विद्यालयमै पठनपाठन

विद्यालयमै पठनपाठन

धनगढी:कैलालीको कैलारी गाउँपालिकाको जनकल्याण माध्यामिक विद्यालयले कक्षा समुह वर्गीकृत गरि आलोपालो पठनपाठन शुरु गरेको छ।

सरकारले सिकाई निर्देशिका, २०७७ जारी गरेपछि सो विद्यालयले असोज १ गतेदेखि कक्षामा पठनपाठन शुरु गरेको हो।
विद्यालयका प्रधानाध्यापक हनुमान चौधरीले तीन तहमा वर्गीकरण गरेर पठनपठन सुरु गरेको जानकारी दिए।
कक्षा १ देखि ३, कक्षा ४ देखि ८ तथा ९ र १० गरी ३ समुहमा वर्गीकृत गरिएको छ। चौधरीका अनुसार विहान १० देखि १२ बजे सम्म कक्षा १–३, १२ देखि २ बजेसम्म कक्षा ४–८ तथा ९ र १० का विद्यार्थीलाई ३ देखि ५ बजेसम्म पठनपाठन गराइँदै आएको उनले बताए।
निर्देशिका अनुसार बढीमा ८ देखि १० जना सम्मको समूह रहने गरी स्थानीय रूपमा सिकाई केन्द्र वा विद्यालयमा एकआपसमा भौतिक दुरी कायम हुने गरी बसाई व्यवस्था मिलाई श्रब्यदृष्य प्रविधिमार्फत सिक्ने सिकाउने व्यवस्था गर्ने भनिएको छ।
प्रधानाध्यापक चौधरीले विद्यालयले बढीमा १० देखि १५ विद्यार्थीलाई एउटा कक्षामा राखेर पठनपाठन गराइरहेको बताए। 
‘विद्यालय खोलेका छैनौं। सिकाई निर्देशिकाले उल्लेख गरेबमोजिम सिकाई सहजीकरण गराइरहेका छौं’ चौधरीले भने,‘एक बेञ्जमा एक जना मात्र विद्यार्थी राखेर भौतिक दुरी कायम गरिएको छ।’
विद्यालयले सिकाइ सहजीकरण कार्यक्रम लागू गरे पनि अँझै सबै विद्यार्थीको सहभागिता गराउन नसकिएको उनले बताए।
कैलारी गाउँपालिकाका अधिकांस विद्यार्थी सूचना प्रविधिको पहुँचभन्दा बाहिर छन्। गाउँपालिकाका शिक्षा शाखा प्रमुख गणेशप्रसाद मिश्रले भने गाउँपालिकामा अधिकाँस विद्यार्थीहरु इन्टरनेट, रेडियो तथा टेलिभिजनको पहुँचमा नभएकाले विद्यालयमै सिकाइ सहजीकरण गराउने निर्णय गरेको जानकारी दिए।
उनले निर्देशिकाले तोकेबमोजिमका मापदण्ड अपनाएर विद्यालयले पठनपाठन गराउन आग्रह गरिएको बताए। कैलारी गाउँपालिकामा माध्यामिक र निम्न माध्यामिक गरी २१ वटा विद्यालय छन्।
कैलालीको घोडाघोडी नगरपालिकाले पनि असोज पहिलो सातादेखि सिकाइ निर्देशिका बमोजिम पठनपाठन सुरु गराउने निर्णय गरेको छ। 
घोडाघोडी नगरपालिका–८ जरहीमा रहेको बालज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक भूपेन्द्र कुँवरले सामाजिक दुरी कायम राखेर विद्यालय सञ्चालन गरिएको जानकारी दिए।
विद्यार्थीको सिकाइका लागि पालिकाहरूले मापदण्ड तयार गरी पठनपाठन सुरु गरेका हुन्।
नगरपालिकाका शिक्षा शाखा प्रमुख उमेशराज रेग्मीले बढी विद्यार्थी भएका विद्यालयको हकमा टोलटोलमै शिक्षा आलो–पालो कक्षा सञ्चालन र भर्चुअल कक्षा सञ्चालन गर्न निर्देशन दिइएको बताए।
‘हामीले टोल शिक्षामा जोड दिन विद्यालयलाई निर्देशन दिएका थियौं’ उनले भने, ‘केही विद्यालयले विद्यार्थीलाई कक्षामै बोलाएर अध्यापन गराएका छन्।’
सुदूरपश्चिम प्रदेशको एकमात्रै उपमहानगरपालिका धनगढीले भने अझैं विद्यार्थी सिकाई कार्य कसरी अघि बढाउने भन्ने टुङ्गो लगाएको छैन।
धनगढी उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख विष्णुप्रसाद कोइरालाले विद्यालयबाट विद्यार्थीको संख्या, प्रविधिमा पहुँच लगायतका तथ्यांक र विद्यालयले भर्ना अभियानलाई जोड दिइरहेको बताए।
उनले सिकाइ निर्देशिकाले उल्लेख गरेका विधि अनुसार कुन विधिमा अघि बढ्ने भन्ने बारेमा १५ गते सरोकारवालाहरूसँग छलफल गरेर अघि बढ्ने जानकारी दिए।
कैलालीको लम्कीचुहा नगरपालिकाले एफएम तथा रेडियोबाट शिक्षण सिकाइ अघि बढाउने निर्णय गरेको छ।
नगरपालिकाका शिक्षा शाखा प्रमुख सुरेन्द्रप्रसाद जोशीले नगरपालिकाका अधिकाँस विद्यार्थी एफएमको पहुँचमा रहेकाले एफएमबाटै सिकाइ कार्यक्रम अघि बढाउने निर्णय गरिएको जानकारी दिए।
उनले एफएमको पहुँचमा नरहेका विद्यार्थीको विद्यालयले नै पहिचान गरी टोल शिक्षा कार्यक्रम अघि बढाउन सुझाव दिइएको बताए। उनले निर्णय कार्यान्वयन भने आइनसकेको बताए।
कैलालीको पहाडी गाउँपालिका चुरे र मोहन्यालमा अहिले भर्ना अभियान चलिरहेको छ ।
चुरे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बसन्तबहादुर बोहराले गाउँपालिकाले भूगोलका आधारमा पठनपाठन अघि बढाउने तयारी गरिरहेको बताए।
‘गाउँपालिकामा थोरै जनसंख्या छ। वस्ती पनि स–सानै छन्। थोरै संख्या भएकाले कक्षा कोठामै पठनपाठन अघि बढाउने तयारी गरिरहेका छौं’ उनले भने,‘विद्यालय नखोल्न निर्देशन भएकाले अहिले पाठयपुस्तक वितरण र भर्ना अभियानमात्र चलिरहेको छ।’
कैलाली जिल्ला शिक्षा तथा समन्वय इकाई प्रमुख बैकुण्ठ सुवेदीले सिकाइ निर्देशिका अनुसारनै कैलालीका स्थानीय तहहरू अघि बढिरहेको बताए।

असोज १५, २०७७ बिहीबार ००:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।