आमा मर्दा म रोइनँ

आमा मर्दा म रोइनँ

अस्ति भर्खरै जनमेजयकी आमा पनि मरिन् । मान्छे नमर्ने हो भने त कसरी हुन्छ ? 

हो, आमा मर्दा म रोइनँ । अरुहरु खुबै रोए । दिदीहरु डाँको छोडीछोडी रोए । पकु त बेहोसै भएकी थिइन् । अरु कसैले पानी छम्किएर होसमा ल्याए उनलाई । गाउँभरिका छरछिमेकीहरु आउँथे । प्रायः महिला मेरो चिउडो, गाला, शिर मुसार्थे र सुकसुकाउँथे । उनीहरुले मबाट आँसु लुकाएझैँ गर्दै नजानिदो तरिकाले भनिरहेका हुन्थे ‘हेर, तिम्री आमाको मृत्युमा हामी कति धेरै शोकाकुल भएका छौँ ।’

म चुपचाप सोच्थेँ । राम्रै.. लाग्थ्यो । जाबो एउटी आमा मरेर गइन् त के भो ? मामसाईली, मामकान्छी, मामजेठी सबैजनाले आमाले जस्तै माया गरिरहेकै छन् । म जाबो बबुरो किन पो रुन पर्याे ?  

त्यो रात त, मलाई साह्रै नमिठो लागेकै हो । जतिखेर बायकुखोला शिरको दहमा आमा भेटिएको खबर कसैले सुनायो । गाउँभरिका हामी सबैले राँको बालेर वनैभरि आमाको खोजी गर्दैथियौँ । वासिङ्माला, धाँड्खोलाको चेपचाप, कागुनेको कुनाकाप्चा, बरडाँडाको छेउछाउ सबैतिर हामी पुगिसकेका थियौँ । चिरिम्बेभीर जाँदै गर्दा एक्कासि कसैको आवाज आयो । ‘ल है, सबैजना यता आउनु पर्याे । कटक्यम्मालाई यहाँ फेला पारियो ।’

मेरो हातमा राँको थिएन । त्यो आवाज सुन्नासाथ अँध्यारोमा म यतिछिटो कुँदे । बलिरहेको राँको पहिल्याउँदै बायकुखोला शिरमा पुगेँ । गाउँकै दाजैबाबैहरु त्यहाँ थिए तर आमालाई देखिनँ । ‘खै मेरी आमा ?’ म खोल्सातिर लम्किएँ । 

कसैले मलाई समातेर भन्यो, ‘आमा लडेर साह्रो हुनुभाको छ । अहिले बोल्न सक्नुहुन्न । उपचार गरेपछि निको हुन्छ अनि भेट्नु ।’ सधैँ आमाको अँगालोमा बेरिएर निदाउने म; आमाको काख छोडेर जङ्गलको अनकन्टार ठाउँमा निदाउनु पर्याे ।

ब्युझिँदा, घाम झुल्किसकेको थियो । दाइ मेरो छेउमा टुसुक्क बसिरहनु भएको थियो । अरे ! जेठो दाइ पनि मसँगै बस्नुहुँदोरहेछ ! म छक्क परेँ । थुप्रै मान्छेहरु भेला भएका थिए । कोही कोही सुकेका दाउरा काटिरहेका थिए । कसैले ओसारी रहेका थिए । कसैकसैले डल्लै मुढा ल्याइरहेका थिए । हामी ढिस्कोको एकापट्टि कुनामा बसिरहेका थियौँ । ढिस्कोको अर्कोपट्टि छेउमा केही मानिसहरुले दाउराको चाङ् मिलाउन थाले । उनीहरु एक–आपसमा गफिँदै हाँस्दै  थिए । 

पाखोभरी छरिएका मानिस दाउरा काट्न छोडेर भेला भए । के यिनीहरु जम्मै मेरी आमालाई उपचार गर्न आएका हुन् ? स्वास्थ्यचौकी गएर डाक्टर ल्याउनुको सट्टा; किन दाउरा भेला पारेको ? सोध्न मन लागेको थियो । दाइ छेवैमा बसिरहेकोले डर लाग्यो । सोध्न सकिनँ । डाक्टर कतिखेर आइपुग्नु हुन्छ ? सोच्दै बसिरहेँ ।

मान्छेहरुले बटुलेका सबै दाउराको चाङ् लगाइसके । एकछिनपछि चारजनाले खोल्सीबाट हरियो बाँसको डोलीमा आमालाई बोकेर ल्याए । आमाको पूरै शरीर सेतो कपडाले ढाकिएको थियो । ल्या ! आमा त मरि छन् कि क्या हो ? मेरो मुटुले एकाएक ठाउँ छोड्यो । हिजो नै किन कसैले ‘तिम्री आमा मरिन् ।’ भनेर नभनेको ? हिजै भनिदिएको भए हुन्थ्यो नि । कमसेकम घरमै आएर आमा सुन्ते ओछ्यानमा त सुत्थेँ । आमाको ओछ्यानमा सुत्न नपाएकोले मलाई साह्रै थकथकी लाग्यो ।

दाइ बसिरहेको ठाउँबाट जुरुक्क उठेर जानुभयो । आमाको शिरमा एक हातले समाउनु भयो । मैले मेरो दाइलाई बाहेक सबैलाई चिन्न छोडेँ । ‘ए दीपक तँ पनि आइजा; आमाको अनुहार हेर ।’ म तीन छक्क परेँ । कारण मलाई दीपक हैन पिपक भनेर बोलाउँथे । 

म स्वचालित मेसिनझैँ आमाको छेउमा पुगेँ । कसैले  छोपिरहेको  आमाको अनुहार खोलिदियो । मैले एकदमै तिखो आँखा पारेर नियालिरहेँ । आमाको अनुहार बिल्कुल पहिलेको जस्तो हल्का चाउरी परेको गहुँगोरो वर्णको थिएन । गाला पुटुक्क परेको; शरीरमा एकथोपा रगत नभएजस्तो अनुहार, आँखा चिम्लिएको, मुख बन्द भएको, सलक्क परेको आमाको नाकमा फुुली थिएन । पुनः आमाको अनुहार अरुहरुले छोपिदिए ।
 
आमालाई दाउराको चाङ्माथि राखियो । आमाको शरीरमा भएका सबै लुगा दाइले ध्वारर...ध्वारर... च्यातेर कफनभित्रैबाट निकाल्नुभयो । हातमा आगो (दागबत्ती) लिएर दाइले मेरो एकहात समाउनु भयो र आमाको वरिपरी फन्को लगाउन थाल्नुभयो । फन्को लगाइसकेपछि एकछिन टक्क रोक्किनु भयो र हातको आगो आमाको मुखमा राखिदिनु भयो । 

जुत्ताचप्पल लगाउन नहुनाले घर फर्किँदा देब्रे पाइतालामा काँडा बिझ्यो । हत्तपत्त पैताला उचालेर हेरेँ । ऐँसेलुको काँडा रहेछ । निकालेर फालेँ । अरुका आमा मर्दा चिहान बनाएर गाड्थे । मेरी आमा मर्दा भने यिनीहरुले किन जलाएका होलान् ! मनमनै विचारेँ । अनायास मेरो हात टाउकोमा पुग्यो । मुडुलो टाउकोलाई टालोले बाँधेको थियो । 

तीन दिनसम्म हामी दाजुभाइ सँगै सिकुवामा बस्यौँ । सिकुवाको खाट आँगनमा निकालिएको थियो । परालको गुन्द्री भुईँमा ओछ्याइएको थियो । हामी त्यही गुन्द्रीमा एकआपसमा नबोलिकनै बसिरह्यौँ । गाउँभरिका मान्छे भेला हुन्थे र खाटमा बस्थे । नअटाएकाहरु अर्कोपट्टि सिकुवाको आरामदायी बेन्चमा बस्थे । दाइ उनीहरुसँग बोल्नुहुन्थ्यो । म कसैसँग बोल्नु परेनँ । तीन दिनपछि दाजुभाइका लागि नुनतेल खुल्यो तर हामी दाजुभाइको खुलेन । हिँडडुल गर्न पाइने तर नुन, माछामासु जाँडरक्सी, दूधदही लगायतका धेरै कुरा बार्नुपर्ने भयो तर दाजुभाइ सँगै बस्नु परेन । हामी अलग–अलग भयौँ ।

नुनतेल छोएको दिन दाइले भन्नुभयो ‘आजदेखि तँ गोठाला जा है केटा । म भैँसीलाई घाँस काट्छु ।’ हाम्रो दुईओटा गाई, एक गोरु र पाँचओटा बाख्रा बस यति थिए चराउन लैजानुपर्ने । म खोल्मातिर लागेँ । गोठाला जान ।

गाईबाख्रालाई तीन सल्लेतिर छोडिदिएर वासिङ्मालाबाट सुर्केबारीका कान्ला चढ्दै देवीस्थान निस्किएँ । करालो जमिनमा झ्याम्म परेका ठुलाठूला एकजोर चिउरी थिए । त्यसको फेँदमा देवीस्थान थियो । वरिपरि अरु पनि चारपाँच बोट चिउरी, बाँसझ्याङ् र कदमका स–साना बिरुवालगायत अरु बोटबिरुवाको समेत झाँडी थियो । झाडीभित्र बीचमा सम्म पारिएको ठाउँ थियो । यो ठाउँबाट गाउँ जाने बाटो थियो । त्यही छेउमा वर्षे पानी बग्ने खोला थियो । खोलापारि अलि मास्तिर भित्तामा चिउरी र रिठ्ठाको बोट थियो । ती दुई रुखको बीचफेदमा मेरो आप्पाको सिकारी थान थियो ।  ढुङ्गाको गारो लगाएर सिकारी थानसम्म पुग्ने खुड्किलो बनाएको थियो ।

म त्यहाँ गएँ । सिकारी शीलालाई छोएँ, सुमसुम्याएँ । अनायास मेरो हात नमस्कार भयो । फरक्क फर्केर पुनः देवीस्थानभित्र पसेँ । सम्म परेको भागको एक खुड्किलो माथि  भित्तामा ठाडो परेर बीचमा चिरिएको ठूलो ढुङ्गाको पहरा थियो । त्यसको कुनामा पनि लहरै देवीहरुका थान थिए । त्यसलगत्तै पल्लोपट्टि कोल्टो परेको ठाउँमा त्यहीँ ढुङ्गाको ओडार थियो । ओडारको चप्लेटी ढुङ्गामा बसेर सोच्न थालेँ । 

खामाखा स्कुलभन्दा माथि एउटा दुबो बिछ्याइएको खुला चउर थियो । यो चउर आयताकारमा फैलिएको थियो । त्यो भन्दा माथि जाने ठाउँ थिएन । अर्थात् त्यो चउरलाई टेकेर आकाश उभिएझैँ लाग्थ्यो ।

उत्तरपट्टिको मनोमोहक हिमशृङ्खला देख्दा लाग्थ्यो, स्वर्ग जने बाटो यही आकाशमा पुल बनेर तेर्सिएको छ । जो हामी देख्न सक्दैनौँ । जिउँदो भएकाले । 

हामी स्कुलको टिफिन समयमा यहीँ आदि । यो वि.स. २०५२ सालको कुरा हो । म यस स्कुलको कक्षा पाँचमा पढ्थेँ । मसँगै अर्को एकजना केटासाथी थियो, राजेश । कक्षाभरि जम्मा हामी दुईजना केटा थियौँ । अरु सबै केटीहरु । उनीहरु बस्ने सिट नपुगेर ठेलमठेल गर्थे । हामी दुई एकजोर बेन्चमा खेलमखेल बस्थ्यौँ ।

कक्षामा पढाउन आउनुभएको बेला सरले नअटेका दुईटी केटीलाई हामी बसेको सिटमा राखिदिनुहुन्थ्यो । सरले पढाउञ्जेल उनीहरु बस्थे । सर कक्षाबाट निस्कनासाथ उठेर उही सिटमा धकेलाधकेल गर्न जान्थे । हामीलाई आनन्द लाग्थ्यो । 

यो स्कुलमा पाँच कक्षाभन्दा माथि पढाइ हुँदैनथ्यो । त्यसैले हामी स्कुलका सिनियर विद्यार्थी भयौँ । टिफिनमा कुन दिन कुन खेल खेल्ने भनेर हामी दुईको निर्देशन चल्थ्यो । अरुले त्यसै खेलको सहमति जनाउनु पथ्र्यो । म अरु साथीहरुभन्दा सानो फुच्चे थिएँ । तै पनि नियम त नियम हो । ठूला कक्षाले भनेपछि साना कक्षाले मान्नुपर्छ । 

जेठको २ गते मङ्गलबारको दिन थियो । चार कक्षाको घनश्याम केसीले बिहानै मलाई म्याङ्गो चक्लेट दिएर भनेका थिए ‘आज चुचुतारा खेल्नुपर्छ है दादा ।’

टिफिन हुनासाथ  दौडँदै चउरमा गई ठूलो स्वरमा घोषणा गरेँ । ‘आज हामी सबै चुचुतारा खेल्नुपर्छ ।’ 

सबै केटाहरु खुसी हुँदै कराए । ‘या.. हुँ.. हुन्छ, खेल्ने हो ।’ 

राजेशलाई मैले कक्षामै भनिसकेको थिएँ । टन्टलापुर घाम लागिरहेको थियो । हामीले टिम तयार पारेर चुचुतारा खेल्न थाल्यौँ । खेल चलिरहेको बेला मेरो देब्रे हातमा पानीको थोपाले दुख्नेगरी नै कुट्यो ।

एकैछिनमा बर्ररर आकाश रोयो । घाम उसरी नै तेजसँग लागिरहेको थियो । मलाई खेल्न मनै लागेन । आफैँले खेल्ने भनेको खेल छोडेर हिँडन मन लाग्यो । ‘म खेल्दिनँ है तिमीहरु खेल ।’ म सरासर स्कुल झरेँ । साथीहरु हर्षक्कै परे । 

म नखेलेपछि उनीहरु पनि खेलेनन् । एकछिनपछि राजेश पनि आएर मसँगै बस्यो । स्कुलको घण्टी लाग्यो । टिफिनपछिको कक्षा छोडेर म भागेँ । 

घर आइपुग्दा लगभग तीन बजोको थियो होला । घर सुनसान थियो । नेस्वाबाट तालकुची झिकेर ढोका खोलेँ । भण्डारको खोपीमा हेरेँ । आमाले सधँै मेरा लागि त्यही खोपीमा खाजा राखीदिनुहुन्थ्यो । त्यो दिन कोदोको दुईपात रोटी राखीदिनुभएको रहेछ । घ्यूमा पोलेको । रोटीमा तेलैतेल थियो । खाएँ । कोदोेको रोटी पनि यति मीठो हुँदो रहेछ । रोटीमा चिनी पनि हालेको थियो । यो भन्दा पहिले कहिल्यै चिनी हालेको हुँदैनथ्यो । रोटी खाइसकेपछि खेल्न गएँ । 

साँझ घर आउँदा पनि उसरी नै घर सुनसान थियो । अझै आमा आउनुभएको थिएन । किन ढिलो गर्नु भो । घरमा न दाइ थियो न नाना । कोही थिएन । घु¥यानबारीतिर आमालाई खोज्दै गएँ । ठूलोठूलो स्वरले कराएँ ‘आमा... ए आमा...’ अहँ, आमा बोल्नुभएन । रात परिसकेको थियो । हाम्रो घरभन्दा दुईकान्ला माथि अलिक पर उत्तरपट्टि हाम्रो कोकुको घर थियो । म कोकुको घर गएँ । त्यहाँ नीता नाना र कोकु मात्र बस्नुहुन्थ्यो । नीता नानालाई भने ‘नाना हाम्रो आमा त घरमा हुनुहुन्न ?’

‘ला, हो र कता गयो त ? जहाँ गए पनि अब त आउनुपर्ने ।’ नानाले हो हल्ला गर्नुभयो । हामी सबै आ–आफ्नै तरिकाले आमाको खोजी गर्न थाल्यौँ । टर्च हुनेहरु टर्च बालेर गए । हामीसँग टर्च थिएन । नीता नानाले राँको बनाउनु भयो र हामी पनि निस्क्यौँ; आमाको खोजीमा । 

 
‘ए कटक्याम्माको साढेँहरुलाई आज कस्ले वन ल्याएको छ ? यहाँ निस्की सबै बाली सखाप पारिसक्यो ।’ कान्छी कोकु जसलाई हामी ‘सुघ्याम्मा कोकु’ भन्थ्यौँ । यहाँको आवाजले म निद्राबाट ब्युझेंजस्तै झसङ्गै भएँ ।

तीनसल्लेतिर चर्दै गरेका गाईबाख्रा कसरी कोकुको बारीमा पुगे ? म देवीस्थानको कुनैकुना रुखहरुले छेल्लिँदैछेल्लिँदै निस्केँ । कोकुले बालीबाट गाईबाख्रा निकालिसक्नुभएको रहेछ । गाईबाख्रा पाखोमा चर्दै थिए । म बारी कुना आम्बोकको फेँदमा चुपचाप लुकेर बसिरहेँ । कोकुले बाली हेर्दै सराप्न थाल्नु भयो– ‘थुक्क भर्खरै छरेको मकै सबै सखाप पारेछ । स...खापै पारेछ । कुन चाहिँ गोठाला हो त्यसको त चाकमा कीरा परोस् । आँखा फुटिजाओस् । यस्तो कलिलो मकैको बिरुवा हेरहेर बर्बाद पारेछ । ए कटक्याम्माको गोठाला कहाँ लुकी बसेको छस् ? निस्के बाहिर तँलाई त म आज झापडै झापड नहानी कहाँ छोड्छु र ! थुइया ।’
 
म थरथरी काम्दै त्यहीँ बसिरहेँ । कोकु भुनभुनाउँदै घाँस काटेर घर फर्किनुभयो । म चालमारेर बारी डिलमा आएँ । गोधुली साँझ परिसकेको थियो । म फाल हान्दै वासिङ्माला गल्लीमा झरेँ । सबै गोठालाहरु फर्किसकेका थिए । मेरा गाईबाख्रा मात्रै बाटोबाटो चर्दै थिए । गाईबाख्रा धपाउँदै सरासर घर आएँ ।

भोलिपल्टदेखि म गोठाला जानु परेन । बिहानबेलुका गरेर दुईभारी घाँस काट्नु पर्ने भयो । यो मैले बाली खुवाएबापतको सजाय थियो । घाँस मैले बोक्नसक्ने गरी काट्नुपर्ने थियो । जेठको महिना भर्खरै पिप्परा पलाउँदै गरेको घाँस दिनैभरि काट्दा पनि डोको भरिँदैनथ्यो । सधैँ आमाको साथ छोडेर स्कुल जानुपर्दा साह्रै नरमाइलो लाग्थ्यो । मलाई एकाएक स्कुल जान मन लाग्न थाल्यो । कहिले आमाको बर्खान्त सकिन्छ र स्कुल जानू । 

एकदिन घाँस काड्दाकाड्दै मेरो दाहिनेहातको चोरी औँला काटिपठाएँ । धन्न औँला दुईटुक्रा भएन । त्यही हातको बुढी औंलाले थिचेर च्याप्प समातेँ । ‘नाच्न जान्दैन आँगन टेढो’ भनेझैँ कँचियाले ढुङ्गालाई  रेट्न थालेँ ।

दाहिने हातको औँला कसरी काटियो ? भन्नु होला । म देब्रे हात चलाउँछु क्या !
 
रगतपक्षे हात लिएर म घर आइपुगेँ । घरमा कोकु आइरहनु भएको थियो ।  ‘आम्मै...मै... के गरेर हात काटिपठाइस् ? हेर यस्तोबेला रगत बगाउनु हुँदैनथ्यो ।’ कोकुले थोत्रो कपडा खोजी थाङ्नो बेरेर डढाउनुभयो । त्यसको खरानी घाउपरेको खोपिल्टोमा हाल्दै ‘हेर ख्वाप्पै पो पारे छ त । कस्तो तिमीहरु पनि बच्चालाई घाँस काट्न पठाउँछौँ ?’ घरकालाई हपार्दै त्यही थाङ्नोले मेरो औँला बाँधिदिनु भयो ।

भोलिपल्टदेखि मैले घाँस काट्न पनि जानु परेन । हात काट्नु त राम्रै रै छ । बेकार भर्खरै अर्जापेको कँचियाको नयाँ धार मात्रै बिगारेँ । 

दिनभरी घरमै बसियो । सबै कुरा बार्नु पर्ने, खाटमा बस्नु हुँदैन थियो । खाटमै निद्रा पुर्याउँथें।  ए हे ! म त खाटमा बस्नु हुँदैनथ्यो । भुईँमा झरेर बस्थेँ । झर्केथालमा दालभात हालेर टन्न खाइदिन्थेँ । साँची ! मैले त झर्केथालमा खाँनु हुँदैन थ्यो । आ... होस्, खाँइत हालेँ । आच्या ! दालमा नुन हालेको थ्यो । अबदेखि खान नहुने कुराहरु सम्झिरहन्छु । चित्त बुझाउँथेँ तर पटक–पटक यो क्रम दोहोरिन्थ्यो । 

घरमा घोटेरीहरु आउँथे, रक्सी लिएर । म हरेक बिहान रक्सी खान बानी परेको मान्छे । रक्सीको खुबै तलतल लागेर आउँथ्यो । आमाको बर्खान्त नसक्युञ्जेल खान्नँ । धित मार्थेँ । घोटमा आउनेजति प्रायले मेरो खातिरदारीमा दुईचार शब्द खर्च गर्थेँ । म सिक्कुवामा बसेर सुनिरहन्थेँ । महिलाहरु म छेउ आएर सुम्सुम्याउँदै चुकचुकाउँथे । 

ल हेर ! मलाई माया गर्नेहरु यति धेरै रै छन् । आमा त मरेकै जाती । 

हुँदाहुँदै आमाको बर्खान्त गर्ने दिन आयो । हामीलाई बाधाबारना फुकाउन ठूली नाना आउनुभयो । घर लिपपोत भयो । आँगनको खाट सिकुवामा सारियो । आँगन पनि लिपियो । छरछिमेकी सबै भेला भए । हामी दाजुभाइले कपाल खौरियौँ । दाजुभाइ नै नुहाइधुवाई गर्थ्यौं । लिपेको आँगनमा पराले गुन्द्रीमाथि राडी ओछ्याइयो । 

‘कान्छा दाजैनिर आईजा’ ठूूली नानाले मलाई बोलाउनु भयो । 

दाइ राडिमाथि उभिइरहनु भएको थियो ।  म पनि गएर उभिएँ । ठूली नानाले आफ्नो घरबाट खुबै मिठोमिठो परिकार ल्याउनुभएको रै‘छ । सबै परिकार हाम्रो अगाडि फिजाउनु भयो । नीता नाना र पकु नानाले ठूलीनानालाई सघाउँदै हुनुहुन्थ्यो । नानाले हाम्रो टाउकोमा तेल लगाइदिनु भयो र पिलुते कपालमा टोपी ओढाइदिनु भयो ।  नीता र पकुले पनि त्यसरी नै टोपीमाथि अरु टोपी लगाइदिनु भयो । आँ ... टोपीमाथि टोपी किन लगाउनु पर्याे । मैले दुईओटा टोपी निकालेँ ।

‘कान्छा टोपी ननिकाल, एकछिन लगाँ ।” पछाडिबाट माम्कान्छी कराउनुभयो । त्यो बेला ठूली नानाले दाइलाई दूध, दही, माछा, मासु जाँड, रक्सी खुवाउँदै हुनुहुन्थ्यो । नीता नाना र पकुले चाहिँ खानेकुरा ठिक्क पारिदिँदै हुनुहुन्थ्यो । ठूली नाना त कतिखेरदेखि रुन थाल्नुभएको रहेछ । मलाई दूध र दही खुवाएर नाना क्वा...क्वा... रुन थाल्नु भयो ।  हे, ठूलीनानाको पनि बुद्धि छैन रै‘छ । यति मिठोमिठो कुरा खुसी हुँदै खुवाउन छोडेर रुनु हुन्छ ।  नाना सिकुवामा जानुभयो । 

नीता र पकु नाना पनि रुन थाल्नुभयो । कस्तो रै’छ, रक्सी चाहिँ खुवाएर गएको भा हुन्थ्यो नि । मलाई थकथक लागिरह्यो ।

हाम्रो बाधाबारना फुक्यो । अब म पनि अरुले जसरी मनोमानी सबै कुरा खान सक्छु । जहाँ पनि बस्न सक्छु । ‘साँझमा आमालाई बाटो लगाउने अरे । खै कहाँ हो माथि लेखतिरबाट सक्कती धामी आउने अरे । आमालाई बाटो लगाउन ।’ म जान्ने पल्टिएर खाटमा बसी मेरै दौँतरी साथीहरुलाई सुनाउन थालेँ । 

साँझ परेपछि ढोलढ्याङ्ग्रो ठटाउँदै धामी आयो । म निद्रा खप्न नसक्ने मान्छे । रातभरि ढोलढ्याङ्ग्रो ठटाएर सुत्नै दिएन मोरा धामीहरुले । त्यो रात म अनिदै रहेँ ।

बर्खान्त सकिएपछि सबै कुरा सामान्य बन्दै गयो । घरमा एकाएक मान्छेहरुको भीडभाड हरायो । मलाई सुम्सुम्याउँदै माया गर्नेहरु पनि आउन छोडे । उनीहरुले मलाई आमाले गर्ने माया गरेकै हैन रहेछ । 

आमा बस्ने अँगेनो छेउमा भाउजू बस्न थाल्नुभयो । म बस्ने ठाउँमा दाइले अड्डा जमाउनु भयो । ओछ्यानमा म एक्लै हुन्थेँ । मध्यरातमा झस्केर ब्युँझँदा आमालाई छाम्थेँ । चिसो ओछ्यान बाहेक केही भेट्दिनथेँ । अब मलाई घर सुनसान लाग्न थाल्यो । आमाविनाको घर मलाई घरै हैन जस्तो लाग्न थाल्यो । 

सदा झैँ म स्कुल जान थालेँ । स्कुलका सबै साथीहरु हाँस्थे, खेल्थे, रमाइलो गर्थे । मलाई यी सबै चीज गर्न मन लाग्न छोड्यो । साथीहरुले मलाई पनि उनीहरुसँगै खेलाउन थाले, हँसाउन थाले । म स्कुलको सिनियर हैन रहेछु ।
 
मलाई घरभन्दा स्कुल रमाइलो लाग्न थाल्यो । सधैँ स्कुल जानुपर्दा नरमाइलो लाग्थ्यो  । घर फर्किँदा कतिबेला घर पुगौँ हुन्थेँ । अब मलाई घर फर्किँदा घर जानु नपरे पनि हुन्थ्यो जस्तो लाग्न थाल्यो । स्कुल छुट्टिको घण्टी बज्नासाथ कोही ‘छुट्टी मकै भुट्टी’ भन्दै दौडन्थे । कोही ‘छुट्टी बाख्राको खुट्टी’ भन्दै दौडन्थे । पहिले त म पनि यसरी नै तछाडमछाड गर्दै दौडन्थेँ । घर छिटो पुग्नका लागि । अबदेखि म यसरी हतारिनुपर्छ जस्तो लागेन । कक्षाबाट सबै साथीहरु निस्किसकेपछि म बिस्तारै निस्कन्थेँ । कता जाऊँ, कता जाऊँ, हुन्थेँ । घर नआएर कहाँ जानु ? 

पहिलेपहिले म स्कुलबाट घर फर्किएको होइन रहेछु । ममतामयी न्यानो आमाको काखमा आएको रहेछु । घर भनेको आमाको साथ हो, रहेछ ।

एकदिन स्कुल छुट्टी भएपछि म घरतिर नगएर हलेसी गुराँसेतिर लम्किएँ । जहाँ रेनुका फुपूको दोकान थियो । हरेक आइतबार बिहानै आमा र म त्यहाँ पुग्थ्यौँ । दोकान बाहिरको फल्याकमा मेरी आमा बसिरहनुभएको छ जस्तो लागेर; म त्यहीँ गएको थिएँ । आमा नदेखेपछि फनक्कै मेरो पाइला घरतिर मोडियो । 
   
ऐँसेलुखर्कभन्दा अगाडि रोक्मालाभन्ने ठाउँमा आइपुग्दा साँझेघामको लालीमय किरण छरिइसकेको थियो । पर खन्युको रुखनेरी, जीनको गुन्यु र कालो चोली लगाएकी, थुम्से बोकेर टाउकामा बर्की बेरिराखेर घरतिर जाँदैगरेकी आमालाई मैले देखेँ ।  

ए ! मलाई छोडेर आमा त्यहाँ पुगिसक्नुभए छ । म तुफान कुदेँ ।  चिउरीधाड भन्दा अलि वरै सम्मपरेको बाटोमा भेटेर बोलाएँ । ‘आमा...।’

उनी फरक्क फर्केर भनिन् ‘नानी म त तिम्री आमा होइन त ।’

असिनपसिन र रातोपिरो भएकी उनी आफ्नो बाटो लागिन् । शायद उनलाई घर पुग्न हतारो थियो ।

मेरो पाइला टक्क रोकियो । हो, यिनी मेरी आमा हैनन् । मेरी आमा मरिसकिन् । अब यो दुनियाँमा मेरी आमा छैनन् । मेरो सम्पूर्ण शरीर फतक्कै गल्यो । त्यहीँ थ्याच्च बसेर रुन मन लागेको थियो । चित्त बुझाएँ । रोइनँ ! 

असोज १७, २०७७ शनिबार १४:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।