पढ्न पाउँदा उत्साहित

पढ्न पाउँदा उत्साहित

तर, लामो समयदेखि बन्द भएका शैक्षिक संस्थाहरू खुल्न थालेका छन्। कोरोना महामारीका बाबजुद  विद्यालयमै गएर पढ्न पाएकोमा उत्साहित बनेका छन्, कर्णाली प्रदेशका विद्यार्थीहरू। 

कोरोना भाइरस (कोभिड-१९) को रोकथाम र नियन्त्रण गर्न सरकारले चैतदेखि देशभर लकडाउन गरेपछि शैक्षिक संस्थाहरू बन्द थिए। तर, असारमै लकडाउन खुले पनि विद्यालय भने सञ्चालन हुन सकेका थिएनन्। 

शैक्षिक संस्था बन्द भए पनि सरकारले वैकल्पिक माध्यमबाट पठनपाठन गर्न निर्देशन गरेको थियो। वैकल्पिक शिक्षाको रूपमा अनलाइन, टेलिभिजन, रेडियो, टोल शिक्षा लगायतका विकल्प दिइएको छ। 

कर्णाली प्रदेश भौगोलिकरूपमा विकट भएकाले पनि यहाँ वैकल्पिक शिक्षाका अन्य माध्यम सहज नभएपछि टोल शिक्षा र विद्यालय शिक्षालाई नै प्राथमिकतामा राखिएको छ। 

योसँगै कोरोना संक्रमणको जोखिम रहेकै बेला विद्यालयहरूले स्थानीय तहको समन्वयमा विद्यार्थीलाई विद्यालयमै उपस्थित गराएर पढाउन थालेका हुन्।

सरकारले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका–२०७७ विद्यार्थी पहिचान, अभिलेखीकरण र वर्गीकरण गरी मापदण्ड पालना गरेर विद्यार्थीहरूलाई सहजीकरण गर्न विद्यालयलाई जिम्मेवारी दिएकाले वैकल्पिक माध्यमका साथै विद्यालयमै उपस्थित गराएर पनि पढाउन थालिएको हो। 

लामो समय बन्द भएका विद्यालयमा पुगेर पढ्न पाउँदा खुशी व्यक्त गर्छिन्, दैलेखको महाबु गाउँपालिकास्थित मालिका माविमा कक्षा १० मा अध्ययनरत छात्रा निशा बुढा।

‘लकडाउनले पढ्नसमेत भुलाइसकेको थियो। मेलापात र घाँस–दाउरा गर्नमै दिन बिते,’ उनले भनिन्, ‘पढ्न पाएपछि कोरोनाको डर भुल्दै गएका छौं। तर, साथीभाइबीच पहिले जस्तो घुलमिल हुँदैनौं, सुरक्षा मापदण्ड अपनाएका छौं।’

समुदायमा सँगसँगै घुलमिल भइरहेका साथीभाइको समूह बनाएर पढ्ने गरेको सोही विद्यालयको कक्षा ५ मा अध्ययनरत छात्र सिजन पोखरेलले बताए। 

विद्यालयका प्रअ रामबहादुर बुढाले निर्देशिकाले विद्यार्थीहरूलाई शिक्षण सिकाइमा सहजीकरण गर्न सहज भएको बताए। विद्यालयका कक्षा १ देखि १० सम्मका सबै कक्षा सञ्चालन भइरहेको प्रअ बुढाले जनाएका छन्। 

‘विद्यार्थीलाई पायक पर्ने स्थानमा टोल शिक्षा सुरु गरेका छौं,’ उनले भने, ‘तीमध्ये कक्षा ८ र १० मा अध्ययनरत् विद्यार्थीलाई विद्यालयमै बोलाएर पढाइ सुरु गरेका छौं। उनीहरूले दैनिक पाँच वटा विषय पढिरहेका छन्।’

दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाको चामुण्डा माविका प्रअ जयप्रसाद तिमिल्सेनाले विद्यालयमै उपस्थित हुुन सक्ने विद्यार्थीहरूलाई पालो अनुुसार पढाउन सुरु गरिएको बताए। 

उनका अनुसार चामुण्डा माविमा स्वास्थ्य सुरक्षा सावधानी अपनाउँदै एउटा कक्षा कोठामा १५ देखि २० जनासम्म राखेर पढाउने गरिएको छ।

नगरपालिकाका सबै सामुदायिक विद्यालयहरूले विद्यालयमै पठनपाठन सुरु गरिसकेको प्रअ तिमिल्सेनाले जानकारी दिए।

लामो समयपछि विद्यार्थीहरू विद्यालयमा आउन पाउँदा उत्साहित देखिएको शिक्षकहरूको भनाइ छ। कतिपय विद्यालयहरूले यसअघि टोल शिक्षा कार्यक्रम पनि सञ्चालन गरेका थिए। 

सुर्खेतको वीरेन्द्रनगरस्थित शिव मावि, धुलियाविटले पनि आइतबारदेखि पठनपाठन सुरु गरेको छ। अनलाइन माध्यमसँगै विद्यालयमै उपस्थित गराएर पढाउन थालिएको विद्यालयले जनाएको छ।

विद्यालयका प्रअ पूर्णप्रसाद पौडेलका अनुसार तीन चरणमा पढाउन सुरु गरिएको छ। ‘वैकल्पिक सिकाइमा सबै विद्यार्थी समेट्न समस्या थियो। इन्टरनेट सबैको पहुँचमा पनि थिएन। विद्यालयमै पठनपाठन सुरु हुँदा सहज भएको छ,’ उनले भने। 

प्रदेश शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशक दीपा हमालले अहिले विद्यार्थीहरूको पठनपाठनमा सहजीकरण गर्न सरकारले स्थानीय तहलाई जिम्मेवारी दिएकाले विद्यालयहरूले स्थानीय तहहरूको समन्वयमा पढाउन थालेको बताइन्। 

‘आफ्नो पालिकाभित्रका विद्यालय सञ्चालन तथा विद्यार्थीहरूको पढाइमा सहजीकरण कसरी गर्ने भन्ने अधिकार स्थानीय तहलाई दिइएको छ,’ उनले भनिन्, ‘स्थानीय तहहरूले पनि विद्यार्थी सहजीकरणसँग सम्बन्धित कार्यक्रमहरू सञ्चालन गर्न विद्यालयहरूलाई भनेका हुन्।’

गत जेठ १८ गते कोरोना भाइरसका कारण बन्द रहेका विद्यालयको नियमित पठनपाठन सुचारु गर्न मन्त्रालयले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७ जारी गरेको छ। सोही आधारमा गत असार १ गतेदेखि विद्यालयहरूले वैकल्पिक सिकाइका कार्यक्रम सञ्चालन गर्दै आएका थिए। 

मन्त्रालयले भदौ १९ गते विद्यार्थी सिकाइ सहजीकरण न्र्दिेशिका २०७७ स्वीकृत गरेर शिक्षण सिकाइ कार्यलाई निरन्तर, प्रभावकारी र व्यवस्थित गर्दै असोज १ गतेबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्न तथा गराउन संघ, प्रदेश र स्थानीय तहका सबै निकाय र सरोकारवालाहरूलाई अनुरोध गरेको छ।
 

असोज १७, २०७७ शनिबार ००:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।