निबन्ध : बादल बयान
धन्य प्रकृति तिम्रो चमत्कार। धन्य बादल तिम्रो रहस्यमय उपस्थिति! मैले लेखेको पनि थिएँ– बादल तिमी कहाँ गयौ? कता हरायौ? तिमीबिनाको आकाश, हिमाल, पहाड, जमिन केही रमाइलो भएन।
बादल नभएको आकाश, बादलले नछोपेको हिमाल, बादल नभएको धर्ती केही घमाइलो हुँदैन। हिमाललाई त खुलायौ। तर, आफू कता लुक्यौ बादल तिमी? तिम्रो अनुपस्थितिमा प्रकृति तिमी कति पनि सुन्दर देखिएनौ।
बादल तिम्रो रंगीन सुन्दरताको रूपले म मोहित छु। तर, बादल तिमी कहिले आफै जल्छौ। रक्ताम्य भएर डड्छौ। आफैसँग जिस्किँदै जिन्दगी कति आनन्दले बिताउँछौ। कहिले आफै सजिन्छौ, सेताम्मे भएर आनन्दित पार्छाै। कहिले आकाशमै बिलाउँछौ। कहिले चकचके बनेर अनेक आकारमा आँखाहरूलाई आकर्षित पार्छौ। यता मडारिन्छौ, उता बतासिन्छौ। कहिले कालोमुस्लो भइ मात्तिएर वर्षा बर्साउँछौ। कहिले शीतलता प्रदान गर्छाै। तिमी गुनी र ज्ञानी पनि छौ। साँच्चै तिमी कति रहस्यमय छौ।
बादल लागेको आकाश। बादल फाटेको आकाश। कलिलो बिहानी समय सूर्यको लाली बादलमा प्रथम स्पर्श गर्दा अनौठो रङ, विचित्र बिम्ब दृष्टिगोचर हुन्छ। सुनौलो रङको आकाशमा बादलको छिर्केमिर्के रूप हेर्न लायक बन्छ।
बादलको भोक बिहानी प्रहरमै जागृत हुन्छ। साना–ठूला बादलका समूहहरूमा घामको पहिलो झुल्को पर्दा रङको प्रभावले बादलको स्वरूप कति सौन्दर्यमय हुन्छ। व्याख्या, विश्लेषण गर्न सकिँदैन। हेराँै, हेरिरहौँ, धित् मर्दैन अलिकति पनि। बादल वास्तवमै सुन्दरी बनेर रङहरूको निष्ठुरी होइन मायालु बन्छ। आकर्षणको आकारमा पदार्पण हुन्छ आकाशभरि। अनि प्रकृतिप्रेमी मान्छेका मनभरि।
रित्तो–रित्तो आकाश कतै केही नभएको, जहाँ बादलको कुनै चोइटो वा चिनोबानो अवशेष केही छैन। त्यहाँ चञ्चलता, गतिशीलता, सिर्जनशीलता आदिको सिलासाङ्ला केही हुँदैन। त्यहाँ आँखा रमाउने दृश्य भेटिँदैन। त्यहाँ मन भुलिने बादल हुँदैन। कल्पनामा सपना सजाउने बादलमा चढेर संसार सयर गर्ने अथवा भाँती–भाँती भलिभाँती भावना बुन्ने बादल नहुँदा अफसोस हुन्छ। एक्लै एकान्तमा भावुक बनेर भौतारिने काव्यिक मानसिकता छिया–छिया बन्छ।
सुन्दर बादलको अवसानको मुख्य कारण डढेलोको धुवाँ हो। प्लास्टिक र धातुजन्य वस्तुहरूको पोलाइ। त्यसबाट उत्पन्न विषाक्त धुवाँ। त्यो हावामा मिसिएर बादलमा सौन्दर्यको सर्वनाश हुन्छ। बादलको सुन्दरताभन्दा उसको जीवन–मरणको छट्पटीले व्याकुल हुन्छ। त्यसैगरी बादलको मृत्यु हावा, हुरी, हुण्डरी चल्दा हुन्छ। त्यसबेला छिनभरमै सुनौलो र श्वेताम्बर बादलका हुल–हुज्जतको अस्तित्व छिन्न–भिन्न हुन्छ।
बादलको बाँकी बिम्ब केही रहँदैन। शिवाय शून्य आकाश ! शिवाय बादल नभएको नीलो आकाश ! यसरी आफूमा धुलो, धुवाँको मुस्लो मिसिँदा बादल धुरुधुरु रुन्छ। प्रदूषित हावा आफूमै समाहित हुँदा बादलको स्वच्छ छवि धमिलिन्छ। र, बादल बाँच्न धौ–धौ हुन्छ। आकाश नै रोइरहेजस्तै हुन्छ। तुँवालो लागेर दृश्यहरू नै मिर्मिराउने हुन्छ। यस्तोमा बादलहरू आकाशमै विलीन हुन्छ।
बादल मडारिएर बिजुली चम्किन्छ। गड्याङ्गुडुङ गर्दै मेघ गर्जिएर बादलले बहादुरी देखाउँछ। चट्याङ चमत्कारले कतिको ज्यान परमधाम पुग्छ। ‘विचरा’बाट बादलको परिचय र परिभाषा बर्बाद गर्ने रूपमा रूपान्तरित भई ‘विध्वंशक’ पनि बन्छ। एकाध घण्टापश्चात् सुस्तरी बादलको बथान कतै न कतैबाट आकाशमा जम्मा हुन्छन्। तिनले समग्र रूप रङ जन्माउन थाल्छ। क्षणभरमै बादलमाथिको अविश्वास पुनः विश्वासमा बदलिन्छ।
बादल जसलाई कुहिरो पनि भनिन्छ। यसका विषयमा गुगलमा यसरी व्याख्या गरिएको छ– जब बादल आकाशमा नउडी जमिनतिर लहसिन्छ, त्यही अल्छी बादललाई हामी कुहिरो भन्छौं। रातमा जमिन सेलाएपछि बिहानीपख वायुको तापक्रम घट्दै गइ वायुले आफ्नो गर्भभित्रका जलकण ओकलेर कुहिरो निर्माण गरिदिन्छ। अनि वायुले आफ्नो पारदर्शिता गुमाउँछ। हामी टाढाका वस्तु देख्न सक्दैनौं।
कुहिरो बाक्लो भयो भने त्यसलाई हुस्सु भन्छौं। अनि थोरै दूरीका वस्तु पनि स्पष्ट हुँदैनन्। पुस–माघतिर रातको तापक्रम अझ शीघ्रातिशीघ्र घट्न सक्छ। त्यस्तो स्थितिमा वायुमा रहेको वाफ कुहिरोमा परिणत हुन नपाउँदै जम्न थाल्छ र तुषारो बन्छ। खुला ठाउँ र चौरहरू चिनी छरेझैँ सेताम्य हुन्छन्। तर, वातावरण अधिक प्रदूषित छ भने तुषारो पर्न सक्दैन। कुहिरोले नै आफ्नो राज जमाउँछ। यही कुहिरो नै बादल हो।
वस्तुतः बादलका आकृति बनाउनै नसकिने अनेक बुट्टाका बान्कीहरू। खुट्याउनै नसकिने रङका तहहरू। हेरेर नअघाइने बादलका रहस्यमय स्वरूपहरू। कुनै फूल जस्तै रंगीचंगी, नवीन उत्साह, उमंगको। मनकै मझेरीबाट खुसीयालीको बिहान भित्र्याउने। कुनै बादलको रङ विधवाको जस्तै निख्खुर सेतो। दूधजस्तै, कपासजस्तै बादल कति सफा, कति सेतो। तर, उदास–उदास, निराश, निरश तिनको जिन्दगी।
कुनै बादलको रङ बेहुलीको जस्तै राताम्मे सिँगारिएको। कुनै लाशजस्तै पहेंलो पिताम्बर। कुनै बादल ठूलै उत्साहले उडिरहेको। कुनै बादल शायद शोक र सुर्ताले छटपटाइरहेको, रोइरहेको, झोक्राइरहेको। विचित्रको बादल–बिम्ब। सकिँदैन बादलको बयान गरेर।
बादलसँग धेरै कुरा सिक्न सकिन्छ, जस्तो कि मध्यदिनको घामले हप्हप्ती पोलिए पनि। साँझको घामले रातो हुञ्ज्याल डढिए पनि। बादल दुःख, पीडाले आत्तिँदैन। बरू चुपचाप सहेर सुस्तरी यताउता टहलिइ रहन्छ। त्यसैले त जुनसुकै बादलमा पनि चाँदीको घेरा हुन्छ।
सेतो घुम्टो खोलेर बादलले धर्तीमा चियाउँदा खुसीयालीको मुस्कानमय प्राकृतिक छटा मनोरम बनेर देखापर्छ। गोलो–गोलो सेतो चक्का सिँगारिएर चिरिच्याँट्ट बादल। आखिर त्यही त हो एकपछि अर्को खप्टिएको बादलको आकृतिमा देदिव्यमान सुन्दरता ! छरिएका कतै, पोखिएका कहीँ, सपक्क लिपिएजस्तै । छिर्का–छर्रा, ताँती–ताँती, लता–लहरा अनि पोका–पन्तरा, फोका–फहरा जस्तै। खेतका गराजस्तै र कतै लमतन्न लम्पसार बादल आकृति अचम्मकै हुन्छ। सम्झेर सम्झिनै नसकिने। बादलको बयान गरेर नसकिने।
यद्यपि बादलको सौन्दर्यको रसास्वादन गर्न धैर्य चाहिन्छ। बादलसँग मौन संवाद गर्न सक्नु पर्छ। साक्षात्कार हुन सक्नु पर्छ। घामसँग, हिमाल र पहाडसँग लुकामारी गर्ने बादलसँग मित्रता गाँसेपछि नवीन जिन्दगीको बिहानी सुरुआत हुन्छ। बादलको बयान बल्ल सार्थक हुन्छ। बादल महात्म्यको झल्को त्यहाँ मिल्छ। बादलभन्दा माथि–माथि धेरै टाढा टाढिएर निष्ठुरीले चटक्कै माया मारे पनि सम्झना बिर्सिन सकिँदैन। बादलजस्तै आकाशमा गाढिएर बस्ने चोखो माया स्मृतिबाट कसरी कहाँ सजिलै मेटिन सक्छ र ?
निष्ठुरी मायाजस्तै त्यस्तै छौ बादल तिमी पनि। देखिन्छौ भेट्न सकिँदैन। भेटिन्छौ समात्न सकिँदैन। समातिन्छ समातेको महसुस नै गर्न सकिँदैन। कस्तो अचम्म ! कस्तो रहस्यमय बादल तिमी? तिमीलाई धित् मरुञ्ज्याल न हेरिरहन नै सकिन्छ, न च्याप्प समातेर मायाले मुसार्न पाइन्छ। छिनभरै देखिने, छिनभरमै बिलाउने तिम्रो जादूमय जीवन देखेर म छक्क, तीन छक्क परेको छु। अघाउँजी हेर्न, छुन, स्पर्श गर्न वा पवित्र प्रणय–प्रतिवेदन तिमीसमक्ष सादर समर्पण गर्न सकिँदैन। मेरो छटपटी, मेरो मनोदशा र मेरो अधुरो मनोकांक्षाले क्षत्–विक्षत् भइरहेको बेला हठात् बादल तिमी मेरै झ्यालको पर्दा खोलेर मेरो आँखाको सामुन्ने चियाउन आइपुग्दा म पुनः हर्षले अविभूत हुन पुग्छु। नीलो आकाश र हरियो धर्तीबीच तिम्रो उपस्थिति मेरा लागि नवीनतम् ऊर्जाको एक प्राप्ति हुन्छ।
हो, साँच्चै बादल ! तिमी छौ र रमाइलो छ। मेरो जिन्दगी तिमीजस्तै उन्मुक्त हुन चाहन्छ। खुला आकाशमा निस्फिक्री वेग–बतासले उडान भरेर रमाउन चाहन्छ। बादल–बिम्बको गीति भावना बादल बनी आकार बदल्न सकूँ भने जस्तै म आफू पनि स्वच्छ, पवित्र छविमा बदलिन चाहन्छु। तिम्रो रूप नियाल्छु– कपासजस्तै कोमल तिमी फूलबुट्टे बादल। उदाउँदो र अस्ताउँदो घामको किरणमा तिम्रो रङको छवि विछट्टकै। रङविज्ञले समेत खुट्याउन नसक्ने। कति किसिमका रङहरूको जम्काभेट हो? कति थरीका आकृतिहरूको उपस्थिति हुने हो? हुन सक्छ, बादलको आकार–प्रकारमा प्रकृतिको उन्मुक्त मुस्कान जिन्दगीको खुसीयाली बनेर उदाउँछ। अचम्मकै रङहरूको धब्बाको धरोहर धनी तिमी !
बादलसँग संवाद गर्नुको पृथक आनन्द। बादलसँग आँखा जुधाउनुको बेग्लै प्रेमालापको अनुभूति। बादल हेरेर परिकल्पनाको संसारमा हराउनुको अर्को मज्जा। बादलमा अनेक आकारको कल्पना गर्नुको अर्कै दृश्यलाभ। बादल र बादलहरूको जीवन्त दर्शनको अलग्गै आनन्द। बादलसँग नजिकिनु र जिस्किनुको अनौठो स्वाद। यही बादल भएर त मन पनि बद्लिन्छ। मन एकनाशको एकतमासको हुन्छ। अन्यथा मान्छे बादलबिना बौलाउँछ। बादल नभए के हेर्छ मान्छेले आकाशमा, पहाड र हिमालमा। बादल नभए के सोच्छ मनमा मान्छेले?
कसरी पानी पर्छ झमझम? कसरी हिउँ पर्छ सरर? असिना कसरी बर्सिन्छ सेताम्मे दाना–दाना? बादल भएरै सबै सन्तुलन समतुल्य संसार। प्रकृति पनि कृत्रिम हुनबाट बचेको छ। ऋतु र जलवायु परिवर्तनले नै समय फेरिन्छ। मौसम–मौसममा बादलको तमासा अरू हेर्नलायक बन्छ।
बादल, हो बादल भएर त वर्षा हुन्छ। बादल भएर त प्रकृति बद्लिन्छ। बादलले नै मौसम परिवर्तन हुन्छ। मौसमअनुसार बादल लाग्छ। हिउँदको बादल अलि अप्रिय हुन्छ। वर्षाको बादल कालो डरलाग्दो भए पनि प्रिय हुन्छ। त्यसले नै मेघ गर्जाएर पानी झार्छ। खेतीपातीमा प्राण भर्छ। हिउँदको बादल बाक्लो हुन्छ। असिना पारेर हिउँमय धर्ती बनाउँछ। शरदको बादल नीलो आकाशमा सुहाउँदो भएर चक्का, फोका, फोहोरा अनेक आकृतिमा विभक्त भएर लाग्छ। बादल लाटो हुँदैन। बहुरूपी बादल बाठो हुन्छ।
बादलको शिखर चढ्नु पनि आफैँमा एक रोचक र रहस्यमय अनुभूतिको यात्रा हो। प्रकृतिसँग सन्निकट मित्रता एक पृथक भावानुभूतिहरूको मिठासमय पल हो। गोधूलि गगन गरिमामय बिम्ब। यही समय बादलको आगमन र आकृति कति सुहाउँदिलो। कति सुन्दर। कति प्रीतिकर। आकार र रङ हजारौं हजार। सर्वाेत्तम सुन्दर मेरो आँखाको क्यानभासमा मलाई मन पर्ने बादलका छटा र छवि !
मडारिएका बादलको उतार–चढावमा कुनै युद्धको आभास हुँदैन। बरू अनेक आकृतिमय रूप–रङ र अनौठा दृश्यहरूको उपस्थितिमा जिन्दगीको रंगीन सपना उद्घाटित भएको आभास हुन्छ। आकाशमा बादलहरूले यति चहलपहल र चमत्कार नगरे आकाश हुनुको कुनै अर्थ रहँदैन। आकाशको सौन्दर्य नै खुल्दैन। तर, बादलले मेघ गर्जाएर मुसलधारे वर्षा गराएमा र दैवी विपत्ति निम्त्याए डराउनु पर्छ। गर्जिने बादलले भने हायलकायल पार्छ। अन्यथा बादल साँच्चै कोमल र मायालु हुन्छ। त्यहाँ कुनै राग, द्वेष वा घृणाका कुनै अवशेष शायदै हुन्छन्। त्यसैले त प्रकृति पनि मुस्कानमय स्वरूपमा देखिन्छ। त्यहाँ हाम्रा मन र मुटु आनन्दले रमाउन हरपल उद्दत रहन्छन्।
विश्वका धेरै प्रसिद्ध कलाकारहरूका चित्रकला हेरौं न जहाँ बादलले प्रकृतिलाई सिँगारेर कति सुन्दर स्वरूपमा प्रस्तुत गराएको छ। बादलले मोहित बनाएर पागल बनाएका थुप्रै क्षण र उदाहरणहरू छन्। आहा ! कैयौं बादल–बिम्बको बयान कलामा आँखै स्वतः भुलिने किसिमको हुन्छ। प्रकृतिमा बादलको प्रवेशले कलात्मक सुन्दरता अझ प्रभावकारी हुन्छ।
आकाशको रङ हजार ! आकार बदल्ने बादल। आकृतिका विम्ब हजार ! बादलु रूपको चमत्कार । चित्र, विचित्रको विम्ब हजार। देख्न पाइँदैन, यस्तो दृश्य बारम्बार। हेरौं, हेरिरहौं एकछिन नियालेर। देखिन्छ रहस्यमय आकाश गंगा–सागर। यही हो प्रकृतिप्रेमीको प्रेमिल अनुभूति सुन्दर। बादलको तमासा। दृश्यका रमाइला। चित्रकारको कलात्मकता। कलाकारका कलाकारी चुरिफुरीले चित खाँदै मेरो मन र मानसिकता।
राग र द्वेषबाट उठेर शिखर–आरोहणमा अग्रसर हुँदा प्रिय बादल तिमीले सफलता चुम्न सकेका छौ। साना–तिना विषय र विवादमा अल्झिएर समय खेर फाल्नु कसैका लागि पनि उचित होइन। बादल तिमीले खुसीयालीको आमन्त्रण गर्दै सबैको मन सदासर्वदा स्वच्छ र उज्यालो बनाइदिएका छौ।
यहाँ आफ्नै त विश्वास र भरोसा छैन भने अरूको के कुरा ! बादल जस्तै हो मानिसको मन हावाले जता हुत्यायो उतै हुत्तिने। एकछिनको सुन्दरता छिनभरमै पानी–पानी हुने। पानी भएर वर्षिँदा रुखो पाटोमा सिँचाइ समग्र गरिदिने। बादल तिमी पनि आफू चोखिन अनेक बहाना, अरूलाई दोष देखाउन अनेक तानाबाना ! तथापि बादल तिमी बतासमै बिलाए पनि हावामै बिलिन भए तापनि तिम्रो रूप, तिम्रो उपस्थिति अनिवार्य आवश्यकता हो। यो समाज, यो संसार कति स्वार्थी बन्दै गइरहेको हो ? न कसैको बोलीको ठेगाना, न कसैको विश्वासको मिठोपना ! तर, तिमीले समयसापेक्ष रूप बदलेर सिलसिलालाई नियमित राखेका छौ।
बादल तिमी अनेक रङहरूको खानी। सारा रङहरूकै रानी। मनै प्रफुल्लित पार्ने रूपसी पनि। मीठो–मीठो कति मीठो रङहरूले सजिएर कति मनमोहनी। रङहरूकै विविधतामा सजिसजाउ तिम्रो जवानी। तिम्रो सुन्दर जिन्दगानी। कति मिलेको संरचना र संयोजन तिम्रो प्रकृति। तिमीमै छ सुन्दरता सबै, रङहरूका अनेक छटा–छवि। आँखाले हेरेर नथाक्ने कति किसिमका रङहरूको कति मज्जाले मिलेका, कति मिठासयुक्त रूप। लोभी नयन तिमीमै रमाउँछन्। प्रकृतिप्रेमी तिमीमै नतमस्तक भई निःशब्द हुन्छन्।
बद्लिरहने बादल। सधैं चञ्चल र चलायमान। एकछिन पनि स्थिर बस्न नसक्ने। कुदिरहने, दौडादौडको व्यस्त जिन्दगी। आकाशको चौतर्फी चक्कर मार्ने तिमी। पहाडको चुली–चुचुरामा चुमिरहने पनि तिमी। हिमालको चिसोमा हल्का चुम्बन दिइरहने पनि तिमी। यता उड्ने, उता चहार्ने। जताततै उडिरहने बादल तिमी। एकछिन चुपचाप टोल्हाउन नसक्ने अधैर्य तिमी। छिनभरमै चुप बस्न नसक्ने तिमी कति चकचके? कति अस्थिर। कति चञ्चल। छटपटाइ रहने, चलिरहने र उडिरहने तिमी। हेर्दाहेर्दै हेर्नेका आँखा छलेर अर्कै आकृतिमा रूपान्तरित हुने ‘छली’ पनि तिमी।
जे भए पनि मेरा लागि मनमोहनी प्रिय आकृति तिमी। तिमीसँगै उडेर कल्पनातीत् मनोलोकको यात्रामा आफैलाई उडाएर जिन्दगीको नवीनतम् अनुभूति सँगाल्ने धोको छ मेरो। मन फाटेर चिरिएको बेला, तनावले दिक्क भएको बेला वा खुसीहरूमा रमाइरहेको बेला बादल तिम्रो अनौठो आकृतिले मेरो मन अनायासै रमाएर पागल बन्छ। म हठात् तिमीमै बिलिन हुँदै अनन्त आकाशको उडानमा उच्च उचाइ स्पर्श गर्ने मेरो रहर अधकल्चो त रहँदैन नि !
यसरी नै बदलिँदै, फेरिँदै गतिमय बादलु अनुहार। हरपल निराशाका विरुद्ध आशा सँगालेर। नकारात्मक सोच होइन, सकारात्मक विचार र विवेक लिएर। बादल तिमी अनुहारमा मृदु मुस्कानमय समान खुसीयाली सबैलाई दिइ राख निरन्तर। बेलाबखत बादलले घामलाई छोपे पनि पसिना–पसिना तथापि आँखाको धित् मरेकै छैन। मृगतृष्णा मौलाउँदो छ, जसलाई घपनीले छोपेर राख्न सकिँदैन। हावासम्म नछिर्ने गरी, आँखाले नदेखिने गरी। यो बादलु सुन्दरता प्रकृतिको नियमित छटा–छविका सार्वजनिक बान्की। निफनेर सारा दुःख अफाल्दै बादलसँग बात मार्न उद्दत। अन्ततः बादल बयान गरेर सकिँदैन।
असोज १७, २०७७ शनिबार १२:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।