सीमामा लर्काे : कतै फर्कदै, कतै जाँदै
काठमाडौं : हिन्दू नेपालीहरूको मुख्य पर्व दसैं नजिकिएसँगै देशभरका नेपाल-भारत सीमा नाकामा मानिसको चहलपहल बढेको छ।
कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण लकडाउन अवधि (चैत ११ देखि साउन ६)मा सुनसानजस्तै बनेका नाकामा पछिल्लो समय भिडभाड बढेको हो।
नाकामा कतै घर फर्किनेको घुइँचो छ भने कतै भारत जानेको लर्काे देखिन्छ।
प्रदेश ५ : घर फर्केनको घुइँचो
दसैं मनाउन रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका प्रदेश ५ का स्थानीय घर फर्कन थालेका छन्। रूपन्देहीको बेलहिया नाका हुँदै फर्किनेको घुइँचो लाग्न थालेको छ।
‘लकडाउनका बेला धेरै नेपाली भारतबाट नेपाल आउनु भयो। बीचमा धेरै कम भयो। तर, अहिले दसैं मनाउन आउने बढिरहनु भएको छ,’ रूपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले भने, ‘अहिले दैनिक दुई सयभन्दा बढी नेपालीहरू बेलहिया नाका हुँदै नेपाल भित्रिनु भएको छ। यो संख्या दसैंनजिक झन् बढ्ने देखिन्छ।’
कोरोना संक्रमणको डरले लकडाउनका बेला बेलहिया नाका हुँदै फर्किने नेपालीको संख्या दैनिक ४–५ सय थियो। साउन र भदौमा त्यो संख्या घटेर एक सयको हाराहारीमा पुग्यो। तर, असोजयता त्यो संख्या दुई सयभन्दा बढी पुगेको छ।
असोज १–१६ गते दिउँसोसम्म बेलहिया नाकाबाट तीन हजार ६ सयभन्दा बढी नेपाली स्वदेश फर्किएको प्रशासनको तथ्यांकले देखाउँछ।
भारतको हरियाणामा रोजगारी गरी फर्किएका पाल्पा, रामपुरका पिताम्बर खनालले दुई वर्षपछि बल्ल परिवारसँग दसैं मनाउने जनाए।
‘म एउटा कम्पनीमा मजदुरी गर्थे। दुईवटा दसैं–तिहार उतै मनाए। अहिले परिवारसँग मनाउँछु। खुसी लागेको छ। कतिखेर घर पुगौं भन्ने भएको छ,’ उनले भने।
कोरोनामा पनि आफूले निरन्तर काम गरेको उनले सुनाए। उनले फर्किँदा भारतमा नेपालीहरूलाई नराम्रो व्यवहार गर्ने गरेको सुनाए।
‘फर्कने क्रममा कोरोना लागेको छ की भनेर नेपालीहरूलाई भारतीयले रेल, बसहरूमा नराम्रो व्यवहार गर्ने गरेका छन्,’ उनले भने।
नेपाल आएपछि सीमा क्षेत्रमा यातायात लगायतको सुविधा राम्रो नभएको र सामाजिक दूरीको बेवास्ता गरिएको उनले गुनासो गरे।
भारतको जम्मु काश्मिरबाट फर्किएका लमजुङ, सुन्दर बजारका भरतबहादुर थापाले पनि यातायात व्यवसायीले मनपरी भाडा लिएको, स्वास्थ्यको मापदण्ड कायम नगरिएको गुनासो गरे।
‘महामारी उच्च रहेको भारतमा म अहिलेसम्म सुरक्षित थिए। तर, नेपाल आएपछि कुनै पनि मापदण्ड पालन नगरेको पाइयो, जसले संक्रमण जोखिम बढेको छ,’ उनले भने।
थापाले आफन्तलाई उध्दृत गर्दै लमजुङमा क्वारेन्टिन नभएको बताए। अन्य जिल्लामा क्वारेन्टिन भएको बताउँदै उनले सबै जिल्लामा एउटै मापदण्ड बनाउन सरकारसँग माग गरे। उनले भारतमा एक वर्ष रोजगारी गरि दसैं मान्न घर फर्किएको बताए।
उनीहरूजस्तै भारतमा रोजगारी गरी फर्कने नेपालीले सीमा क्षेत्रमा सास्ती खेप्ने गरेको गुनासो गरेका छन्।
कतिपयले फर्कने क्रममा भारतीय भूमिमा समेत समस्या भएको बताएका छन्। सीमा क्षेत्रमा सामाजिक दूरी कायम नगरिनु, यातायातको राम्रो व्यवस्था नहुनु र भीडभाड बढ्नुले गर्दा कोरोनाको त्रास झन् बढेको छ। प्रशासनले भने नेपाल भित्रिनेको तथ्यांक राखिएको, सामान्य स्वास्थ्य चेकजाँच गर्ने गरिएको र सरकारले तोकेका स्वास्थ्यका मापदण्ड अपनाएर स्वयं व्यक्तिले नै यातायातको व्यवस्था गरी गन्तव्यमा जाने व्यवस्था मिलाएको जनाएको छ।
प्रमुख जिल्ला अधिकारी घिमिरेले पर्व मान्न आउने नेपालीलाई क्वारेन्टिनमा बस्नु पर्ने र त्यसको व्यवस्था सम्बन्धित स्थानीय सरकारले मिलाएको जनाए। ‘हामीले सीमामा व्यक्तिको विवरण राख्ने, सामान्य चेकजाँच गर्ने गरेका छौं, उहाँहरु आफ्नो गाउँ पुगेपछि क्वारेन्टिनमा बस्नुपर्छ। सरकारी स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ,’ उनले भने।
कोरोना नफैलियोस् भनेर रूपन्देहीको बेलहिया नाकाबाहेक अन्य नाकाबाट नेपाल–भारत आउजाउ गर्न रोक लगाइएको छ। स्वदेशीबाहेक अन्य भारतीय नागरिक नेपाल आउन चाहेमा कामको प्रकृति, प्रशासनको स्वीकृति र पीसीआर रिपोर्ट नेगेटिभ भएको कागजात पेस गरेर मात्रै प्रवेश दिइन्छ।
भारतीय सुरक्षाकर्मीले पनि भारतमा सरकारी जागिर भएका, गम्भीर बिरामी, आधार कार्ड भएकालाई मात्रै प्रवेश दिने गरेको छ। सधैंजसो यसपल्ट चाडपर्व नजिकिँदै गर्दा सीमा क्षेत्रको भारतीय बजार सुनौलीमा खरिदारीका लागि जाने नेपालीहरू छैनन्। तर, पर्व मान्न आउने नेपालीहरूको सीमा क्षेत्रमा भने घुइँचो लाग्न थालेको छ। स्वास्थ्यका मापदण्डसमेत पालना नगरिँदा पर्वका बेला गाउँगाउँमा कोरोना संक्रमण फैलन खतरा भने बढेको छ।
सुदूरपश्चिम प्रदेश : घर फर्किनेभन्दा भारत जाने दोब्बर
दसैं नजिकिँदा देशभरका सीमा नाकामा घर फर्किनेको घुइँचो लागिरहँदा सुदूरपश्चिमको त्रिनगर नाकामा भने भारत जानेको लर्काे लागेको छ।
नाकाबाट स्वदेश फर्किनेभन्दा भारत जानेको संख्या दोब्बरभन्दा बढी छ।
अहिले दैनिक हजारभन्दा बढी व्यक्ति भारत जान थालेका छन्। जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरका अनुसार गत शनिबार ६ सय ३८ जना भारत गएका थिए। शनिबार भारतका विभिन्न स्थानबाट सात सय दुई जना नेपाली नेपाल फर्किएका थिए।
यसअघिका वर्ष दसैं आउनु एक महिनाअघि भारतबाट घर फर्किनेको भीड लाग्ने गथ्र्यो।
असोजको सुरुदेखि घर फर्किनेभन्दा भारत जानेको संख्या दोब्बर छ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण रोजगारी गुमाएर फर्किएकाहरू स्वदेशमै रोजगारीको विकल्प नपाएपछि पुनः भारत जान थालेको बताउँछन्।
अछामको मेल्लेख गाउँपालिका–१ का दीपक विकले स्वदेशमा रोजगारी नपाएको र कमाएको रकम सकिएकाले पुनः भारत जान बाध्य भएको बताए।
२५ हजार भित्रिए, ४३ हजार बाहिरिए
सुदूरपश्चिमका गड्डाचौकी र त्रिनगर नाकाबाट भदौ ८ गतेयता २५ हजारभन्दा बढी मानिस भित्रिएको जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरले जनाएको छ। यो संख्या शनिबारसम्मको हो।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले नेपाली नागरिकता देखाउनेलाई नेपाल भित्रिन र भारतीय आधार कार्ड देखाउने नेपालीलाई भारत जान दिइरहेको बताए।
भारतीय आधार कार्ड भएका नेपालीको परिवार त्यहाँ रहेकाले उनीहरूलाई जान दिइएको उनको भनाइ छ।
‘रोजगारी गर्न पाउने र रोजगारीका लागि विभिन्न देशमा जान पाउने नागरिकको नैसर्गिक अधिकार भएकाले प्रशासनले यसमा केही गर्न सक्दैन,’ प्रमुख जिल्ला अधिकारी महतोले भने, ‘नेपालीहरूलाई कोरोना कहरको बेला भारत जानबाट रोक्ने प्रमुख दायित्व स्थानीय सरकारहरूको हो। उनीहरूले स्थानीयस्तरमा रोजगारी सृजना गरेर नेपालीहरूलाई संक्रमणको बेला भारत जानबाट जोगाउन सक्छन्।’
स्थानीय र प्रदेश सरकारहरूले चालु आर्थिक वर्षको बजेटमा कोरोना प्रभावितका लागि रोजगार सिर्जना गर्न कार्यक्रम र बजेट व्यवस्था गरेका छन्। तर, ती कार्यक्रम कार्यान्वयन हुन नपाउँदै नेपालीहरू रोजगारी खोज्दै भारत छिर्न थालेपछि कार्यक्रम र बजेटको प्रभावकारितामाथि पनि प्रश्नचिन्ह उठेको छ।
डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष तथा गाउँपालिका महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष दुर्गादत्त ओझाले प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कोरोना प्रभावितका लागि कृषि व्यवसायका लागि निकालेको सूचनाको फाराम भर्न र कृषि व्यवसायमा लाग्न नागरिकलाई आग्रह गरिरहेको बताए। उनले तत्काल कृषि बाहेकको पेशामा रोजगारीको सम्भावना कम रहेको बताए।
नेपाल भारत आवतजावतका लागि सुदूरपश्चिमको नाका प्रयोग गर्नेमा सुदूरपश्चिमसँगै कर्णाली प्रदेशको सुर्खेत, जुम्ला, दैलेख लगायतका जिल्लाका नागरिक पनि छन्। भारत जानेहरू र भारतबाट स्वदेश फर्किनेहरूमध्ये अधिकांशले धनगढीको त्रिनगर नाका प्रयोग गर्ने गरेका छन्।
यो बेला भारतको सिमला, कश्मिर लगायतका ठाउँमा स्याउ टिप्ने, समुद्री तटमा माछा मार्ने, लगायका काम पाइने भएकाले नेपाली त्यहाँ जान थालेका हुन्।
यस्तै, प्रदेश १ र २ का सिमा नाकाबाट पनि दसैं मनाउन घर फर्किनेहरू बढिरहेका छन्।
असोज १९, २०७७ सोमबार १०:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।