बेलबारीमा डिजिटल प्रणालीबाट नक्सांकन 

बेलबारीमा डिजिटल प्रणालीबाट नक्सांकन 
ड्रोनबाट डिजिटल नक्सांकनको सुरुवात गर्दै बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीलगायत।

विराटनगर : मोरङको बेलबारी नगरपालिकाले डिजिटल प्रणालीबाट नक्सांकन सुरू गरेको छ।

बेलबारी नगरपालिकाले ड्रोनबाट खिचेर डिजिटल प्रणालीको नक्सांकन सुरू गरेको हो। 

बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले नगरको भौगोलिक नक्सांकन तथा सर्वे आइतबारदेखि डिजिटल प्रणालीबाट सुरु गरिएको बताए। 

उनका अनुसार यस प्रकारको नक्साले नगरपालिकाको सहरी विकास योजना, विपद जोखिम व्यवस्थापन, घर नम्बर तथा स्ट्रिट ठेगाना निर्धारण गर्न सहयोग पुग्ने छ। 

यस्तै, नगरको गुरुयोजना निर्माण, सडक स्तरीकरण, भौतिक पूर्वाधारको स्तरोन्नति, सडकको अवस्था, अतिक्रमित सरकारी जग्गाको तथ्यांक संकलन गर्न आधार तयार पार्ने सुवेदीले बताए। 

उनले भने, ‘डिजिटन नक्सांकनले नगरको नक्सा आधुनिकीकरण गर्न र विकास निर्माणलाई व्यवस्थित गर्न पनि सघाउ पुग्ने छ।’ 

नक्सांकन गर्न विभिन्न जिआइएस विज्ञ, ड्रोन पाइलट तथा सरकारी अधिकारीहरूलाई एकीकृतरूपमा परिचालन गरिएको छ। यसको मुख्य लक्ष्य उच्च स्केलको नक्सा प्राप्ति गर्र्ने र उच्च रिजोलुसनको फोटोको आधारमा विस्तृत सहरी विकास योजना तथा विपद व्यवस्थापनमा सहयोग पुर्याउने रहेको नगरपालिकाले जनाएको छ। 

बाढी, पहिरो तथा डुवान हुने क्षेत्रको अवस्थासमेत ड्रोनमार्फत खिचिने छ। 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाहले भने, ‘डिजिटल नक्साले हामीलाई विपद् व्यवस्थापनका लागि पूर्वतयारी गर्न सहज हुन्छ।’ 

उनका अनुसार नगरपालिकाका ३० स्थानबाट सेटलाइटसँग जिपिएस कोडिनेटमार्फत कन्ट्रोल प्वाइन्ट स्थापना गरि सर्वेक्षण गरिने छ। 

नगरपालिकाले विज्ञहरूलाई यो काम गर्ने जिम्मा दिएको छ। बेलायतबाट सिभिल इन्जिनियरिङ सकेर ट्रान्सपोटमा मास्टर गरेका विवेक सिंहले यसको जिम्मा लिएका छन्। डिजी निर्माण इन्जिनियरिङ प्रालि, विराटनगरका सञ्चालकसमेत रहेका सिंहले डिजिटलाइजेसनले नगरको सचित्र प्रोफाइल बन्न सक्ने बताए। 

सर्वेक्षण सकिएपछि बेलबारीको डिजिटल नक्सा मोबाइल एपमार्फत हेर्न मिल्ने सिंहले बताए।  

नगर क्षेत्रको मुख्य बस्ती एवं सडकहरूको ड्रोनबाट सर्वेक्षण एवं नक्सांकनको कार्य शुभारम्भ भएको र यसबाट प्राप्त हुने सम्पूर्ण फोटो एवं भिडियो डाटाको गोपनीयता नगरपालिकाको नियन्त्रणमा हुने नगरपालिकाले जनाएको छ। 

नगरपालिका क्षेत्रको पर्यटकीय स्थल, सडकलगायत विकास निर्माणका कामको डिपिआर, डिजाइनसमेत कार्यालयमै बसेर गर्न सकिने छ। 

आफ्नो घरआँगन, खेतबारी एवं अन्य क्षेत्रमाथि देखिने ड्रोन यन्त्रहरूलाई नगरपालिकाको विकास निर्माणका लागि  उडान भइरहेको रूपमा लिइ सहजता अपनाउन सम्पूर्ण नगरवासीमा नगरपालिकाले अनुरोध पनि गरेको छ। 

प्रदेश १ मै पहिलोपटक  बेलबारी नगरपालिकाले ड्रोनमार्फत भौगोलिक नक्सांकन तथा सर्वे डिजिटल प्रणालीबाट गर्न थालेको हो। 

असोज २६, २०७७ सोमबार ००:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।