‘कोभिड–१९विरुद्ध सरकारी तयारी ग्राउन्ड जिरोमा गइसक्यो’

‘कोभिड–१९विरुद्ध सरकारी तयारी ग्राउन्ड जिरोमा गइसक्यो’

काठमाडौं : सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं पूर्वशिक्षामन्त्री डा. गंगालाल तुलाधारले कोभिड–१९विरुद्ध सरकारी तयारी ग्राउन्ड जिरोमा गइसकेको टिप्पणी गरेका छन्।

‘सरकारमा होपलेस देखियो, पूर्वतयारी र न्यूनीकरणको कामै भएन। सरकारसँग स्रोत पनि केही पनि छैन भन्नुपर्ने भो,’ गैरआवासीय नेपाली संघ (एनआरएनए)द्वारा आयोजित दोस्रो विश्व ज्ञान सम्मेलनमा डा. तुलाधारले भने।

शनिबार भएको ‘महामारी र प्राकृतिक विपद् न्यूनीकरणका लागि पूर्वतयारी र न्यूनीकरण’ सत्रमा विपद् व्यवस्थापनविज्ञ तुलाधारले विपद् व्यवस्थापन तीनवटै तहका सरकारको साझा अधिकार भए पनि समन्वय नै हुन नसक्दा कोभिड–१९ का कारण ६ सय जनाको ज्यान गएको र संक्रमितको संख्या एक लाख नाघेको बताए।

सरकारले गठन गरेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)प्रति सुरुदेखि नै असन्तुष्ट रहेका तुलाधारले संविधानले कल्पना गरेको संरचनालाई बेवास्ता गरी सिसिएमसी बनाइँदा अहिले यो अवस्था आइलागेको बताए।

‘विपद् र महामारी नियन्त्रणका लागि तीनवटै सरकारका भूमिकाबारे संविधानमै स्पष्ट छ। जिम्मेवार नेतालाई थाहा छ। तर, हामी इमान्दार छैनौं,’ उनले भने।

विपद् व्यवस्थापन विज्ञ तुलाधारले एनआरएनएलाई पनि विपद् तथा महामारीसँग जुध्न स्थायी प्रकृतिको संरचना बनाउन आग्रह गरे।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापाले काठमाडौंमा आइसियु बेड पाउन नसकिने अवस्था आइलागेको बताए।

‘अब काठमाडौंमा कोभिड, ननकोभिड कसैले पनि आइसियु बेड पाउनेवाला छैनन्,’ उनले भने, ‘जाडो आउँदैछ, शितलहर, भोकमरीको सामना गर्नुपर्ने अवस्था छ।’

उनले विपद् तथा महामारीविरुद्ध स्थायी संरचना पर्याप्त कानुन रहे पनि राजनीतिक नेतृत्वमा बुझाइको कमी रहेको बताए। विपदको बेला राजनीतिक नेतृत्वले नियमितभन्दा बाहिरको स्रोत परिचालन गर्न सक्ने भए पनि सरकार यो विषयमा चुकेको थापाले टिप्पणी गरे।

पूर्वस्वास्थ्यसचिव डा. सुधा शर्माले राजनीतिक नेतृत्वले महामारी नियन्त्रणको नेतृत्व लिँदा सफल नभएको बताए।

लकडाउनको दुई महिना र लकडाउन पश्चातका दुई महिनामा कोभिड–१९ विरुद्ध तयारीका कामै हुन नसकेको उल्लेख गर्दै डा. शर्माले सरकारले सही कदम चाल्न नसकेको बताए। 

‘यस्ता महामारी नियन्त्रणको नेतृत्व चिकित्सक, विज्ञले नै गर्नुपर्छ,’ उनले भने।

कोभिड–१९ महामारीका कारण मानसिक स्वास्थ्य, खाद्य असुरक्षा र नवजात शिशुको स्वास्थ्य समस्या झन् जटिल बन्दै गएको उनले बताए।

डा. शर्माले अब कोभिड–१९ का संक्रमित झन बढ्न सक्ने चेतावनी दिए। ‘दसैंको मौका छ। यसमा मान्छे हिँड्ने काम भएकाले फेरि फैलने सक्ने देखिएको छ,’ उनले भने, ‘जाडोमा खुला ठाउँमा कम बस्ने, खोकी लाग्ने भएकाले यो बेला कोभिड—१९ को संक्रमण अझ बढ्न सक्छ। यसमा हेलचेक्रयाइ गर्नु हुँदैन।’

एनआरएनए, आइसिसी उपाध्यक्ष डा. बद्री केसीले एनआरएनलेले जहिल्यै पनि सहयोग गर्दै आएको बताए।

नेपालमा बाढीपहिरो, आगलागी जस्ता विपद्का घटना हुन् वा २०७२ को भूकम्पमा एनआरएनएले प्रत्यक्ष सहयोग गरेको उल्लेख गर्दै डा. केसीले अहिलेको कोभिड–१९ मा पनि उच्चस्तरीय समिति गठन गरेर संक्रमित एवं उद्धारको दस्तावेज बनाएर काम भइरहेको बताए। 

२१ सयभन्दा बढी स्वंयसेवक परिचालन गरेर नेपालीलाई सहयोग पुर्याइएको उल्लेख गर्दै उनले भने, ‘हामीसँग ठूलो नेटवर्क छ। आइएलओ र आइओएमलगायत अन्तर्राष्ट्रिय  संघसंस्थासँग सहकार्य गरेर काम गरिरहेका छौं।’

एनआरएनएले विपद् र महामारी नियन्त्रणका लागि १० लाख डलरको फन्ड बनाइरहेको उनले घोषणा गरे।

एनआरएनए स्वास्थ्य समिति संयोजक डा. सञ्जीव सापकोटाले पूर्वतयारीबिना महामारी नियन्त्रण गर्न नसकिने बताए।

नेपालबाहिर ८० लाख नेपाली रहेको उल्लेख गर्दै डा. सापकाटाले विदेशमा रहेका नेपालीको उद्धार एवं अन्य आवश्यक प्रबन्धका लागि एनआरएनएले सहयोग गर्दै आएको जानकारी दिए।

भूकम्प, बाढीपहिरो, आगलागी र कोभिड-१९ जस्ता महामारीविरद्ध लड्न पूर्वतयारी आवश्यक रहने उनको भनाइ छ।

यो सत्रमा गैरआवासीय नेपाली संघका डा. अलिनी सुवेदी, डा कुस श्रेष्ठ, डा द्रोण रसाली र  डा हेमराज शर्माले मन्तव्य व्यक्त राखेका थिए।

असोज २५, २०७७ आइतबार १७:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।