राजधानी तोकिएपछि भालुवाङमा उत्सव

राजधानी तोकिएपछि भालुवाङमा उत्सव

दाङ : राप्ती किनारको भालुवाङ बजारमा मंगलबार बेग्लै रौनक थियो। स्थानीय दीप प्रज्जवलन गरेर उत्सव मनाइरहेका थिए।
 

कारण थियो- देउखुरी क्षेत्रलाई प्रदेश ५ अर्थात् लुम्बिनी प्रदेशको राजधानी घोषणा गरिनु। प्रदेशसभाले आजै देउखुरी क्षेत्रलाई राजधानी तोकेको हो।

राजधानीको सपना पूरा

नेपाल मजदुर किसान पार्टीले २०६४ र २०७० सालको निर्वाचन घोषणापत्रमा दाङलाई केन्द्रीय राजधानी बनाउने प्रतिवद्धता गरेको थियो। त्यसयता दाङमा राजधानीको चर्चा चलेको थियो।

त्यसयता यहाँका सर्वसाधारणले राजधानीको सपना देख्दै आएका थिए। उनीहरूको यो सपना अहिले पूरा भएको छ।

प्रदेशसभाको दुईतिहाई मतले दाङको राप्ती गाउँपालिका तथा गढवा गाउँपालिका र अर्घाखाँचीको शितगंगा नगरपालिकाको क्षेत्रलाई तोकेर प्रदेश राजधानी बनाउने निर्णय गरेको छ।

‘प्रदेश ५ को राजधानी बनाउने निर्णयको स्वागत गर्छाैं। यो निर्णय चाडो कार्यान्वयन होस्,’ भालुवाङका अगुवा गुञ्जबहादुर बिष्टले भने, ‘हाम्रो क्षेत्रमा संसद बैठक बसाउन तथा मन्त्रालय राख्न प्रशस्त संरचना छन्। राजधानी सार्न ढिलो गर्न हुन्न।’

प्रदेशको मध्यविन्दुमा राजधानी राख्ने निर्णय गरेर सबैको भावनाको उचित कदर गरेको सर्वसाधारणले प्रतिक्रिया दिएका छन्। ‘सबै जिल्लाको समान दूरीमा राजधानी बसाउने निर्णय भएको छ। यो सुखद निर्णय हो,’ स्थानीय व्यवसायी टोपबहादुर कार्कीले भने, ‘राजधानी राख्ने ऐतिहासिक निर्णयको घरघरमा दीप बालेर स्वागत गर्छौं।’

प्रदेश ५ सरकारले भालुवाङलाई आधार मानेर एउटा नयाँ सहरको परिकल्पना गरेको छ। भालुवाङसहित देउखुरीलाई एउटा नमुना सहरको रूपमा बनाइने प्रदेशसभा सदस्य रेवतीरमण शर्माले बताए।

‘भालुवाङ बस्तीलाई व्यवस्थित गर्छौं। सार्वजनिक स्थलहरूको पहिचान गर्छौं,’ उनले भने, ‘सबैभन्दा सुन्दर बनाउन सकिन्छ। धेरैलाई मन पर्ने बनाउन सकिन्छ। भालुवाङसहित देउखुरीसहित समग्र प्रदेशको सम्भावना र विकासलाई अब कसैले रोक्न सक्दैन।’

‘संरचनाको कमी छैन, बैठक बसाउन सक्छौं’

राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले तत्काल प्रदेशसभाको बैठक राख्न संरचनाको अभाव नहुने बताए। राजधानीको लागि चाहिने संरचना राप्ती प्राविधिक शिक्षालयमा रहेकाले तत्काल बैठक बसाउन, मन्त्रालयको काम कारबाही अघि बढाउन सकिने उनको भनाइ छ।

‘हामीलाई संरचनाको अभाव छैन। जग्गा पनि प्रशस्त छ,’ उनले भने, ‘१६ बिघाको प्लटमा शिक्षालयका भवनहरू बनेका छन्। शिक्षालयलाई विकल्प दिएर हामीले मन्त्रालय र सदन राख्न सक्छौं।’

सबैको ‘पायक’

दाङ सबै जिल्लाको मध्यविन्दुमा पर्छ। प्रदेशको सबैभन्दा पश्चिममा रहेको जिल्ला बर्दियासँगको दाङको दूरी एक सय ९० किलोमिटरको दूरी छ। जबकी बुटवल राजधानी कायम रहँदा पश्चिममा रहेको यो जिल्लालाई प्रदेश राजधानी अपायक थियो।

बर्दियासँगै उसको पूर्वी सीमा साँध रहेको बाँके प्रदेशको अहिले कायम रहेको राजधानीको थलोदेखि लामो समयदेखि असन्तुष्ट रहँदै आएका थिए। यी दुई जिल्लाले प्रदेशको राजधानी अपायक थलोमा रहेको भन्दै कर्णाली प्रदेशमा गाभिने सम्मको निर्णय गरिसकेका थिए।

यसैगरी प्रदेशको पूर्वी सीमा पश्चिम नवलपरासीबाट दाङको दूरी पनि बर्दियाकै बराबर एक सय ९० किलोमिटर छ। यसैगरी उत्तरी क्षेत्रका जिल्लाको दूरी हेर्ने हो भने दाङ नै प्रदेशको केन्द्र उपयुक्त मानिएको छ। प्रदेशको पश्चिम पहाडी जिल्ला पूर्वी रुकुमदेखि दाङको दूरी दुई सय १० किलोमिटर छ।

प्रदेशको पूर्वी पहाडी जिल्ला पाल्पादेखि दाङसम्मको दूरी पनि रुकुम जत्तिकै समान दुई सय १० किलोमिटर रहेको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले जानकारी दिए।

यसैगरि गुल्मीको उत्तरी भू-भागदेखि दाङसम्मको दूरी एक सय ५० किलोमिटर छ।

प्रदेश सरकारले स्थायी राजधानीका तोकेको देउखुरी क्षेत्र राजधानीका लागि हरेक दृष्टिकोणबाट उपयुक्त मानिएको छ। प्रदेशको नाम तथा राजधानीका लागि सिफारिस गर्नका लागि बनेको विशेष समितिले निर्माण गरेको विज्ञ समूहले समेत यो क्षेत्रलाई स्थायी राजधानीका लागि उत्तम मानेको थियो।

प्रदेश सरकारले सिफारिस गरेको देउखुरी क्षेत्रका स्थानीय सरकारका जनप्रतिनिधिले प्रदेशको स्थायी राजधानीका लागि आफ्नो क्षेत्र उपयुक्त भएको बताएका छन्।

‘उर्वर भूमि, वातावरणीय अनुकूलता अनि सुरक्षा दृष्टिकोणले हाम्रो गाउँपालिका क्षेत्र निकै उपयुक्त छ,’ राजधानीको केन्द्रका रूपमा प्रस्ताव गरिएको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले भने।

अहिले गाउँपालिकाले भौतिक पूर्वाधार निर्माणका लागि एक हजार पाँच सय बिघा जमिन प्रदेश सरकारलाई उपलब्ध गराउन सक्ने बताउँदै आएका छन्।

असोज २१, २०७७ बुधबार ०१:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।