कफी निर्यात घट्यो, आयात दोब्बर 

कफी निर्यात घट्यो, आयात दोब्बर 

काठमाडौं : नेपालमा कफी निर्यात घट्दा आयात दोब्बरले बढेको छ।
 

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/०७७ मा नेपालबाट पाँच करोड ७७ लाख २८ हजार एक सय ३० रूपैयाँको ४६ हजार ८ सय ९१ किलो कफी निर्यात भएको छ। 

सोही अवधिमा ११ करोड ८८ लाख ४८ हजार आठ सय ८० रूपैयाँको दुई लाख ६६ हजार एक सय ७१ किलो कफी आयात भएको छ। 
उक्त अवधिमा गरिएको आयात निर्यात रकमभन्दा ६ करोड ११ लाख २० हजार सात सय ५० रूपैयाँ बढी हो। 

राष्ट्रिय चिया तथा कफी बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराई विदेशको माग अनुसार नेपालमा कफी उत्पादन गर्न नसकिएको बताउँछन्। ‘यसले गर्दा लक्ष्य अनुसार कफी निर्यात गर्न सकिएको छैन,’ उनी भन्छन्, ‘यद्यपि, नेपालमा कफी उत्पादनको राम्रो सम्भावना छ।’ 

नेपालमा वार्षिक पाँच सय ३० मेट्रिक टन कफीका दाना उत्पादन हुने बोर्डले जनाएको छ। 

बोर्डका अनुसार नेपालबाट आर्थिक वर्ष २०७५/०७६ मा ९ करोड ९६ लाख १६ हजार एक सय ५० रूपैयाँको ८४ हजार एक सय ३१ किलो कफी निर्यात भएको थियो। 

यो आर्थिक वर्ष २०७६/०७७ मा भन्दा ३७ हजार दुई सय ४० किलो बढी हो। यसको तत्कालीन बजार मूल्य चार करोड १८ लाख ८८ हजार २० रूपैयाँ पर्छ। 

त्यस्तै, आर्थिक वर्ष २०७४/०७५ मा ६ करोड ४० लाख रूपैयाँको ६३ हजार ८५ किलो कफी निर्यात हुँदा ६ करोड ५८ लाख ९२ हजार रूपैयाँको एक लाख ६३ हजार तीन सय ३३ किलो कफी आयात भएको छ। 

नेपाली कफीको तुलनामा विदेशमा उत्पादन हुने कफी सस्तो भएकाले आयात बढेको व्यापारी बताउँछन्। तर, विदेशको कफीको तुलनामा नेपाली कफी गुणस्तरीय भएको उनीहरूको दाबी छ। 

देशभरका ३२ जिल्लामा व्यावसायिकरूपमा ‘टिपिका’ र ‘वर्वन’ जातको कफी खेती हुँदै आएको छ। 

गत आर्थिक वर्षमा विश्वभरका १७ देशमा कफी निर्यात भएको बोर्डले जनाएको छ, जसअनुसार सबैभन्दा बढी जर्मनीमा कफी निर्यात भएको छ। 

यस्तै, बंगलादेश, जापान, नेदरल्याण्ड, अमेरिका, सिंगापुर र भियतनाममा सबैभन्दा कम कफी निर्यात भएको बोर्डले जनाएको छ।

असोज २०, २०७७ मंगलबार २१:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।