प्यान नम्बर नलिने सांसदको तलब रोक्का

प्यान नम्बर नलिने सांसदको तलब रोक्का

जनकपुरधाम : प्रदेश २ का ११ जना प्रदेशसभा सदस्यको तलब रोक्का भएको छ। 

प्यान नम्बर नलिएका कारण ति प्रदेश सभा सदस्यको तलब रोक्का भएको हो। 

प्यान नम्बर नलिएकै कारणले तलब रोकिनेमा ६७ जना प्रदेशसभा सदस्यका स्वकीय सचिवसमेत छन्।

प्रदेश सभा सचिवालयका अनुसार तलब पाउनका लागि प्यान नम्बर अजिवार्य चाहिने व्यवस्था छ। 

प्यान नम्बर बुझाउन नसकेका प्रदेशसभा सदस्य तथा स्वकीय सचिवहरुको गत साउन महिनादेखि तबल रोक्का छ।

प्रदेशसभा सचिवालयका निमित्त सचिव रंजित यादवले नियुक्ती बैंक खाता र प्यान नम्बर बुझाउन नसकेका कारण ६७ जना प्रदेशसभा सदस्यका स्वकीय सचिवहरुले तलब बुझ्न सकेका छैनन्।

वित्तिय अनुशासन कायम गर्न संघीय सरकारले बजेट भाषणमार्फत गत जेठ १५ गते वित्तिय शासन व्यवस्था लागु गरेपछि तलब बुझ्नका लागि व्यक्तिगत प्यान नम्बर अनिवार्य गरिएको हो। 

प्रदेशसभा सचिवालयका निमित्त सचिव यादवले भने,‘माननीय ज्यूहरुको तलब बुझ्ने व्यवस्था मिलाउनका लागि डकुमेन्टहरु जम्मा गरिरहेका छौँ। प्रकृया पूरा गरेर चाँडै नै बाँकी रहेका माननीय ज्यूहरुको तलब उपलब्ध गराइने छ।’

यसअघि अधिकांश सांसदले आफ्नै नातागोतालाई स्वकीय सचिवमा नियुक्त गरी उनीहरूको तलबसमेत आफैँ बुझ्दै आएका थिए।

सरकारले प्यान नम्बर अनिवार्य बनाएपछि स्वकीय सचिवको पैसा आफैँले राख्ने सांसदको लागि समस्या भएको छ।

असोज २५, २०७७ आइतबार १७:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।