व्यापारी रामहरि श्रेष्ठ हत्या प्रकरण : उल्टिएला सर्वोच्चको आफ्नै फैसला ?

व्यापारी रामहरि श्रेष्ठ हत्या प्रकरण : उल्टिएला सर्वोच्चको आफ्नै फैसला ?

सफाइ दिने सर्वोच्चको फैसलाविरुद्ध सरकारले दर्ता गरेको पुनरावलोकनको निवेदनमा बिहीबार सुनुवाइ हुँदा अनुमति हुने आदेश भएको छ। 

न्यायाधीशहरु दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र  मनोजकुमार शर्माको इजलाशले मुद्दाको फेरि सुनुवाइका लागि आदेश दिएको सर्वोच्चका सूचना अधिकारी देबेन्द्र ढकालले जानकारी दिए।

सर्वोच्चले श्रेष्ठको हत्यामा बटालालाई सफाइ दिएपछि महान्यायाधीवक्ताको कार्यालयले भदौ २६ गते पुनरावेदन निवेदन दिएको थियो। 

आफ्नै कब्जामा रहेका व्यक्तिको मृत्यु भए संलग्न व्यक्ति हत्यामा प्रत्यक्ष संलग्न भएको ठहर हुने केही नजिरहरूलाई जिकीर गर्दै फैसला पुनरावलोकन हुनुपर्ने सरकारी पक्षको जिकीर छ। 

सर्वोच्चले पुनरावलोकनको अनुमति दिएकाले यसअघिको फैसला कार्यान्वयन हुने छैन। अब ३ जना भन्दा बढी न्यायाधीशको इजलासमा मुद्दाको सुनुवाई हुने छ।

महान्यायाधीवक्ता कार्यालयले बटालालाई सफाइ दिन लिइएका कतिपय आधार त्रुटीपूर्ण भएकाले उनी दोषी ठहर हुनुपर्ने जिकीर गरेको छ। 

सर्वोच्च अदालतको फैसला नजिर उल्लंघन भए वा मुद्दा फैसलापछि महत्वपूर्ण प्रमाण भेटिए चित्त नबुझ्ने मुद्दाको पक्षले पुनरावलोकनको निवेदन दिन पाउँछ। यही व्यवस्थाअनुसार सरकारी पक्ष सर्वोच्च गएको हो। 

बटालालाई हत्यामा प्रत्यक्ष संलग्न नभएकोे आधार देखाउँदै न्यायाधीशहरू तेजबहादुर केसी र टंकबहादुर मोक्तानको इजलाशले २०७६ फागुन १८ गते सफाइ दिएको थियो।

श्रेष्ठलाई काठमाडौंदेखि चितवनसम्म अपहरण गर्ने गरेर लैजाने कार्यमा बटाला प्रत्यक्ष संलग्न रहेको आरोप लागेको थियो। 

श्रेष्ठलाई उठाएर लैजानेदेखि शव व्यवस्थापनसम्मको काममा बटाला संलग्न रहेको देखिएकाले सफाइ दिने निर्णय त्रुटीपूर्ण रहेको पुनरावेदन निवेदनमा उल्लेख छ ।  श्रेष्ठको अपहरणदेखि अपराधको सिलसिला सुरु भएको भनी त्यसमा संलग्नहरू कसुरदार हुने व्याख्या सर्वोच्च अदालतले ०६८ असार ६ गते गरेको थियो ।

उक्त व्याख्याविपरीत हुने गरि न्यायाधीशद्वय केसी र मोक्तानको इजलासले बटालालाई सफाइ दिएको  थियो। 

अर्का आरोपित अर्जुन कार्कीलाई जिल्ला र पुनरावेदन अदालतकै फैसला सदर गरी २० रुपैयाँ जरिवाना गरिएको थियो।

सरकारी पक्षले दुवैको हकमा सर्वोच्चबाट भएको फैसला त्रुटीपूर्ण भएको जिकीर गरेको छ। बटालाले यसअघि नै ३ वर्ष १५ दिन कैद भुक्तान गरिसकेका छन्। 

श्रेष्ठ हत्याको मुद्दामा जोडिएका तीन जना अहिले पनि फरार रहेकाले मुद्दा मुल्तबीमा रहेको छ । 

तत्कालीन माओवादीनिकट व्यापारी श्रेष्ठलाई २०६५ वैशाख १५ गते कोटेश्वरबाट नियन्त्रणमा लिएर चितवनको शक्तिखोरस्थित माओवादी लडाकूको क्याम्पमा पुर्याइएको थियो।

श्रेष्ठको घरमा ‘जनमुक्ति सेना’ तेस्रो डिभिजनको सम्पर्क कार्यालय राखिएकोमा उक्त कार्यालयमा चोरी भएपछि उनीसहित तीन जनालाई नियन्त्रणमा लिइएको थियो। 

श्रेष्ठको घरबाट २०६४ चैत १४ गते १७ लाख नगदसहित हतियार चोरी भएको थियो। 

श्रेष्ठसहित केशव अधिकारी र गंगाराम थापालाई नियन्त्रणमा लिएर शक्तिखोर पुर्याइएको थियो।  

अत्यधिक कुटपिटबाट मृत्यु भएपछि २०६५ वैशाख २८ गते बिहान नारायणी नदीमा उनको शव फ्याँकिएको थियो। उनको मृत्युपछि श्रीमती रमिला श्रेष्ठले आफ्ना पतिको अपहरण भई हत्या भएको भन्दै किटानी जाहेरी दिएकी थिइन्। 

बटालासहित तत्कालीन ‘जनमुक्ति सेना’ तेस्रो डिभिजनका कमान्डर कालीबहादुर खाम, केशव अधिकारी, गंगाराम थापा र अर्जुन कार्कीको घटनामा संलग्नता भएको आरोप लगाउँदै जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा चलाइएको थियो। 

उक्त मुद्दामा सुनुवाइ गर्दै जिल्ला न्यायाधीश भोजराज अधिकारीको इजलासले २०६८ जेठ १७ गते बटालालाई तीन वर्ष कैद हुने फैसला सुनाएको थियो। 

खाम, अधिकारी र थापा फरार रहेको भन्दै उनीहरुको मुद्दा अदालतले मुल्तबीमा राखेको थियो। जिल्लाको फैसलापछि बटाला थुनामा गएका थिए।

सरकारी वकीलले बटालालाई अभियुक्तको रुपमा प्रस्तुत गर्दै जन्मकैद हुनुपर्ने माग अभियोगपत्रमा गरेको थियो। 

बटालाले आफूले  १७ लाख र एक पेस्तोल हराएको घटनाको अनुसन्धानका लागि व्यवसायी श्रेष्ठ, अधिकारी र थापालाई नियन्त्रणमा लिएको स्वीकारेका थिए। साथै, बाहिरबाट ढोका बन्द गरी यी तीनै जनालाई एकै कोठामा राखेकोमा अधिकारी र थापाको कुटपिटबाट श्रेष्ठको ज्यान गएको दाबी गरेका थिए।
 

असोज १५, २०७७ बिहीबार १८:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।