कर्णाली संसद अनिश्चित

कर्णाली संसद अनिश्चित

सुर्खेत : कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको दुई महिनाभन्दा बितिसक्दा पनि संसद चल्ने निश्चित भएको छैन।

 

प्रदेश सरकारले विजनेश दिन नसक्दा लामो समयसम्म संसद नचलेको प्रदेशसभा सचिवालयले जनाएको छ।

गत असार २७ गते छैटौं अधिवेशनको २९ औं बैठक बसेको थियो। उक्त बजेट अधिवेशनले चालु आर्थिक वर्षका लागि बजेट र केही विधेयकहरू पारित गरेको थियो। त्यसयता प्रदेशसभाको बैठक स्थगित भएको हो।

कोरोना भाइरस(कोभिड–१९)महामारीका कारण बजेट अधिवेशन प्रभावित भएको थियो।कोरोना संक्रमणको जोखिम उच्च भएपछि अधिवेशन पूरा नहुँदै बीचमै स्थगित गर्नुपरेको हो।

बन्दाबन्दी खुलेर सबै क्षेत्र सामान्य गतिविधिमा फर्कन थाले पनि संसद बैठक सञ्चालन हुन सकेको छैन।

विजनेश नभएकाले बैठक बस्न नसकेको प्रदेशसभा सचिवालयले जनाएको छ। यसअघि पनि कर्णाली प्रदेशसभाका कतिपय बैठक सरकारले विजनेश नदिँदा पटक–पटक स्थगित हुँदै आएका थिए।

प्रदेशसभा सचिवालयका सचिव जीवबहादुर बुढाथोकी विजनेश नहुँदा र कोरोनाका कारण बैठक बस्न नसकेको बताउँछन्।

अधिकांश प्रदेशसभा सदस्यहरू आ–आफ्नो निर्वाचन क्षेत्रतिर भएकोले अबको केही दिनभित्र बैठक बस्नसक्ने उनले बताए।

केही विधेयकहरू समितिमा छलफलकै क्रममा रहेकाले त्यहाँ टुङ्गिएपछि बैठकबाट पारित गर्ने गरी बैठक बोलाउन सकिने उनको भनाइ छ ।

 

असोज १५, २०७७ बिहीबार १४:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।