कोरोना संक्रमित डा. सापकोटाको मृत्यु
गत भदौ ३० गते प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा डा. सापकोटालाई कोरोना पोजेटिभ भएको थियो।
भदौ ३१ गतेदेखि कोभिड अस्पताल कालागाउँ बसेका सापकोटालाई थप उपचारको लागि असोज २ गते भेरी अञ्चल अस्पताल नेपालगञ्ज लगिएको थियो।
बाँकेको भेरी अस्पताल, नेपालगंजमा उपचार भइरहेको अवस्थामा उनको बिहिबार मृत्यु भएको हो।
सुर्खेतमा भदौ २९ गते पीसीआर जाँच गर्दा उनमा कोरोना पुष्टि भएको थियो।
उनको स्वास्थ्यमा थप समस्या आएपछि भेरी अस्पताल नेपालगंजमा असोज १ गते भर्ना गरिएको थियो।
उनको प्लाज्मा थेरापी विधिबाटसमेत उपचार गरिएको थियो।
सबै किसिमका उपचार विधी अपनाए पनि उनलाई बचाउन नसकिएको र बिहिबार दिउँसो भेन्टिलेटरमा उपचारकै क्रममा ३ः१० बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए।
सापकोटाको दुबैतर्फको फोक्सोमा निमोनिया थियो। त्यस्तै,श्वासप्रश्वास,ज्वरो, रुघाखोकी समेत भएको अस्पताल स्रोतले बताएको छ।
५८ वर्षीय डा. सापकोटा ११ औं तहका सरकारी डाक्टर हुन् ।
डा. सापकोटा कोरोना संक्रमणबाट ज्यान गुमाउने पहिलो वरिष्ठ चिकित्सक हुन्।
प्रदेश प्रमुख कलौनीलाई कोरोना संक्रमण
कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलालाई कोरोना संक्रमण भएको छ।
कर्णाली प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पीसीआर परीक्षण गर्दा बिहिबार उनमा संक्रमण पुष्टि भएको हो।
प्रदेश प्रमुखका स्वकीय सचिव चुडामणि कलौनीका अनुसार प्रदेश प्रमुखको कार्यालयमा कार्यरत केही कर्मचारीहरूमा कोभिड–१९ को संक्रमण देखिएपछि ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्दा प्रदेश प्रमुखलाई पनि कोरोना संक्रमण पुष्टि भएको हो।
प्रदेश प्रमुखको स्वास्थ्य अवस्था सामान्य रहेको स्वकीय सचिव कलौनीले बताए। ‘हाल उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ,’ उनले भने, ‘उहाँ चिकित्सकको निगरानिमा होम आइसोलेसनमा बस्नुभएको छ।’
असोज १५, २०७७ बिहीबार १७:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।