प्रविधिमय बन्दै ट्राफिक प्रहरी

प्रविधिमय बन्दै ट्राफिक प्रहरी

यो कहरबीच ट्राफिक प्रहरीले भने आफूलाई प्रविधिमा रूपान्तरण गर्दै लगेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भिमप्रसाद ढकाल कोरोना महामारीले प्रविधिमा आधारित हुन आवश्यक रहेको बताउँछन्। 

यसबीचमा केही ट्राफिक प्रहरी कोरोना संक्रमित भएका छन्। ‘कोरोना संक्रमित हुने, निको हुने र काममा फर्कने त हाम्रो चक्रजस्तै भइसक्यो,’ महाशाखा प्रमुख ढकाल भन्छन्। 

यसले सर्वसाधारणसँग नजिक रहेर सेवा प्रवाह गरिरहेका ट्राफिक प्रहरीलाई अझै प्रविधि प्रयोगमा जान बाध्य पार्दै गयो।  यसबीच अनलाइनबाटै उजुरी लिने तथा सेवाप्रवाह गर्ने, सिसिटिभी हेर्दै कारवाही गर्नेसँगै डमी ट्राफिक प्रहरीको उपयोग भएको छ।

अनलाइनबाटै उजुरी र सेवा

ट्राफिक प्रहरीले सवारी साधनको हराएका कागजपत्रको सिफारिस अनलाइनबाटै गर्न सकिने व्यवस्था ल्याएको छ।

यससँगै हराएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स), सवारी दर्ता किताब (ब्लु बुक) र सवारी इजाजतपत्र (रुट पर्मिट)को सिफारिस लिन महाशाखामा आएर फर्म भर्नु पर्ने बाध्यता अन्त्य भएको छ। 

सेवाग्राहीले अनलाइनमार्फत फर्म भरेको २४ घण्टापछि यातायात कार्यालयको लागि सिफारिस लिन सक्ने छन्। सेवाग्राहीले २४ घण्टापछि प्राप्त गरेको सिफारिस रिपोर्टको प्रिन्ट लिएर यातायात कार्यालयमा गइ लाइसेन्स र अन्य सवारीको कागजपत्रको प्रतिलिपीसमेत पाउन सक्छन्।

त्यस्तै, अनलाइनबाटै हराएका सवारीको उजुरी गर्न आइतबारबाट ‘लस्ट एण्ड फाउण्ड भेहिकल म्यानेजमेन्ट सिस्टम’ पनि कार्यान्वयनमा आएको छ। यसले हराएका सवारीबारे अनलाइनबाटै फाराम भर्न र भेटिएकाबारे जानकारी पाउन सकिन्छ। 

सिसिटिभी हेरेर कारवाही

ट्राफिक प्रहरीले लेन मिच्ने लगायतका जरिवाना तिराउन सिसिटिभी हेरेर कारवाही गर्दै आएको छ। त्यस्तै, महसुल मोबाइलबाट नै तिर्न मिल्ने प्रणालीको विकास पनि अन्तिम चरणमा पुगेको महाशाखाले जनाएको छ। 

ट्राफिक लाइट मर्मत र जडान

महाशाखाले वर्षौंदेखि बिग्रिएका ट्राफिक लाइटको मर्मत र आवश्यक स्थानमा ट्राफिक लाइट जडान गरेको छ। 

यसले जनशक्ति खटनमा कमी आएको छ। ‘६ जना जनशक्ति लाग्ने ठाउँमा दुई जनाले खटाए पुग्छ। अरुलाई आवश्यक स्थानमा खटाउन पाएका छौं,’ ढकाल भन्छन्। 

यो प्रयास महामारीअघि पनि निरन्तर भइरहेको थियो। यसका लागि महाशाखाले स्थानीय तहसँग समेत समन्वय गरेर उपत्यकामा ट्राफिक लाइट राख्दै आएको छ।

डमी ट्राफिक प्रहरी

अहिले उपत्यकाका धेरै स्थानमा डमी ट्राफिक प्रहरी देख्न सकिन्छ। यसले महामारीको समयमा सडकमा ट्राफिक प्रहरीको अनुपस्थितिमा पनि दुर्घटना न्यूनीकरणमा सहयोगी बनेको महाशाखाको अनुभव छ। 

अब यसलाई फरकरूपमा प्रस्तुत गर्ने योजना पनि ट्राफिक प्रहरीसँग छ।

एसएसपी ढकाल डमीलाई उपत्यकाका पाँच स्थानमा स्टेजको स्वरूपमा राखेर विभिन्न कलाकारको आवाज दिएर दैनिक लाखौंलाई एकैपटक ट्राफिक सचेतना दिन सकिने गरि तयारी भइरहेको बताउँछन्।
 

असोज २०, २०७७ मंगलबार ०१:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।