मिथिला कलामा कोरोना

मिथिला कलामा कोरोना

कलाकार कोरोना थिममा अहिले चित्र बनाइरहेका छन्। वरिष्ठ चित्रकार विजयदत्त मणिले आफ्नो चित्रमार्फत कोरोनाबाट आक्रान्त जनता र एक पुरुष आफ्नातिरबाट कोरोना भगाउँदै गरेको देखाएका छन्।

पेन्टिङ गर्दै कलाकार विजयदत्त मणि ।

राजनीतिकर्मी राजिव झाले चित्रकला हेरेपछि समाजमा कोरोनाले पारेको प्रभाव पारेको स्पष्ट देखाइरहेको बताए।

मिथिला चित्रकलाको जनकपुरधाम क्षेत्रमा निकै महत्त्व छ। मैथिली भाषा नेपालको धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरीसहित प्रदेश १ र २ का विभिन्न जिल्लामा बोल्ने गरिन्छ। यही भाषाभाषीका बीचमा पाइने कलालाई मिथिला लोककला भनिन्छ। 

लोकको अर्थ गाउँसहरमा फैलिएको त्यो विशाल जनसमुदायसँग सम्बन्धित छ, जसको व्यावहारिक ज्ञानको आधार पुस्तक नभएर समाजमा निरन्तर रुपले चलिरहेको व्यवहारसित सम्बन्धित छ।

भारतमा पनि यो निकै चर्चित छ। यसमा सयौं कलाकार लागेका छन्। अहिले अधिकांशको कलाकृति कोरोनासँग जोडेर बनाइँदै छ। 

अधिकांश चित्रकारले आफ्नो कलाकृतिमा मास्क र कोरोना भाइरसको स्केचलाई बिम्बका रूपमा प्रयोग गर्दै अहिलेको कठिन समय उतारेको देख्न सकिन्छ।

उनीहरूले चित्रलाई प्रदर्शनीसमेत गरिरहेका छन्। चित्रमार्फत माया, करुणा, सकारात्मक र सिर्जनशील भाव प्रस्तुत गरेर मनको आवेगलाई नियन्त्रण गर्न आह्वान गरेका छन्।

समयको साथै चित्रकला पनि बदलिँदै गएको कुरा सुनैना ठाकुरका चित्रकलामा देख्न पाइन्छ। नेपाल लकडाउनमा रहेको र लकडाउनभित्रको जीवन सुनैनाले आफ्नो चित्रकलामार्फत देखाएकी छन्। 

सिंगो मुलुक कठिनाइसँग जुधिरहेको अवस्थालाई कारुणिक रूपमा चित्रमा व्यक्त गरेकी छन्। उनको चित्रमा एउटी महिलालाई चारैतिर कोरोना भाइरसले आक्रमण गरिरहेको छ। झण्डा काखमा लिएर दुःखी देखिएकी महिलालाई ठाकुरले नेपाल आमाका रूपमा चित्रण गरेकी छन्।

उनले ‘घरमै बसौं, हात मिलाउनुको सट्टा नमस्कार गरौं, साबुनपानीले हात धोऔं र मास्क प्रयोग गरौं’ जस्ता सन्देश पनि चित्रमार्फत प्रस्तुत गरेकी छन्।

‘मेरो चित्र अहिले एउटा कलाकृति मात्र होइन,’ उनले भनिन्, ‘प्रत्येक नागरिकलाई सुरक्षित र सचेत बनाउन यस चित्रले सघाउनेछ।’

सचेतनाका लागि चित्रलाई सामाजिक सञ्जालमार्फत प्रदर्शन गरिएको उनले बताइन्।

वरिष्ठ चित्रकार मणि सामुदायिक विद्यालयमा शिक्षक छन् साथै उनले मिथिला चित्रकलाको प्रशिक्षण पनि दिन्छन्। समयसान्दर्भिक कुराको महत्त्व हुने भएकाले कलाकारहरु यतातर्फ बढी केन्द्रित भएको मणिले बताए।

मिथिला चित्रकलाको चर्चा

मैथिली लोक चित्रकलाको परम्पराको इतिहास कम्तीमा पनि पाँच हजार वर्ष पुरानो रहेको साँस्कृतिक विज्ञहरुको कथन छ।

मिथिलाञ्चलको साँस्कृतिक धरोहरलाई समय–सयममा विश्वस्तरमा प्रतिस्थापित गर्नसमेत प्रयत्नहरु नभएको होइन। जसमा मिथिलाको कला साहित्य तथा साँस्कृतिक गढको रुपमा ख्याति प्राप्त भएको छ। जानकारहरु भन्छन्- यस भेगका कला संस्कृति मिथिला चित्रबाट झल्काउने गर्दछ। अब त्यसको विस्तार अन्य देशमा समेत हुन थालेको छ।

मिथिला लोक-चित्रकलामा विद्यमान आदिम तत्त्वहरु भनेको सरल वक्र दुई चार ठाडा तेर्सा समानान्तर आदि रेखाबाट त्रिकोण, वृत्त, चक्र भएका प्रारम्भिक अतिरिक्त अनेक ऐतिहासिक तथा वैदिककालीन औपनिषद तथा उत्तर मध्यकालीन तत्त्वहरु पाइन्छ।

मिथिला लोक चित्रकलामा अनुसन्धान गरेका जीतबहादुर रायमाझी लेख्छन्- आधुनिक वैज्ञानिक आधारमा खोजी गर्दा सिन्धु घाँटी सभ्यता माथि आर्यहरुले कब्जा गरेपछि आर्यसभ्यताको स्थापना र विस्तारकै प्रक्रियामा मिथिलाको स्थापनाकालमा उदाहरणहरु जोड्दा हडप्या माटाका भाँडाका अवशेषहरुमा पाइएका अंकित चित्रहरु र मिथिलाका झुपडीका भित्तामा लेखिएका शिवलिंग, पेटमा बच्चाको चित्र अंकित हात्तीको चित्र, पीपलको पात, दुईपट्टि सम्मुख चरा वा पशुको अंकित चित्र आदिसँग तुलना गर्न सकिन्छ। यस कलामा खासगरी घरमैै बनाइएका सामानहरुको प्रयोग गरिन्छ। 

यसै परम्पराबाट विकसित हुँदै लोकचित्रकलाका केही आधुनिक स्वरुप ग्रहण गरेको छ। जसलाई मिथिला चित्रकला भनिन्छ। पहिलेको स्वरुपमा रहेको कलालाई अरिपन भनिन्छ, जो मिथिलाको पावन तिहारमा प्रयोग गरिन्छ।

मिथिला कलाको छुट्टै मौलिकता छ। मानवीय अनुभूति यथार्थ रुपचित्र यस शैलीअन्तर्गत पर्दछन्। प्रतिकात्मक र सांकेतिक विम्बहरुकै समष्टि मिलन रेखाबाट यस लोककलाले पौराणिक कथावस्तुका रोचक घटनावलीलाई पछ्याएर प्रस्तुत गर्ने गर्दछ।

भनिन्छ- मिथिलाकला नै यहाँका जीवनशैलीका यथार्थ नमुना हुन्। यसको मौलिक विशेषता र जीवित परिपाटी हो। महिला शिल्पीहरुका अनुसार यसको कथा बुझेको छ र हात बसिसकेको छ भने एउटा कृति एकै दिनमा तयार हुन्छ। कलाकारमा लामो साधना अध्ययन वा कलाकारितामा गहिराइ पनि हुनु जरुरी छैन। तर यस्ता चित्रहरु त्यहाँ प्रत्येक अनिवार्य मानिन्छ।

मिथिला चित्रकलासँग जोडिएका प्रदेश २ मा हजारभन्दा बढी कलाकार छन्। केहीले मात्रै अवसर पाएका छन् अधिकांश कलाकार बेरोजगार रहेको वरिष्ठ कलाकार निर्मला झा बताउँछिन्।

कलाकार सीपको मूल्यांकनका लागि आफू सक्रिय रहेको जनकपुरधामको कनकपट्टीमा मिथिला आर्ट ग्यालरी बनाउने तयारी सुरु गरिसकेको प्रदेश सांसद रामआशिष यादवले बताए। मिथिला आर्ट ग्यालरीलाई लिएर प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसमेत इच्छुक देखिएका छन्।

असोज २४, २०७७ शनिबार ००:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।