राजदेवीमा बलि नदिइने, क्षमापूजाको तयारी 

राजदेवीमा बलि नदिइने, क्षमापूजाको तयारी 
राजदेवी मन्दिरमा पूजा गरिँदै।

जनकपुरधाम : जनकपुरधामको प्रमुख शक्तिपीठ मानिने राजदेवी मन्दिरमा यसपाली बलि दिन नपाइने भएको छ। 

कोरोना भाइरस (कोभिड-१९)को संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालय, धनुषाले बलि दिन रोक लगाउने निर्णय गरेपछि यस वर्ष दसैं अष्टमीमा मन्दिरमा पूजा मात्रै गरिन लागिएको हो। 

जिल्ला प्रशासन कार्यालय, धनुषाका प्रशासकीय अधिकृत गणेश मिश्रले राजनीतिक दल, जनप्रतिनिधि, गुठी संस्थान र युवा क्लबको संयुक्त बैठकले यसपालि मन्दिरमा बलि दिन नपाइने निर्णय गरेको जानकारी दिए। मन्दिरमा बलिबाहेक पूजा भने हुने उनले बताए। 

मन्दिरमा हरेक वर्ष दसैं अष्टमीमा बलि दिइने परम्परा छ।  

मन्दिरमा यो वर्ष बलिको सट्टा संक्षिप्त एवं क्षमा पूजा गरिने महन्थ राम गिरिले बताए। पूजाको तयारी सुरु भइसकेको छ। 

राजदेवी मन्दिरबाहेक धनुषाको दर्जनौं स्थानमा बलि दिइँदै आएको छ। ती मन्दिरमा पनि यसपाली बलि दिन नपाइने भएको छ। 

बलि परम्परा

मन्दिरमा एक राति सबैभन्दा बढी बलि दिइने दाबी गरिएको छ। मन्दिरमा गत वर्ष १४ हजार तीन सय ६६ बोकाको बलि दिइएको थियो। 

बलिका लागि मन्दिरको पछाडि भागमा ४ वटा ठेहा बनाइएको छ, जसमा प्रत्येक वर्ष बलि दिइँदै आएको महावीर युवा कमिटी, जनकपुरधामका पूर्वअध्यक्ष सुनिलकुमार प्रसादले बताए। 

मन्दिरका महन्थ गिरिले मनोवाञ्छित फल पाएपछि बोकाको बलि दिइने परम्परा रहेको बताए। 

मन्दिरमा २०७५ सालमा १४ हजार ९ सय ९७, २०७४ सालमा १२ हजार ३ सय ७, २०७३ सालमा १४ हजार ६ सय १७ वटा बोकाको बलि दिइएको थियो। 

यस्तै, २०७२ सालमा १३ हजार ८ सय १, २०७१ सालमा १४ हजार ७ सय २२, २०७० सालमा १४ हजार ८ सय ६१, २०६९ सालमा १४ हजार ८ सय ६१, २०६८ सालमा १२ हजार ६ सय ५१, २०६७ सालमा १३ हजार ५ सय ५२ र २०६६ सालमा ११ हजार ७ सय ९३ बोकाको बलि दिइएको बताइएको छ। 

बलिकै लागि बोकाको कारोबार सुरु भइरहँदा प्रशासनको निर्णयले व्यापारी निरास भएका छन्। 

असोज १४, २०७७ बुधबार १३:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।