बलात्कारको घटना पैसामा मिलाएको आरोपमा पञ्चायतका अगुवा पक्राउ
वीरगन्ज : किशोरी बलात्कार आरोपमा सिराहामा एक युवकसहित प्रहरीले घटना मिलापत्र गर्ने पञ्चायतका अगुवालाई नियन्त्रणमा लिएको छ।
प्रदेश २ प्रहरीले बलात्कारका आरोपित बिष्णुपुर–१ का २० वर्षीय मुकेशकुमार साहसहित बलात्कार घटना मिलापत्र गर्ने ७ जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार साहले गत सोमबार स्थानीय १६ वर्षीया किशोरीलाई बलात्कार गरेका थिए। बलात्कार घटनामा पञ्चायत बसेर पीडित परिवारलाई ५ लाख रुपैयाँ दिने प्रलोभन पारेर लिखित कागज गरेर घटना ढाकछोप गरेको खुलेको छ।
पक्राउ पर्नेमा विष्णुपुर–१ सिंहेश्वर साह, अरविन्दकुमार साह, शत्रुधन साह, राजकुमार साह, राम उदागर यादव र श्यामसुन्दर यादव छन्।
बलात्कार घटनाका मुख्य अभियुक्त मुकेशकुमार साहलाई जबरजस्ती करणीअन्तर्गत तथा उक्त बलात्कारको घटना लुकाउन मतियारको भूमिका खेलेका पञ्चायतका अन्य सदस्यलाई कारवाहीको लागि थप अनुसन्धान भइरहेको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ।
असोज १८, २०७७ आइतबार २०:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।