...अनि पुरानै स्वरूपमा बन्यो प्रभा मावि

...अनि पुरानै स्वरूपमा बन्यो प्रभा मावि

काठमाडौं : झिँगटीको छानो, सालको काठको झ्यालढोका, भक्तपुरे इँटा। इँटाको कापमा लगाइएको छ चुन। 
 

काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–६, कार्तिके देउरालीस्थित प्रभा माध्यमिक विद्यालयको भवन यिनै निर्माण सामग्रीबाट बनेको छ।

२०७२ सालको भूकम्पले क्षतिग्रस्त बनेपछि विद्यालय भवन भत्काएर पुरानै स्वरूपमा नयाँ भवन बनाइएको हो।  

आधुनिक जमानामा पनि पुरानो शैलीमा बनाइएको घर देख्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। 

किन बनाइयो त पुरानै स्वरूपमा भवन ? 

 

विद्यालय व्यवस्थापन समिति अध्यक्ष तेज पन्त विद्यालयको इतिहास जोगाउन पुरानो शैलीमा भवन बनाइएको बताउँछन्। 

‘विद्यालय नयाँ मोडलमा बनाउनु पर्छ भन्ने बहस पनि भएको थियो। तर, विद्यालयको इतिहास जोगाउन पुरानै शैलीमा भवन बनाउनु पर्छ भन्नेमा सबैको सहमति जुट्यो,’ अध्यक्ष पन्त भन्छन्।

गत वैशाखमा निर्माण सुरु गरिएको उक्त भवन चार महिनामा सम्पन्न भएको हो। भवन चार आना क्षेत्रफलमा बनाइएको छ। 

भवनका लागि भक्तपुरको एक नम्बर इँटा, चुन र स्थानीय झिँगटी प्रयोग गरिएको अध्यक्ष पन्तले बताए। उनका अनुसार भवनलाई प्रशासनिक कामकाज र संग्रहालयको रुपमा उपयोग गर्ने तयारी भएको छ। 

उक्त भवन २०१० सालमा बनेको थियो। 

२०७२ सालको भूकम्पमा क्षतिग्रस्त प्रभा माविको भवन। 

भवन गाउँपालिका,  संघीय सांसद काेष र विद्यालयको २६ लाख रूपैयाँको  लागतमा निर्माण सम्पन्न भएको हो। ‘भवनमा पिलर छैन। तर, भूकम्पको मापदण्ड अनुसार रड प्रयोग गरिएको छ। इँटा र सिमेन्टको १४ इन्चको गाह्रो लगाइएको छ,’ अध्यक्ष पन्तले भने। 

चौँरीदेउरालीका स्थानीय तथा शिक्षक अंकुर पन्त प्रभा मावि काभ्रेको ऐतिहासिक  विद्यालय भएको बताउँछन्। ७५ वर्ष पुरानोे विद्यालयलाई सोहीरूपमा जोगाउने प्रयास भएकोमा उनी खुसी व्यक्त गर्छन्।

विद्यालयले अहिले सिफ्टमा कक्षा सञ्चालन गरिरहेको छ। प्रावि र मावि तहलाई एकदिनको फरक पारेर कक्षा सञ्चालन गरिरहेको व्यवस्थापनले जनाएको छ। 

असोज १८, २०७७ आइतबार ०१:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।