बहुप्राविधिक शिक्षालय सञ्चालन गर्दै महानगर 

बहुप्राविधिक शिक्षालय सञ्चालन गर्दै महानगर 

पहिलो चरणमा विराटनगरस्थित जनता मावि र आदर्श बालिका माविमा बहुप्राविधिक शिक्षालय सञ्चालन गर्ने तयारी गरिएको हो। 

बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि सिटिइभिटिईसँग चारवटा विषयको सम्बन्धनसमेत लिइसकेको विराटनगर महानगरपालिकाका शिक्षा शाखा प्रमुख दुर्गा खतिवडाले बताए। 

खतिवडाका अनुसार सिटिइभिटिईबाट डिप्लोमा इन आर्किटेक्चर इन्जिनियरिङ, डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ, डिप्लोमा इन सिभिल इन्जिनियरिङ र डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ विषयमा सम्बन्धन लिइसकिएको छ।

जसमा सिभिल र आर्टिटेक्चर इन्जिनियरिङको विषय जनता नमुना माविमा सञ्चालन गर्ने, जियोमेट्रिक्स र आर्किटेक्चर इन्जिनियरिङको विषय आदर्श बालिका माविमा पठनपाठन गर्ने योजना रहेको महानगरपालिका स्रोतले जनाएको छ।

यी विषय अध्ययन गर्न चाहने विद्यार्थीका लागि महानगरपालिकाले विद्यार्थीको कोटा र शुल्कसमेत निर्धारण गरिसकेको छ। 

शिक्षा शाखा प्रमुख खतिवडाका अनुसार प्रत्येक विषयमा ४८ जनाका दरले एक सय ९२ जना विद्यार्थी भर्ना गरिने छ। यस्तै, महानगरपालिकाले सञ्चालनमा ल्याएको शिक्षालयमा अध्ययन गर्ने विद्यार्थीले यी विषय अध्ययन गर्दा एक लाख ५० हजार रूपैयाँ शुल्क तिर्नु पर्ने खतिवडाले बताए। 

उनले भने, ‘तीन वर्षे कोर्सहरूको वार्षिक ५० हजार रूपैयाँका दरले प्रति विद्यार्थी डेढ लाख रूपैयाँ शुल्क निर्धारण गरिएको छ।’ 

भौतिक पूर्वाधार निर्माण तीव्र गतिमा भइरहेको छ। तर, आवश्यक मात्रामा जनशक्ति नहुँदा विदेशबाट दक्ष जनशक्ति ल्याउनु पर्ने बाध्यता छ। 

आवश्यक जनशक्ति स्वदेशमै उत्पादन गर्ने लक्ष्यका साथ महानगरपालिकाले बहुप्राविधिक शिक्षालय सञ्चालनको तयारी गरेको खतिवडाको भनाइ छ। 

महानगरपालिकाले बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि महानगरपालिकाको शिक्षा शाखामै कार्यालय पनि स्थापना गरिसकेको  छ। विद्यार्थी भर्नाका लागि सूचना पनि प्रकाशन गरिसकेको छ।

भर्नाको सूचना प्रकाशन भइसके पनि कुन–कुन विद्यालयमा यी विषयको पठनपाठन सञ्चालन गर्ने भन्ने विषयमा अझैसम्म निर्णय भइनसकेको खतिवडाले बताए। 

उनले भने, ‘विराटनगरस्थित जनता नमुना विद्यालय र आदर्श बालिका विद्यालयमा प्राविधिक विषयका कक्षा सञ्चालन गर्न छलफल भइरहे पनि औपचारिक निर्णय भइसकेको छैन।’ 

विद्यार्थीलाई कम शुल्कमा इन्जिनियरिङ विषयमा पठनपाठन गर्ने लक्ष्य रहेको महानगरले जनाएको छ।

पहिलो चरणमा दुईवटा विद्यालयमा इन्जिनियरिङ तहको पठनपाठन गरिने भए पनि क्रमशः अन्य विद्यालयमा समेत प्राविधिक शिक्षाको विस्तार गर्दै लैजाने योजना रहेको खतिवडाले बताए। उनका अनुसार महानगरपालिकाले बहुप्राविधिक शिक्षालय सञ्चालन र व्यवस्थापन सम्बन्धमा निर्देशिका निर्माण गरिरहेको छ। केही दिनमै निर्देशिका तयार हुने उनले बताए। 

असोज २३, २०७७ शुक्रबार ००:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।