स्मृति : साइँली आमा
जीवनमा परेको पहिलो प्रभाव नै अन्तिम प्रभाव हो भनेझैं मेरो बाल्य मस्तिष्कमा उहाँले छोडेको छापले बाँचुञ्जेल पछयाइरहने छ। कारण हो– उहाँको बालबालिकामैत्री मानसिकता। साइँली आमा मेरो बाल्यकालकी आदरणीय पात्र। सम्झना र झझल्कोमा आइरहने प्रिय आकृति। मेरो बाल्यकालको अमूल्य किस्साकी हिस्सेदार। मेरो श्रद्धाकी प्रतिमूर्ति।
तेह्रथुमको साविक आठराई गाबिस मेरो जन्मस्थान। हाल आठराई गाउँपालिका भएको छ। मेरो घरदेखि मुन्तिर साइँली आमाको घर। नाताले मेरो हजुरआमा। हामी केटाकेटीको लागि पानीपँधेरो त्यो घर। कारण थियो– उहाँको आत्मिय स्वभाव। विद्यालय बिदा भएर घर फर्किएपछि हत्तपत्त झोला बिसाएर साइँली आमाको घरमा दगुरिन्थ्यो। कारण थियो– बाल्यकालको मिठो भोक र उहाँले उसिनेको सखरखण्ड अनि इस्कुस खाने चाहना।
हामी आएको देखेर उहाँ एकदम खुसी बन्नुहुन्थ्यो। खाजा अघि नै भाग लगाइदिनुभएको हुन्थ्यो। ‘भोक मिठो कि भोजन’ भनेजस्तै हामी चौरासी व्यञ्जनझंै सखरखण्ड र इस्कुस खान्थ्यौं। दसंै, तिहार, श्राद्ध, औंसी पूर्णिमा पूजाआजामा हामी उहाको लागि निम्तालु हुन्थ्यौं। उहाँले दिएको दक्षिणा थापेपछि मन् झन् फुरुङ्ग हुन्थ्यो। साइँली आमाको खुसी हाम्रो वरिपरि थियो।
उहाँ बूढी भए पनि काम गर्न एकदम जाँगरिली। बारीमा फलफूल, बालीनाली लगाउनमा व्यस्त रहनुहुन्थ्यो। उहाँको बारीको बारमा फलेको लहरेआँप, आल्चा टिपेर खान हामी मरिहत्ते गथ्र्यौं। राताम्य फलेका आरुबखडा, आरुका बोटमा चढेर बिदाको दिन बिताउँथ्यौं। कति मिठो त्यो स्वाद। अझै पनि सम्झिँदा मुख रसाउँछ।
जीवनप्रति उहाँको आशावादी स्वभाव थियो। वर्षायामको बेला म गनगनाउँथे, ‘साइँली आमा आकाश बादलले ढाकिएको छ। पानी पर्छ होला। घाम लाग्दैन होला अब।’ चाउरिएको मुहारमा मुस्कुराहट छरेर उहाँ मेरो निराशालाई लखेट्नुहुन्थ्यो र भन्नुहुन्थ्यो, ‘पानी पर्छ र त घाम लाग्छ। घाम र पानी एक अर्काका जीवनसाथी हुन्। हामीलाई यी दुवैको आवश्यकता छ।’
म पुलकित हुन्थे त्यो आदर्शवादी जवाफले। ती निरक्षर महिलाको गहन चेतनामा घोत्लिइरहन्थे।
गीत र उखान टुक्कामा साइँली आमा माहिर हुनुहुन्थ्यो । एकदिन कूरा गर्दाको सिलसिलामा गीतको मिठो लाइन सुनाउनुभयो, ‘तिम्रो मेरो माया प्रीति बादलजस्तै फाट्यो।’
त्यो पंक्तिले मेरो मन छोयो। पछि त्यसलाई गीत पनि बनाए। जब आकाशमा बादल देख्छु तब मलाई त्यही गीत याद आउँछ। मन अतितको स्मृतिमा लुकामारी खेलिरहन्छ। जीवनमा महत्त्वपूर्ण मान्छे गुमाएको पीडाले सताइरहन्छ। ती मायालु मान्छेलाई म मिस गरिरहन्छु। स्मृतिको अन्तर कुन्तरमा पीडा जमेर बसेझैं भान हुन्छ।
साइँली आमाको फूलबारीमा नानाथरीका फूल फुल्थे। आफू जवान उमेरमा प्रवेश गरेपछि मैले ती फूललाई थुप्रै प्रेम कविताको पात्र बनाए। मेरो बाल्यकालको धेरै समय बित्यो त्यो घरमा, त्यो फूलबारीमा। साइँली आमासँगको भलाकुसारीमा। मेरो सिर्जनशील जीवनको अलिकति चुहावट त्यही ठाउँबाट भएको थियो।
मेरो घरमुनि उहाँको घरमाथि समथर डाँडा थियो। हामी केटाकेटीले त्यसलाई खेलमैदान बनाएका थियौं। गट्टी, झण्डा चोरी, टोपी लुकाई खेल खेल्थ्यौं। माथिबाट म साइँली आमालाई बोलाउँथें। उहाँ आँगनमा निस्किएर बोलाउनुहुन्थ्यो, ‘बालिका खाजा खान आइज है।
साथीहरू पनि लिएर आउनू।’ म सबैलाई साइँली आमाको घर पुर्याउँथें। एकछिनमा सखरखण्ड र इस्कुस उसिनेको भाँडोेलाई रित्तो पाथ्र्यौं हामी। तर, उहाँ रिसाउनुहुन्नथ्यो। बरु हामी केटाकेटीसँगै मुस्कुराउनुहुन्थ्यो। आँखामा हाल्दा पनि नबिझाउने मान्छे! माया र दयाकी खानी!
उहाँले साँधेर खुवाएको ज्यामिरको स्वाद अझ पनि जिभ्रोमा झुण्डिइरहेको छ। उहाँको हात मिठो। साथ मिठो र सबैभन्दा त प्यार मिठो। त्यो उमेरमा पनि उहाँको साहस र कामप्रतिको लगाव देख्दा मलाई अचम्म लाग्थ्यो। जीवनमा केही गर्ने ऊर्जा प्राप्त हुन्थ्यो।
जब मेरो बिहे भयो तब उहाँ र मेरो भेट पातलिँदै गयो। तर, साइँली आमाको नियास्रो मानिरहे। धेरै वर्षपछि बच्चा च्यापेर आफ्नो जन्मस्थान पुगे। उहाँको लागि चौबन्दी चोलो लगेकी थिएँ। अफशोच ! साइँली आमा झापा छोरासँग गइसक्नुभएछ। घरमा गए। रित्तो थियो। फूलबारीमा बेसम्भार थियो। उजाडपनको साम्राज्य व्याप्त थियो। भक्कानो छुटयो। मन खिन्न भयो। चारैतिर सुनसानी देखें।
विगतको यादले मर्माहत भए। इस्कुसको झ्याङ, सखरखण्ड रोप्ने बारी, आल्चाको बोट, लहरेआ“पको लहरा, फूल हेरेर मैले कविता लेख्ने गरेको फूलबारी। सबै अवशेष भइसकेका थिए।
नरमाइलो मानसिकता लिएर कर्मघर फर्किए। केही समयपछि उहाँको मुत्यु भएको सुनें। पीडामाथि पीडा थपियो। मेरो जीवनमा दर्शनको प्रवेश गराउने मेरी प्रिय मान्छेसँग भेट नहुने सम्झिएर उदाश भएँ। जीवनमा सबै इच्छा कहाँ पूरा हुँदारहेछन् र? नियास्रोको खेलकुद रहेछ जिन्दगी। स्मृतिपटलमा मायालु मान्छेको ओहोरदोहोर।
आफ्नो छोरालाई साइँली आमाको बारेमा कथा बनाएर सुनाउँछु। उसलाई सबैभन्दा मन पर्ने कथा यो अनि कथाकी प्रिय पात्र साइँली आमा। मेरो आँखा बोल्दा बोल्दै सजल हुन्छन्। ऊ मेरो आँशु पुस्दै भन्छ, ‘आमा नरुनुस्। बरु हामी पनि बारीमा सखरखण्ड रोपौं न। म पनि उसिनेर खान्छु नि। झ्याङबाट इस्कुस टिपेर उसिनौं न। साथीहरुलाई पनि खुवाउँछु। छोराको निर्दोषीपनले मेरो घाउमा मल्हमपट्टीको काम गर्छ। तर, मन शून्यमा हराइरहन्छ। उसका चञ्चल आँखामा म आफ्नो बालापनको खोजी गर्छु, अनि साइँली आमाको धुमिल तस्बिरमा अल्झिन्छु।
जब मेरो नजर साइँली आमाको लागि किनेको चौबन्दी चोलोमा पर्छ। तब सहिनसक्नु वेदनाले प्रहार गर्छ। उहाँको वृद्ध अनुहारको सम्झनाले मर्माहत बनाउँछ। कुनै कुनै व्यक्ति मरेर गए पनि कसैको जीवनको मर्मसम्म छोएर जाँदारहेछन्। अविष्मरणिय आत्मसंस्मरण बन्दा रहेछन्। साइँली आमाको भौतिक शरीरसँग मेरो भेट नभए पनि उहाँको वात्सल्यले सधैं यो जीवनलाई हराभरा बनाइरहने छ। यही स्वच्छ सम्झना उहाँको लागि साँचो श्रद्धाञ्जली हुने छ। त्यो महान आत्माले चिर शान्ति पाओस्। म यही कामना गर्छु।
असोज २४, २०७७ शनिबार ११:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।