झरेको पातको कहानी
वेदव्यासले भनेझैं जहाँ जन्म छ, त्यहाँ मृत्यु निश्चित छ; जसले उचाइ चढिसकेको छ, उसको तल झर्नु पनि अवश्यम्भावी छ; संयोगको अवसान वियोगमै हुन्छ; जहाँ संग्रह छ, त्यहाँ क्षय पनि निश्चित छ। यही सत्यार्थ म हर्ष या शोकमा वशीभूत नभएर यतिखेर झरेकै पातको कहानी भनिरहेछु...!
आत्मा छुटिसकेको मृत शरीरजस्तो जब हाँगाबाट पात झर्यो, पातभन्दा अघि फूल झरिसकेछन्। ती फूलहरूलाई हावाको झोक्काले दूर–दूर उडाएर लग्यो र अन्ततः धर्तीकै एक अंश माटो बन्यो। अन्जान त्यो माटोमा फेरि कताकतिबाट उडाएर ल्याएको बीजबाट अर्को फूल फुल्यो, फूल–पात झर्याे र फेरि हावाको झोक्काले उडाएर लग्यो...।
आँखाअगाडि अर्को वसन्त फुल्यो। आतुर मनहरू झुम्मिए। तर, यसबारे म झरिजाने मोहक वसन्तमा पनि सामेल हुन सकिनँ; जुन वसन्त रगतले रंगिएको आभास मिल्यो।
बरु, मलाई अँध्यारोमा रंगहीन छायाँको महसुस प्रिय लाग्यो।
प्रिय संवेदन ! तिमी नै त आत्मव्यापी अस्तित्वको भव्य सम्पदा हौ ! मेरा लागि तिमी रंगीन सांसारिसकताभन्दा पर मधुरम श्यामश्वेत सुन्दरता हौ । तर, ऐनाको रूप भ्रमपूर्ण भए पनि वा जड भए पनि फेरि रूपको कारक भने जरुर भ्रमपूर्ण होइन। यसर्थ मूर्खतापूर्ण जड खुसीभन्दा तिम्रो उपस्थितिमा मोहित भइ दुःखपूर्ण बाँच्नु नै जीवनको उत्सव पनि हो भन्ने लाग्यो। हाँगाबाट भुइँमा नझर्दै हावाले कता हो कताबाट उडाएर नदीमा खसालेकोे पातको चुपचाप स्वीकृति र भूमरी परेर घुमिरहेको उसको नियति हेर्दै यस्तै सोचिरहें...!
समुद्र साँझको घोलमा डुबेर मुस्कुराइरहेको एक प्रहर यो जिन्दगी चुपचाप अस्तित्वको रियाज गरिरहेथ्यो। अचानक मृत्युसँग आँखा जुध्यो। गलत स्थानको पराजित योद्धाजस्तो तत्क्षणको मेरो मौनता उसको हाँसोको अट्टहास बन्यो। तर, पनि मृत्युको निमन्त्रणलाई सजाय मान्न सकिनँ...!
क्रमशः समुद्रको सुदूर नीलोपनमा गहिरिँदो साँझको कालिमाभित्र अस्तित्वरत जीवन घामजस्तै डुब्दै गयो। त्यति नै खेर प्रिय संवेदन, तिम्रो हातबाट ऐना झरेथ्यो र ऐनासँगै को मेरो आकृति टुक्रिएर अनेकौं प्रश्नमा छरिएका थिए। त्यो प्रहर मेरो रक्तरञ्जित अस्तित्वका लागि हातमा शोकमग्न फूलका गुच्छासहित केवल तिमी नै उत्तर थियौ। किनकि तिमीलाई थाहा थियो– समुद्र आफ्नै लहरमा बहँदै रहन्छ..., समय आफ्नै रहरमा बज्दै रहन्छ र हरदिन घाम उस्तै गरी डुब्दै रहन्छ...! आखिर फूल-पात झर्नु त छँदै छ ! फेरि पनि झर्नु नै छ भनेर जीवनको प्यासलाई मैले कहाँ छुपाएको छु र !
जीवनको रफ्तारसँगै पहेंलिँदै गएको उज्यालोमा याद गरिरहेछु दिनरातका कञ्चन अनि बहारिला र पहारिला पहेलीहरू; जतिखेर प्यास र तृप्तिको आतुर मेलमा पग्लँदा, पत्थरहरू समेत कलाकारका रंगमा घोलिन्थे। बाटोभरि बिच्छिएका सारा काँडाहरू कलाकारका कुचीमा अनुदित हुन्थे। अस्तित्व समाप्तिनुसँग नडराएर नै बडेमाका डुंगाहरूसँग टकराउँदै भिजेर कागजका डुंगाहरू सन्देश भएर बगिरहन्थे।
कलिला हातले बनाएका कागजका चराहरू पनि निश्चल आत्मप्रवेशका साथ एकाएक हूलका हूल परेवाका झुन्डहरूमा अनूदित भएर आकाशभरि प्रेमगीत गुनगुनाइरहन्थे। म मेरा खुसीहरूसँगै पहाड उक्लिरहन्थें। कुन्नी कसका खुसीहरूसाथ स्वयम् पहाड पनि उक्लिरहन्थ्यो मसँगै। म रिमझिम घामपानीको बिहानीमा पहाडको टाकुरामा बसेर घाम चुमिरहन्थें। घाम हिमाल चुम्थ्यो र बिस्तारै प्रेमले अहम् बिर्सेर दुवै पग्लन्थे। नदी बग्थे र संलिँदै संलिँदै बगिरहन्थे। हावा प्रकृतिको सुगन्धमा घोलिएर संगीत गुनगुनाइरहन्थ्यो। साथमा प्रकृतिस्थ अस्तित्वरत सहस्र जीवनहरू नृत्यमग्न रहन्थे।
फेरि पनि फूल-पात झरिरहन्थे...! त्यतिखेर मभित्रको सारा संवेदन उर्लिएर हत्केलाका रेखाहरूसँगै नदी जम्थ्यो र पग्लन्थ्यो कवितामा...!
यतिखेर डुब्दै गरेको घाम र विधाताको चित्रकारिताबाट कहानी बनेर भुइँमा झर्दै गरेको त्यो पात आफैले कोरेका कर्मरेखाहरूको अडेसाले यो हत्केलामा थामेको छु र उही हत्केलामा समयको नाममा जमाएको छु खेलौनाजस्तो सूर्य ! रोटीजस्तो चन्द्रमा ! नपत्याए हेर्न सक्ने छौ मेरा आँखामा। मानौं, देखेजतिमध्ये मेरै आँखामा स्थगित प्रकृतिको सर्वोत्कृष्ट अन्तिम दृश्यजस्तो वा बनाएजतिमै हृदय सवार मानवचेतनाको अन्तिम आकर्षक पेन्टिङजस्तो...!
प्रिय संवेदन ! आँधीले पनि भिखारीलाई नउडाएर किन आपैmले कोरेका रेखाहरूको अडेसाले यही हत्केलामा थामेको मेरो जिन्दगी नामको पेन्टिङ नै उडाउँछ बारबार ! ऊ कहिल्यै बिना वजनको हलुको भिखारीको पेन्टिङ उडाउँदैन नि ! किन थाहा छ ! भर्खरै आकाशवाणी भए अनुसार उसलाई भिखारी पटक्कै मन पर्दैन रे ! उसका लागि भीख माग्नु भनेको मृत्यु रहेछ र यदि भिखारीलाई उडाए उसैको संगतमा आफू पनि भीखमङ्गा भइन्छ कि मन्ने भय रहेछ।
यसैले झर्दै गरेको गतिशील पातको गहन कहानी अंकित त्यो जिन्दगी नामको पेन्टिङ उही आँधीले मेरो हत्केलाबाट भर्खरै उडाएर प्रकृतिको खुला कलालयमा प्रदर्शनका लागि थामिदिएको छ रे ! म पुनः उसैलाई भेट्न गतिमा छु, तरंगमा छु, संगीतमय छु, अँध्यारो अनि उज्यालोको लयमा छु। प्रिय संवेदन ! मात्र समाजको लेबल लागेको तिम्रो आतिथ्यपूर्ण समुद्घाटन पर्खिरहेछ ऊ अर्थात् आँधी...!
आहा ! आँधीमा संवेदनसरी उही पेन्टिङजस्तो म, आँधीमा अनि अँध्यारोमा मेरो परिचय बनाउन आतुर रहेछु...!
तब पो झर्दै गरेको पातले भनिरहेजस्तै बेलाबखत पेन्टिङबाट ओर्लेर धर्तीमा सलबलाउँदा रहेछन् सम्पूर्ण जीवन र जगत्को सारमा पीडाका सौन्दर्यहरू...!
असोज १७, २०७७ शनिबार १३:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।