१० वर्षमै डिजिटल प्रदेश 

१० वर्षमै डिजिटल प्रदेश 

डिजिटल प्रदेश निर्माणका लागि आवश्यक तयारी र पूर्वाधार निर्माण सुरू गरिसकेको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताए।

बिहीबार विराटनगरमा सामाजिक विकास मन्त्रालय र स्थानीय तहको साझेदारीमा सञ्चालित सूचना प्रविधिसम्बन्धी अनलाइन शिक्षक तालिमको शुभारम्भ गर्दै मुख्यमन्त्री राईले डिजिटल प्रदेश बनाउने काम थालिएको जानकारी दिए। 

मुख्यमन्त्री राईले अमेरिकाको इक्वालिटी फाउण्डेसनसँगको सहकार्यमा डिजिटल प्रदेश निर्माण गर्ने र अमेरिकाकै गुणस्तरको शिक्षा प्रदेश १ मा लागू गर्ने दाबी गरे।  उनले भने, ‘प्रदेश १ मा अमेरिकाकै गुणस्तरमा त्यहाँ प्रयोग भएकै पाठ्यक्रम र प्रविधिबाट शिक्षा प्रदान गरिने छ।’ 

प्रदेश सरकारले डिजिटल प्रदेशका लागि नीति तथा कार्यक्रमसमेत निर्माण गरि कार्यान्वयनमा ल्याउन लागेको राईले बताए। 

कार्यक्रममा सामाजिक विकासमन्त्री जीवन घिमिरेले १० वर्षमा प्रदेशबाट किताब र झोलामुक्त पार्ने लक्ष्यअनुसार काम भइरहेको जानकारी दिए। कोरोना भाइरस (कोभिड-१९)को संक्रमणका कारण डिजिटल प्रविधिमा जानै पर्ने बाध्यताले शिक्षा क्षेत्रमा १० वर्षको लक्ष्य तीन वर्षमै पूरा गर्नु पर्ने अवस्था देखिएको उनले बताए।

कोरोनाका कारण अहिले नै अनलाइन शिक्षण विधि सुरु भइसकेको बताउँदै उनले प्रदेश १ चाडै किताव र झोलामुक्त हुने दाबी गरे। 

पहिलो चरणमा ६ वटा स्थानीय तहका ६ सय शिक्षकलाई तालिम सुरु गरिए पनि दसैंअगावै ३० वटा स्थानीय तहका तीन हजार शिक्षकलाई सूचना प्रविधिसम्बन्धी तालिम दिइने मन्त्री घिमिरेको भनाइ छ। 

उनले भने, ‘प्रदेशका तीन हजार शिक्षकले तालिम लिएर प्रविधिको प्रयोग गरी पठनपाठन सुरू गरेपछि प्रदेश १ मा प्रविधि र सीपको भेल नै आउने छ।’ 

समाजको प्रविधिमा आकर्षण बन्दै गएको मन्त्री घिमिरेको भनाइ छ। उनले भने, ‘अब विद्यालयमा तन्नाले छोपेर कम्प्युटर राख्ने अवस्थाको अन्त्य हुने छ।’  

प्रदेश सरकारको विद्यालय शिक्षा गुणस्तर सुधार कार्यक्रम सञ्चालन निर्देशिका अनुसार सूचना प्रविधि शिक्षामा आधारित भइ शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न र डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्न विद्यालयमा अध्यापनरत शिक्षकका लागि आधारभूत कम्प्युटर ज्ञान तथा सूचना प्रविधि शिक्षासम्बन्धी शिक्षकमा क्षमता विकास तालिममा इलामको सूर्योदय नगरपालिका, झापाको मेचीनगर नगरपालिका, मोरङको पथरी शनिश्चरेका ६ सय शिक्षकको सहभागिता रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

दोस्रो चरणमा प्रदेश १ का थप नगरपालिका र गाउँपालिका शिक्षकलाई तालिम प्रदान गरिने मन्त्रालयले जनाएको छ। 

असोज १६, २०७७ शुक्रबार ००:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।