धान भित्र्याउन चटारो

धान भित्र्याउन चटारो

चाँडो तयार हुने राधा–४, सर्जु–५२ लगायतका धान पाकी सकेकाले भित्र्याउन हतार भइसकेको किसानहरू बताउँछन्। 

‘वर्षाका कारण केही धान ढलेकाले मेसिनले काट्न नमिल्दा हसिँयाले काट्नु परेको छ,’ भजनीका किसान रमेश चौधरीले भने, ‘अहिले किसानलाई खाना खाने पनि फुर्सद छैन।’

धानबाली पछि तोरीबालीका लागि जग्गा तयार गर्नुपर्ने भएकाले पनि किसानहरू धान भित्र्याउन दिनभर व्यस्त भएका छन्।

ढिलो भए जग्गाको चिस्यान उडेर तोरी राम्रोसँग उम्रिन नपाउँने भएकाले किसानले धान भित्र्याएलगत्तै छोरी छर्ने गर्दछन्।

भजनी नगरपालिका–३ का कृष्ण चौधरी विगतमा हातैले धान काट्ने, चुट्ने र गोरुले खेत जोत्दै आएकामा अहिले बाली लगाउने देखि भित्र्याउने सम्म सबै काम पावर टिलरको प्रयोगबाट गरिरहेका छन्।

१८ कठ्ठामा लगाएको धान पावर टिलरको सहायताले झण्डै २० मिनेटमै काटेर भ्याएको उनले बताए।

‘कृषि यन्त्रले अहिले खेती सहज भएको छ’ उनले भने,‘खेत जोत्न र बाली काट्न पावर टिलर तथा धान चुट्न थ्रेसरको प्रयोग गर्दै आएको छु।’

खेतबारीमै थ्रेसरलगायतका आधुनिक यन्त्र पुगेपछि आफूहरूलाई निकै सहज भएको किसानहरूको अनुभव छ।

पछिल्लो समय खेत जोत्ने, जमिन सम्याउने, आली लगाउने, बीउ राख्ने, बीउ छर्ने, रोप्ने, दाइँ हाल्ने, बाली निफन्नेजस्ता सबै काममा आधुनिक कृषियन्त्रको प्रयोग भइरहेको छ।

भजनीका किसान बुधराम चौधरीको डेढ बिघा जमिन छ। उनले यस वर्ष पनि हातलेनै धान काटे। उनले भने,‘चार जना लागेर डेढ बिघा जमिनको धान काट्दै दिनभरीनै लाग्यो।’ उनले कृषि यन्त्र भएको भए १५ देखि २० मिनेटमै काटी सकिने उनले बताए।

परम्परागत हलो जोतेर खेतीपातीको काम गर्दै आएका कैलालीका किसान आधुनिक कृषि यन्त्रतर्फ आकर्षित बढ्दै गएको छ। 

खेतीपाती गर्न छिटो र सजिलो हुने भएकाले आधुनिक कृषि यन्त्रको प्रयोगमा किसानको ध्यान गएको हो। 

बर्खे धान खेती गर्न वा हिउँदे बाली लगाउन त्यस्ता यन्त्रले धेरै सहयोग पुग्ने गरेको किसानहरुले बताउँछन। 

पावर टिलरले खनजोतको काम गर्न सजिलो भएको कैलारी गाउँपालिकास्थित रामपुरका किसान खुशीराम चौधरीको भनाई छ। कृषि यन्त्रले रोपाइँमा समेत धेरै सहयोग पुगेको उनले बताए।

आर्थिक अवस्था कम्जोर भएका किसानहरुले भने परम्परागत तरिकाले नै बाली लगाउने तथा भित्र्याउने गरिरहेका छन्।

जानकी गाउँपालिकाका कृषि शाखा प्रमुख लालवीर चौधरी किसानहरू आधुनिक कृषि औजारमा आकर्षित हुँदै गएपनि कतिपयको आर्थिक अवस्थाका कारण औजार किन्न नसकेकाले परम्परागत औजारकै सहारा लिने गरेको बताउछन्।

स्थानीय तह, प्रदेश सरकार र रानी जमरा कुलरिया सिँचाइ आयोजनाको कृषितर्फको कार्यालयले अनुदानमा कृषि औजार सहयोग गर्दै आएको उनले जानकारी दिए।

आधुनिक यन्त्र उपकरणको प्रयोगले उत्पादनमा वृद्धि हुने गरेको किसानहरु बताउछन्।

कृषिमा यान्त्रिकरणका लागि स्थानीय र प्रदेश सरकारले किसानलाई अनुदानमा त्यस्ता उपकरण उपलब्ध गराउँदै आएका छन्। 
 

असोज २२, २०७७ बिहीबार १२:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।