दूधमती बचाउन जुट्दै युवा

दूधमती बचाउन जुट्दै युवा

जनकपुरधाम-२२, बसविट्टीका युवाहरुले दूधमती नदी संरक्षणका लागि ठाउँठाउँमा सन्देशमूलक पेन्टिङ गर्ने अभियान थालेका छन्। पर्यावरण दिवसको अवसरमा उनीहरुले यस्तो अभियान थालेका हुन्।

सामुदायिक विद्यालयमा शिक्षक समेत रहेका दूधती नदी संरक्षण अभियानकर्ता सुदीप मण्डल दूधमती बचाउन सफाइ, जनचेतना र विकासका काम अगाडि सारेको बताउँछन्।

नदी सफाइ गर्नु पर्ने माग केही वर्षदेखि उठेको छ। 

जनकपुरधाम २२ बसविट्टीका युवाहरुले ४५ सप्ताहदेखि नदीमा सफाइ अभियान सुरु गरेका छन्। अभियान प्रभावकारी रहेको पर्यावरण अभियानी विमलेश मिश्रले बताए। सन्देशमूलक पेन्टिङ पनि त्यसकै कडी रहेको उनीहरु बताउँछन्।


त्रेताकालीन इतिहास  रहेको दूधमती धनुषा र महोत्तरी जिल्ला भएर बग्छ। धार्मिक कथन अनुसार माता सीतालाई दूध खुवाउन कामधेनु गाई आएकी थिइन्। कामधेनुले आफ्नो स्तनबाट दूधको धारा बगाएपछि यो नदी बनेको मान्यता छ।


प्रदेश २ का उद्योग वन पर्यटन मन्त्रालयका अधिकृत सुरेश शर्मा नदीको सौन्दर्यीकरण गर्न सके पर्यटकीय आकर्षक बन्ने बताउँछन्। स्थानीयका अनुसार दूधमती नदीको पानी केही वर्षअघिसम्म दूधजस्तै कञ्चन बग्थ्यो। 

नदीमै ढल र फोहोर फालिएपछि नदी प्रदूषित भएको हो। 

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ सखुवामा उदगम स्थल रहेको दूधमती जनकपुरधाम हुँदै महोत्तरीको मटिहानीसम्म प्रवाहित हुन्छ। कुल ४६ किलोमीटर लम्बाइको दूधमती मिथिलाञ्चलकै सबैभन्दा पुरानो नदीहरु मध्ये एक हो।

नदीलाई हिन्दूधर्मावलम्बीहरुले पवित्र मान्दै स्नान गर्ने, देवकार्य, पितृकार्य गर्ने महत्वपूर्णस्थलका रूपमा लिइने गरिन्छ। बैशाख नवमीमा बसविट्टीमा दूधमती आरती पनि हुने गरेको छ। विश्व हिन्दू परिषदले दूधमतीमै पूर्णिमा र औसीका दिन गरी महिनामा दूई पटक विशेष आरती गर्दे आएको छ।

संरक्षण अभाव तथा जग्गा अतिक्रमणको चपेटमा परेपछि पहिचानका लागि संघर्ष गर्दै छ दूधमती। डम्पिङ साइटको रुपमा प्रयोग र व्यक्तिगत नाममा जग्गा दता गराउने भू–माफियाको गतिविधिले दूधमतीको अस्तित्वनै अहिले संकटमा परेको देखिन्छ।

जनकपुरधाममा डम्पिङ साइट नभएपछि नगरक्षेत्रसँगै आसपासका गाउँबाट समेत निस्केको फोहोर तथा सेफ्टी ट्यांक विसर्जनका यही नदीमा हुने भएकोले नदी प्रदूषित मात्र भएको छैन, बहावमा अवरोध देखिन्छ।
 

नदी संरक्षणका लागि प्रदेश २ सरकारले पनि चासो देखाएको छ। नदीको सौन्दर्यीकरणका लागि भन्दै सरकारले यसै आर्थिक वर्षमा ३ करोड रुपैयाँ छुट्याएको छ। 

मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत नदीको सौन्दर्यीकरण गरिने काम सुरु भएको छ। मुख्यमन्त्री स्वच्छता अभियानका प्राविधिक संयोजक एवं डिभिजन सिंचाई कार्यालय धनुषाकाका प्रमुख भगवान झाले नदीको डिपिआर तयार भएको बताए।


जनकपुरधामको बसविट्टी देखि मौनी बाबाको स्थानसम्म पहिलो चरणमा काम गर्ने योजना छ। कोरोना सक्रमण र

जनकपुरधामको बसविट्टी देखि मौनी बाबाको स्थानसम्म पहिलो चरणमा काम गर्ने योजना छ। कोरोना भाइरस संक्रमण र लकडाउनका कारण सौन्दर्यीकरणका काममा केही ढिलो भए पनि यसै आर्थिक वर्षमा टेन्डर लगायतका काम हुने उनले जानकारी दिए।

जग्गाको सीमाना यकिन गर्दे नापी कार्यालयले नापी पनि गरेको छ। सौन्दर्यीकरण सुरुवातसँगै स्थानीयवासी खुसी रहेको समाजसेवी अमरचन्द्र अनिलले बताए।

असोज २२, २०७७ बिहीबार ०५:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।