किन हुन्छ बालिका बलात्कारपछि हत्या ?
काठमाडौं : गत शनिबार काठमाडौंको माइतीघर मण्डलामा बलात्कारपछि हत्या गरिएका बालिकाका दोषीलाई कारवाहीको माग गर्दै प्रदर्शन गरियो।
प्रदर्शनमा सहभागी व्यक्तिले ‘सम्झना बिकका हत्यारालाई फाँसी दे’, ‘निर्मलालाई न्याय दे’लगायत नारा बोकेका पर्चा बोकेका थिए।
पछिल्लो पटक यही असोज ७ गते बझाङको मष्टो गाउँपालिका–२ की १२ वर्षीया सम्झना बिकको बलात्कारपछि हत्या भएको छ।
सम्झना बिक।
साँझ गोरू पुर्याउन गोठमा गएकी सम्झनालाई मष्टा गाउँपालिका–२, खिकाला बस्ने २० वर्षीय राजेन्द्र बोहराले शिवमाडौं मन्दिरभित्र बलात्कार गरि हत्या गरेको आरोप लागेको छ। सोही अभियोगमा बोहरालाई प्रहरीले पक्राउ गरिसकेको छ।
निर्मला पन्त।
यसअघि कञ्चनपुरमा २०७५ साउनमा निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको थियो। उक्त घटनाका दोषी अहिलेसम्म पत्ता लाग्न सकेको छैन।
आखिर किन हुन्छ बालिकाको बलात्कारपछि हत्या?
प्रहरी प्रवक्ता एवं एसएसपी कुवेर कडायत बलात्कारीले आफ्नो पहिचान खुल्ने डरले र आफू सुरक्षित हुन हत्याको बाटो अपनाउने गरेको बताउँछन्।
प्रहरीको तथ्यांकलाई केलाउने हो भने ११ देखि १६ वर्षका बालिका यौन हिंसाको सिकार हुने गरेका छन्।
प्रवक्ता कडायत बलात्कारपछि हुने हत्यामा अधिकांश चिनजानका र आफन्तका संलग्नता हुने गरेको पाइएको बताउँछन्।
‘बलात्कारपछि हुने हत्यामा अधिकांश घटनामा चिनजानका र नजिकका आफन्तकै संलग्नता हुने गरेको देखिन्छ। उनीहरूले आफ्नो पहिचान खुल्ने डरले हत्यालाई रोज्ने गरेको देखिन्छ,’ कडायत भन्छन्।
पीडित हुनेमा अधिकांश किशोरी हुने गरेको उनको भनाइ छ।
‘बयानका क्रममा अभियुक्तले अभिभावकलाई भनिदिन्छु भनेको वा आफ्नो पहिचान खुल्ने भएकाले घाँटी थिचेर मारेको स्वीकार्ने गरेका छन्,’ उनी भन्छन्।
उदण्ड मानसिकता
मनोविद्हरू यौन विचलन आएका असामााजिक व्यक्तिका कारण यस्ता घटना घट्ने गरेको बताउँछन्।
मनोविद् गोपाल ढकाल यस्ता घटनामा बालिका बढी पीडित हुनुलाई यौनका लत भएका उदण्ड व्यक्तिले आफ्ना यौन चाहना पूरा गर्न बालिकालाई फकाउन र बसमा राख्न सकिने ठानेर उपयोग गर्ने गरेको बताउँछन्। यसमा शारिरक र मानसिक स्वास्थ्यले समेत भूमिका खेल्ने उनको भनाइ छ।
यौन शिक्षा अभावले पनि यसमा भूमिका खेल्ने ढकालको भनाइ छ। ‘बढ्दो उमेरमा यौन जिज्ञाशा हुने तर यसबारे जानकारी नहुँदा असामाजिक व्यक्तिले दुरुपयोग गरेको देखिन्छ। साना उमेरकालाई फकाएर र दबाब दिएर आफ्नो बसमा राख्न सकिन्छ भन्ने मानसिकता उनीहरुमा देखिन्छ,’ उनी भन्छन्।
ठूला मान्छेले आफ्नो यौन चाहना पूरा गर्न बाल यौन दुराचारका घटना घटाउने गरेको मनोविद ढकालको भनाइ छ। ‘कतिपयले त्यो उमेरमा आफूलाई माया गरेको ठान्छन्। तर, कालान्तरमा आफूलाई यौन हिंसा गरेको बुझ्छन्,’ ढकाल भन्छन्।
‘कानुन कार्यान्वयन फितलो हुँदा घटना बढे’
अधिवक्ता तथा महिला अधिकारकर्मी मिरा ढुंगाना पितृसत्तात्मक सोचले महिलालाई उपभोग्य वस्तुको रूपमा लिने मानसिकताले यस्ता घटनामा कमी नआएको बताउँछिन्। ‘यस्ता घटनामा मिलापत्र गराउन स्थानीय तह, प्रहरी र समाज लागेपछि कसरी घटनामा कमि आउँछ ?’ उनी प्रश्न गर्छिन्।
मिरा ढुंगाना
उनी कानुनसँग खेलबाड गर्दा महिला र बालिकाको सामान्य मानवअधिकारको समेत रक्षा हुन नसकेको बताउँछिन्।
‘राम्रो उद्देश्यले कानुन बने पनि कार्यान्वयन पक्ष फितलो छ, यसले यस्ता घटनालाई झनै बढावा दिएको छ,’ उनी भन्छिन्।
११ देखि १६ वर्षका बालिका बढी पीडित
नेपाल प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ मा जबरजस्ती करणीका दुई हजार दुई सय २३ वटा मुद्दा दर्ता भएको छ, जसमा आठ सय ८९ बालिका छन्।
यस्तै, आर्थिक वर्ष २०७६/७७ मा जबरजस्ती करणीका दुई हजार एक सय ४४ मुद्दा दर्ता भएका थिए, जसमा आठ सय एक बालिका छन्।
प्रहरी प्रवक्ता कडायत पछिल्लो समय बलात्कारका घटना बढेको बताउँछन्।
लकडाउन अवधि (चैत ११ देखि साउन ४)मा ६ सय ३२ जबरजस्ती करणी र एक सय ६१ जबरजस्ती करणी उद्योगका मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।
के छ कानुनी व्यवस्था ?
‘मुलुकी अपराध संहिता, २०७४’ को परिच्छेद मा १८ करणीसम्बन्धी कसूरको व्यवस्था छ, जसमा जबरजस्ती करणी गर्ने व्यक्तिलाई करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरि कैद सजायको व्यवस्था गरेको छ।
अपराधसंहिता अनुसार १० वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपांगता भएका वा ७० वर्षभन्दा बढी उमेरका महिला भए जन्मकैद, १० वर्ष वा सोभन्दा बढी १४ वर्षभन्दा कम उमेरकी बालिका भए १८ वर्षदखि २० वर्षसम्म कैद सजायको व्यवस्था छ।
यस्तै, १४ वर्ष वा सोभन्दा बढी १६ वर्षभन्दा कम उमेरकी बालिका भए १२ वर्षदेखि १४ वर्षसम्म, १६ वर्ष वा सोभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्षदेखि १२ वर्षसम्म, १८ वर्ष वा सोभन्दा बढी उमेरकी महिला भए सात वर्षदेखि १० वर्षसम्म कैद हुने व्यवस्था छ।
यसैगरी, उपदफा ३ मा वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जबरजस्ती करणी गरेमा पाँच वर्षसम्म कैद हुने व्यवस्था छ।
यस्ता व्यक्तिले गर्न सक्छन् बलात्कार
गोपाल ढकाल, मनोविद्
पछिल्लो समय हत्या, हिंसा, बलात्कारका घटना दिनानुदिन बढिरहेका छन्। केही दिनअघि मात्रै बझाङको मष्टा गाउँपालिका–२ की १२ वर्षीय सम्झना कामी (बिक)को बलात्कारपछि हत्या भयो।
कोरोना भाइरसको कहर र लकडाउनको बीचमा पनि यौन हिंसा, बलात्कारका घटना बढेर गएको देखिन्छ।
यस्ता घटना किन हुन्छन्? यसका मनोवैज्ञानिक कारण यस्ता छन्।
असामाजिक व्यक्तित्व
यस्ता व्यक्तिलाई ‘साइकोपाथ’ पनि भनिन्छ। यस्तो व्यक्तिले आफ्नो घरपरिवार र समाजमा जोसुकैलाई पनि दुःख दिने, सानो कुरामा पनि बदला लिन खोज्ने, हत्या तथा बलात्कार लगायतका अपराध गर्न पछि पर्दैनन्।
यौनको लत
यौनको लत लागेका व्यक्ति यौनप्रति अति नै आशक्त हुन्छन्। उनीहरूमा यौन सम्बन्ध जति राख पनि यौनको प्यास मेटिँदैन। यस्तो समस्या भएका व्यक्तिले यौनको तिर्खा मेट्न आफन्त पनि नभन्न सक्छन्।
अप्राकृतिक यौन व्यवहार
जसले यौनलाई सम्भोगको रूपमा भन्दा स्खलनको माध्यम बनाउँछ, यस्ता व्यक्तिले अरुको भावना बुझ्न सक्दैनन्। र, स्वभाविक यौन व्यवहार गर्न पनि जान्दैनन्। यस्ता व्यक्तिले बलात्कार गर्ने सम्भावना हुन्छ।
नैतिक पतन
नैतिकरूपमा पतन भएका व्यक्तिले पशुभन्दा तल्लो व्यवहार गर्न सक्छन्। यस्ता व्यक्तिबाट आफन्त पनि बलात्कारको सिकार हुन सक्छन्।
यौन कुण्ठा
अविवाहित, पत्नीबाट यौन सन्तुष्टि लिन नसक्ने यौन कुण्ठाले भरिएका व्यक्तिले पनि बलात्कार गर्न सक्छन्।
लागुपदार्थ दुर्व्यसनी
यस्ता व्यक्तिले विवेक र चेतना गुमाउन सक्छ। र, बलात्कार गर्न पुग्छ।
पोनोग्राफी र साइबर सेक्सको लत
पोनोग्राफीमा बाबुले छोरीसँग, दाजुले बहिनीसँग यौन सम्बन्ध आदि शीर्षकका अश्लील भिडियो धेरै भेटिन्छन्। यस्ता भिडियो हेर्ने लत भएका व्यक्ति नैतिकरूपमा पतन भइ हाडनाता करणी गर्न सक्छन्।
मानसिक रोग
मेनिया जस्तो कडा मानसिक रोग लागेको व्यक्ति सधै उत्तेजित हुन्छ। उसको व्यवहार र विचार पनि अव्यवहारिक र अनौठो किसिमको हुन्छ। झट्ट हेर्दा ऊ रोगीजस्तो नि देखिँदैन। उसको शरीरमा शक्ति पनि बढेर आउँछ। यौनको आवेग पनि तीव्र हुन्छ, जसलाई उसले नियन्त्रण गर्न सक्दैन र बलात्कार पनि गर्न सक्छ।
शारीरिक कारण
शरीरमा सेक्स हर्मन बढ्दा यौन चाहना बढ्छ। साथै आफूलाई यौन अनुशासनमा राख्न नसक्दा पनि बलात्कारका घटना हुन्छन्।
अति विश्वास गर्नु
घर परिवारका सदस्यबीच चाहिनेभन्दा बढी घनिष्टता, अति विश्वास र नाता अनुसारको व्यवहार र अनुशासनमा बस्न नसक्दा पनि आफन्तबीच करणीका घटना हुन सक्छन्।
मनोवैज्ञानिक असर
सानोमा यौन दुर्व्यवहारमा परेको व्यक्ति पछि गएर यौन अपराधी हुन सक्छ।
यौन अनुशासन नहुनु
सानैबाट यौन अनुशासन नभएको, पतित, विखण्डित, अनुशासनहिन, चरित्रहिन परिवार र समाजमा हुर्केको बच्चा पछि गएर यौनमा विचलित हुन सक्छ।
यी र यस्ता अन्य धेरै यौन समस्या ( विचलन), मानसिक एवं मनोवैज्ञानिक समस्याका कारण आफन्तले नै आफन्तलाई जबर्जस्ती करणी गर्न सक्छ।
यस्ता व्यक्तिलाई मानसिकरूपमा स्वस्थ व्यक्ति मान्न सकिँदैन। किनकि मानसिकरूपमा स्वस्थ व्यक्तिले समाजले स्वीकारेको मात्र काम गर्छ। काम गर्नुअगाडि परिणामबारे सोच्छ। ठिक बेठिक छुट्टाउन सक्छ। आफ्नो आवेगलाई नियन्त्रण गर्न सक्छ। सामाजिक मूल्य मान्यताको सम्मान गर्छ।
असोज १५, २०७७ बिहीबार ०९:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।