मानसिक स्वास्थ्यमा लगानी र पहुँचको आवश्यकता
नेपालमा पनि ६० लाखभन्दा बढी मानिस कुनै न कुनै किसिमको मनोसामाजिक समस्या एवं मानसिक रोगबाट प्रभावित भएको अनुमान गरिएको छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले हालै मात्र सार्वजनिक गरेको मानसिक स्वास्थ्य सर्वेक्षणमा ४.३ प्रतिशत वयस्कमा मानसिक स्वास्थ्य समस्या रहेको पाइएको छ। सर्वेक्षणले १० प्रतिशत वयस्कमा आफ्नो जीवनकालको कुनै न कुनै समयमा मानसिक स्वास्थ्य समस्यामा रहेको देखाएको छ। सर्वेक्षणमा किशोर किशोरीमा मानसिक स्वास्थ्यको अवस्था हेर्दा ५.२ प्रतिशत किशोरकिशोरीमा मानसिक समस्या भएको पाइएको छ।
मानसिक स्वास्थ्यका विषयमा जनचेतना फैलाउने, यस क्षेत्रमा भएका समस्या, चुनौती एवं उपलब्धिका विषयमा छलफल तथा पैरवी गर्ने जस्ता विविध उद्देश्यका साथ प्रत्येक वर्ष अक्टुवर १० मा विश्व मानसिक स्वास्थ्य दिवस मनाइने गरिएको छ।
विश्व मानसिक स्वास्थ्य संघको अगुवाइमा सन् १९९२ देखि विश्वभर नै यो दिवस मनाउन थालिएको हो। यो वर्षको विश्व मानसिक दिवसको नारा ‘सबैको लागि मानसिक स्वास्थ्य : पर्याप्त लगानी, व्यापक पहुँच । जसलाई पनि, जहाँ पनि’ छ।
नेपालमा मानसिक स्वास्थ्यको अवस्था
नेपालमा मानसिक स्वास्थ्यको क्षेत्र अझै पनि ओझेलमा परेको छ। मानसिक रोगीलाई अपहेलना गर्ने, उपचारबाट वञ्चित गराउने, बाँधेर वा थुनेर राख्ने, खान नदिने, काम र जिम्मेवारी तथा अधिकारबाट वञ्चित गराउने, भुत–प्रेत वा बोक्सी लाग्यो भनेर उपचारको नाममा तातो पन्युले डाम्ने जस्ता अमानवीय व्यवहार गर्ने गरेको देखिन्छ।
हाम्रो समाजमा मानसिक स्वास्थ्यप्रति व्यक्तिको बुझाइ, धारणा तथा सोच अझै पनि सकारात्मक हुन सकेको छैन। मानसिक स्वास्थ्यलाई कलंकको रूपमा हेरिन्छ। मानसिक स्वास्थ्य समस्या देखा पर्दा ‘कुल बिग्रेको’, ‘देउता चढेको’, ‘माता चढेको’, ‘बोक्सी लागेको’, ‘धामी उत्रेको’ भन्दै नजरअन्दाज गर्ने परिपाटीे समाजमा अझै पनि विद्यमान छ। एक पटक मानसिक रोग लागेपछि निको नै हुँदैन भन्ने सोच पनि रहेको पाइन्छ।
जैविक तथा रासायनिक, सामाजिक एवं मनोवैज्ञानिक कारणले मानसिक समस्या देखा पर्ने गर्छ।
बदलिँदो समाजिक परिवेश, वैदेशिक रोजगारी, बेरोजगारी, गरिबी, आधुनिकीकरण, सामाजिक सञ्जालको प्रभाव, लागुपदार्थको सेवन, पारिवारिक झमेला, लैंगिक हिंसा, घरेलु हिंसा, यौन शोषण, बलात्कार, लाञ्छना, लैंगिक विभेद, अन्धविश्वास, गलत प्रथा, राजनीतिक अस्थिरता जस्ता कारणले नेपालमा पनि मानसिक स्वास्थ्य समस्या बढ्दै गएको देखिन्छ।
शिक्षा तथा चेतनाको कमी, मानसिक स्वास्थ्यका क्षेत्रमा विद्यमान अन्धविश्वास, दक्ष जनशक्तिको कमी, सरकारी उपेक्षा, बजेटको कमी, दातृ निकायको यस क्षेत्रमा आँखा पर्न नसक्नु, राष्ट्रिय मानसिक स्वास्थ्य नीति नहुनु, जस्ता कारणबाट मानसिक स्वास्थ्यको क्षेत्रमा सोचेजस्तो प्रगति हुन सकेको छैन।
नेपालमा विद्यालय तहमा मानसिक स्वास्थ्यका विषयमा अझै पनि पठनपाठन हुन सकिरहेको छैन।
तथापि हालै मात्र प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले विद्यालयस्तरको पाठ्यक्रममा मानसिक स्वास्थ्यलाई समेट्न सरकारलाई निर्देशन दिएको छ।
नेपालमा मानसिक स्वास्थ्यको क्षेत्रमा पर्याप्त लगानी हुन सकिरहेको छैन। मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने मनोचिकित्सक, मनोविद, मनोपरामर्शदाता, साइक्याट्रिक सामाजिक कार्यकर्ता, साइक्याट्रिक, नर्स जस्ता जनशक्ति अत्यन्तै न्यून छन्। जति पनि जनशक्ति छन् ती पनि सहरकेन्द्रित मात्र छन्। दूरदराज र स्थानीय तहसम्म यसको पहुँच पुग्न सकिरहेको छैन।
नेपालजस्तो विकासोन्मुख देशमा त पाँच जना मानसिक रोगीमध्ये चार जनाले उपचार नै नपाउने अवस्था छ।
कोरोना कहरले निम्त्याएको समस्या
कोरोनाको प्रकोपले विश्व नै अहिले आक्रान्त बनेको छ। कोरोना भाइरसको महामारीले विश्वव्यापीरूपमा गम्भीर मनोसामाजिक असर सिर्जना गरेको छ।
कोरोना महामारी सुरु भएपछि मानसिक स्वास्थ सेवाको माग अत्यधिक बढेको छ। आफन्तसँगको वियोग, आइसोलेसन, आयमा भएको ह्रास र त्रासका कारण मानसिक स्वास्थ्य प्रभावित भएको छ। कतिपय मानिसहरू अध्यधिक मदिरापान, लागुऔषध सेवन, अनिद्रा तथा छटपटी जस्ता समस्याले प्रभावित छन्।
कोरोनाले विश्वको ९३ प्रतिशत राष्ट्रमा सघन मानसिक स्वास्थ सेवा अवरुद्ध भएको विश्व स्वास्थ्य संगठनको एक सर्वेक्षणले देखाएको छ। विश्वका एक सय ३० राष्ट्रमा गरिएको अध्ययनले महामारीका कारण मानसिक स्वास्थ सेवाको पहुँच नराम्ररी प्रभावित भएको र विश्वले तत्काल थप लगानी गर्नु पर्ने देखाएको छ।
सर्वेक्षणमा ६० प्रतिशत राष्ट्रमा मानसिक स्वास्थ्य सेवा प्रभावित रहेको र विशेषगरी बालबालिका, किशोर र पौढ बढी प्रभावित रहेको देखिएको छ। यसैगरी, ६७ प्रतिशत जनसंख्याले काउन्सिलिङ तथा साइकोथेरपी सेवा नपाएको देखिएको छ।
नेपालमा पनि टिपिओ नामक संस्थाले लकडाउनको अवधिमा गरेको सर्वेक्षणमा करिब ५० प्रतिशत मानिसमा कुनै न कुनै प्रकारको मानसिक समस्याको लक्षण देखिएको छ।
स्वास्थ्य अनुसन्धान परिषद् नेपालले गरेको अनुसन्धानमा कोरोना भाइरस महाव्याधिका कारण नेपालमा फ्रन्टलाइनमा खटिने २९ प्रतिशत चिकित्सक, नर्स र ल्याबमा काम गर्ने स्वास्थ्यकर्मीमा डिप्रेसनको लक्षण देखिएको छ। अनुसन्धानमा ३५.७ प्रतिशतमा एन्जाइटी र १७.१ प्रतिशतमा साइकोलोजिकल डिस्ट्रेस रहेको पाइएको छ।
मानसिक स्वास्थ्य संवर्द्धनका उपाय
शारीरिक रोगझैं मानसिक स्वास्थ्य समस्यालाई पनि सहजरूपमा लिनुपर्छ। मानसिक रोग निको हुने रोग हो। औषधीको सेवन, मनोपरामर्श तथा पुनर्स्थापनाजस्ता उपचार विधिद्वारा यो रोगको उपचार सम्भव छ।
धर्म परिवर्तन गरेर, भाकल गरेर, धामी–झाँक्री लगाएर, मानसिक रोग निको हुँदैन। यसको उपचारको लागि समयमै विज्ञलाई देखाउनुपर्छ। मानसिक रोग, आत्महत्या प्रतिको गलत धारणालाई हटाउन यस विषयमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्नु पर्छ। यस विषयमा अभियान नै संचालन गर्नु जरुरी देखिन्छ।
मानसिक स्वास्थ्यको बजेट नगन्य छ, यसलाई वृद्धि गर्नु जरुरी छ। मानसिक स्वास्थ्यमा एक अमेरिकी डलर बराबरको लगानीले चार अमेरिकी डलर बराबरको प्रतिफल दिन सक्ने एक अध्ययनले देखाएको छ।
मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने जनशक्ति वृद्धि गर्नु पर्छ। मानसिक स्वास्थ्य कार्यकर्ता निर्माण गर्नु पर्छ। स्थानीय तहसम्म मानसिक स्वास्थ्य सेवा पुर्याउन जरुरी देखिन्छ।
प्राकृतिक विपत्ति आइपर्दा, रोग व्याधि फैलिँदा, दुर्व्यवहार, अन्याय, विभेद र लान्छना जस्तो जीवनमा कठिन अवस्थामा मानसिक समस्यामा पर्ने सम्भावना बढी हुने भएकाले प्रभावित व्यक्ति र समुदायलाई बेलैमा मनोसामाजिक सेवा तथा सहयोगको व्यवस्था राज्यले तत्काल गर्नु पर्छ।
विद्यालय तहमा मानसिक स्वास्थ्यका विषयमा पठनपाठन तत्काल सुरु गर्नु पर्छ। विद्यालयहरू बालमैत्री बनाउनु पर्छ। विद्यार्थीलाई जीवन उपयोगी सीप सिकाएर मनोसामाजिक समस्याको जोखिमलाई कम गर्न सकिन्छ।
वैदेशिक रोजगारीमा जाने युवाहरूका लागि मानसिक स्वास्थ्य तालिम तथा तनाव व्यवस्थापनसम्बन्धी सीप सिकाउन अत्यन्तै जरुरी देखिन्छ।
आफ्नो मानसिक स्वास्थ्य अवस्थाप्रति ब्यक्ति स्वयं पनि सचेत र चनाखो हुनु पर्छ। आत्महत्या र मानसिक रोगबारे खुलेर कुरा गर्नु पर्छ।
मानसिक स्वास्थ्यलाई सबल बनाउन आफ्नो दैनिक रहनसहन, खानपान, जीवनशैलीमा सुधार ल्याउनु पर्छ, जीवनमा अप्ठेरो अवस्था आइपर्दा आफन्त, साथीभाइ र विज्ञको आवश्यक सहयोग लिन ढिला गर्नु हुँदैन।
मानसिक स्वास्थ्यको संवद्र्धन र प्रवद्र्धनका लागि सबै निकायबीच सहकार्य हुनु जरुरी देखिन्छ। सबै सरोकारवाला व्यक्ति, निकाय संघसंस्थाहरूबीच ऐक्यवद्धताको जरुरत छ।
मानसिक स्वास्थ्यको संवर्द्धन र प्रवर्द्धन तथा आत्महत्याको रोकथाममा सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका रहन्छ। यसमा सञ्चारमाध्यमहरूले संवेदनशील भइ सकारात्मक भूमिका खेल्नु पर्छ।
(ढकाल मनोविद् हुन्। उनी मार्क नेपाल मनोसेवा केन्द्रमा कार्यरत छन्)
असोज २४, २०७७ शनिबार १५:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।