनीहरू विवरण भर्ने क्रममा समस्या आउने र आवेदन स्वीकृत भए/नभएको जानकारी पाउन नसकेको गुनासो गर्छन्।
अनलाइन आवेदनमा समस्या देखिएपछि शाखामै आएर आवेदन दिने विद्यार्थीको भीड लागेको छ।
शाखाले पनि समयसमयमा प्राविधिक समस्या देखिने गरेको स्विकारेको छ। ‘पछिल्लो दुई दिन पनि समस्या आएको थियो,’ गत बिहीबार शाखा प्रमुख गिरीले भने।
व्यवस्था अनुसार आवेदन स्वीकृत भए/नभएको जानकारी तत्काल विद्यार्थीले पाउँछन्। त्यसपछि बैंकमा शुल्क बुझाउनु पर्ने हुन्छ। रकम जम्मा गरेपछि अनुमति पत्र तयार हुने मिति इमेलमार्फत जानकारी पाउन सकिन्छ।
सोही मितिमा शाखाको कार्यालय केशरमहलबाट अनुमतिपत्र लिन सकिन्छ।
असोज २६, २०७७ सोमबार १०:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।